बिहीबार बिहान ८ः३० बजेबाट यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
काभ्रे — वर्षात्का कारण अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ । केही दिनदेखिको लगातारको वर्षाले यस राजमार्ग अन्तर्गत भकुण्डेदेखि नेपालथोकसम्मको सडक खण्डका विभिन्न स्थानमा राखिएका डाइभर्सन बगाएको थियो ।
डाईभर्सन मर्मत गरेपछि बिहीबार बिहान ८ः३० बजेबाट यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
असोज २०८१ मा रोशी खोलामा आएको बाढीका कारण कटुन्जेबेसी–नेपालथोक सडक खण्डको सडक क्षतिग्रस्त बनेको थियो । हाल पुनःनिर्माणको क्रममा रहेको यस खण्डमा डाइभर्सन राखेर यातायात संचालन हुँदै आएको छ । तर हालैको वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि सोमबारदेखि राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको थियो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै गत मंगलबारदेखि लागू हुने गरी बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म दैनिक १२ घण्टा राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको छ ।
