बसमा बसेर सहभागीले आईटी प्रविधिको जानकारी पाउँछन् । अहिलेसम्म १७ हजारले प्रविधिका विषयमा जानकारी हासिल गरिसकेका छन् ।
What you should know
ताप्लेजुङ —
यहाँको लिटलबुद्ध आवासीय माविका प्रधानाध्यापक युवराज गिरी बुधबार बिहान चिया पसलमा गफिँदै थिए । त्यही क्रममा उनले जिल्लामा प्रविधि जडित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को बस आएको सुने । नयाँ कुरा सुनेपछि उनले थप जानकारीका लागि चासो बढाए । त्यसपछि बसमै विद्यार्थी राखेर साइबर सेक्युरिटी र एआईको प्रयोगजस्ता विषयका कक्षा चलाउने गरिएको जानकारी पाए । त्यतिबेला बस फुङलिङ नगरपालिका परिसरमा राखिएको थियो ।
सोधीखोजी गरेर नास्टका आईटी प्रमुख प्रदीप ढोडारीको फोन नम्बर पत्ता लगाए । अनि ढोडारीलाई सम्पर्क गरेर आफ्ना विद्यार्थीलाई पनि तालिममा सहभागी गराइदिन अनुरोध गरे । निजी विद्यालय भएकाले ढोडारीले सुरुमा आनाकानी गरे । गिरीले जिद्दि छाडेनन् । ‘यी पनि नेपालका नागरिक हुन् भनेँ,’ गिरीले सुनाए, ‘त्यसपछि १० बजे विद्यार्थी ल्याउन समय दिए ।’ बिहानदेखि वर्षा भइरहेको थियो । तर, गिरीले छाता ओढाएर कक्षा ९ र १० का विद्यार्थीलाई फुङलिङ नगरपालिका परिसरमा पुर्याए । नास्टले ११ बजेबाट नगरपालिकाका जनप्रतिनिधिलाई कक्षा दिने तालिका बनाएको थियो । त्यसैले त्यसअघि नै छिटोछिटो ८० विद्यार्थीलाई ज्ञान बाँड्न थालियो ।
केही विद्यार्थीलाई बसको सिटमा राखियो । कसैलाई उभ्याएरै एआईको प्रयोग, साइबर सेक्युरिटी, पछिल्लो प्रविधिले बालबालिकामा पुर्याइरहेको फाइदा–बेफाइदाका बारेमा सिकाउन थालियो । विद्यार्थीका लागि १२ बजेसम्म कक्षा सञ्चालन गरियो । जनप्रतिनिधि १२ बजेतिर मात्र भेला भएकाले विद्यार्थीले अतिरिक्त समय पाएका थिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटार ललितपुरले सन् २०२० देखि घुम्ती बस लिएर हिमाल, पहाड, तराई गरिरहेको छ । कोरिया सरकारले सन् २०१९ को अन्तिममा उपलब्ध गराएको यस्तो बस भने एउटा मात्रै छ । जसका हरेक सिटमा एक–एकवटा टेबल जडित ल्यापटप रहेका छन् । इन्टरनेट लगायत सम्पूर्ण प्रविधि र सुविधा बसभित्र उपलब्ध छन् । यसमा २५ सिट भएकाले त्यति नै सङ्ख्यामा बस्न मिल्छ । बसमा प्रविधि जडान, त्यसको व्यवस्थापन लगायतको जिम्मा इन्जिनियर मनोजकुमार शाहले लिएका छन् ।
‘बसको टेक्निकल पाटो मैले नै हेर्छु,’ शाहले भने, ‘यसमा बसेपछि आईटी, प्रविधिको सबैजसो जानकारी सहभागीले पाउँछन् र अहिलेसम्म १७ हजारले बसमै बसेर प्रविधिका विषयमा जानकारी हासिल गरिसकेका छन् ।’ बाटो खाल्टाखुल्टी भएकाले ताप्लेजुङसम्म पुग्न कठिन भएको उनले बताए । यहाँ पुग्नुअगाडि पाँचथरको हिलिहाङ गाउँपालिकामा एकदिने कक्षा सञ्चालन गरिएको थियो ।
‘ठूला सहरका बच्चाले प्रविधिसम्बन्धी जति ज्ञान पाउँछन्, दुर्गम क्षेत्रका बालबालिकाले पाउँदैनन्,’ आईटी प्रमुख ढोडारीले भने, ‘प्रविधिको ज्ञानबाट बञ्चित त्यस्ता बालबालिकासमक्ष इन्फर्मेसन पुर्याउने हाम्रो मुख्य उद्देश्य हो ।’ यसका लागि विज्ञान विषय शिक्षकको प्रयोग गरिएको ढोडारीले जानकारी दिए ।
फुङलिङ नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयका २८ विज्ञान शिक्षकका लागि दुई दिन कक्षा चलाइएको थियो । नास्टका रिसर्चर अनुपराज पौडेलका अनुसार पठनपाठन र कक्षा कोठामा प्रविधिको प्रयोगबाट गरिने सहजीकरण, कसरी जगाउने विद्यार्थीको इन्ट्रेस्टजस्ता विषयमा कक्षा दिइएको थियो ।
‘मेरो विषय एआई नै हो,’ उनले भने, ‘त्यसैले एआई कसरी बनेको छ, यसको काम गराइको प्रोसेस के हो, तपाईंले सही सूचना कसरी प्राप्त गर्न सक्नुहुन्छ र त्यो कसरी पाइन्छ भन्ने विषयमा सेयरिङ गरेँ ।’ एआई टुल्स, गुगलले शिक्षकका लागि बनाएका नोटबुक, पाठ्यक्रम अनुसारको स्लाइड, पोडकास्ट, भिडियो कन्टेन्ट लगायतका विषयमा छलफल गरिएको उनले जानकारी दिए ।
अधिकांशजसो विज्ञान शिक्षकले क्यूआर कोड बनाउने तरिका जान्न चाहेको र सबैले मन दिएर सिकेको पौडेलले बताए । नास्टको कार्यक्रममा सहभागी हुन गाउँ वा नगरपालिकाले लिखित अनुरोध गर्नुपर्छ । नास्टका मुख्य वैज्ञानिक अधिकृत विमला देवकोटाले अनुरोध–पत्रका आधारमा दुर्गम क्षेत्र, कार्यालयको वार्षिक योजना, खर्चको अवस्था समेतलाई दृष्टिगत गरेर कार्यक्रम बनाउने गरेको बताइन् । सुरुमा बुझाउन समस्या हुने र बुझेपछि धेरैको आकर्षण बढ्ने भएकाले जिल्लामा जाँदा हरेक कर्मचारी पूरै व्यस्त हुने उनले बताइन् ।
‘हामी बाटोमा सङ्ख्या पुग्ने मानिस छन् र आफूसँग समय छ भने आधा घण्टासम्मको मात्रै भए पनि क्लास दिन्छौं,’ उनले भनिन्, ‘प्रविधिको गलत प्रयोगले मानिस गलत बाटोमा नजाओस्, प्रविधिलाई सही उपयोग गर्न सकोस् भन्ने हाम्रो मुख्य ध्येय हो ।’ एआई ज्ञान बाँड्न आफू पश्चिमको कर्णालीदेखि पूर्वको ताप्लेजुङसम्म पुगेको उनले बताइन् ।
