वन्यजन्तु सिकारीबाट ४ करोड १७ लाख राजस्व संकलन
What you should know
बागलुङ — ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्षको दोस्रो सिजनमा १३ नाउर र १० झारल गरी २३ वन्यजन्तुको सिकार गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस सिजनका लागि १४ नाउर, १० झारल र १३ बँदेलको सिकारका लागि अनुमति दिएको थियो । तीमध्ये १३ नाउर, १० झारलको सिकार गरिएको हो । कोटा तोकिए पनि बँदेल भने सिकार भएन । यस वर्ष पहिलो सिजनमा ११ नाउर र ८ झारल गरी १९ वन्यजन्तुको सिकार गरिएको थियो ।
हरेक वर्ष पहिलो सिजन कात्तिक र दोस्रो सिजनको रूपमा वैशाखमा यहाँ सिकार खुलाइन्छ । चालु वर्ष बँदेलको सिकार गर्ने अनुमति पाए पनि सिकारीले नमारेको आरक्षका सूचना अधिकारी रेन्जर सागर सुवेदीले बताए । सुवेदीका अनुसार सिकारबाट मात्र आरक्षमा ४ करोड १७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा झन्डै दोब्बरले बढी हो ।
अघिल्लो वर्ष सिकारबाट २ करोड ७६ लाख ६० हजार ४ सय राजस्व संकलन भएको थियो । ग्लोबल सफारी प्रालिमार्फत अमेरिकी सिकारीले नाउर र झारलको सिकार गरेका थिए । त्यसबाहेक हिमालयन सफारी, हिमालयन वाइल्डलाइफ आउन फिटर, ग्लोबल सफारिज, ट्राभल एक्पिडिसनमार्फत अमेरिकी, रसियन, फ्रेन्च र डेनिस सिकारी आउने गरेका छन् । प्रतिस्पर्धाका आधारमा अनुमति दिने गरिएको छ ।
सिकारीहरू हेलिकोप्टर लिएर आरक्षमा आउने गर्छन् । दुई सातासम्म यहीँ बसेर फागुने, धुस्तुङ, दोगाडी, वार्से, सुर्तिवाङ, सेङलगायतका ब्लकमा पुगेर सिकार गर्छन् । आरक्षका ७ वटा ब्लकले बागलुङ, म्याग्दी र रुकुम जिल्लामा ढाके पनि सेनाको सुरक्षा सीमित क्षेत्रमा मात्रै छ । यस वर्षका दुवै सिजनमा मौसम राम्रो परेकाले सिकारीहरू सहजै सिकार गरेर फर्केको आरक्षले जनाएको छ । गत वर्ष खराब मौसमका कारण केही सिकारी अलपत्र परेका थिए । आरक्षले उनीहरूको उद्धार गरेको थियो ।
आरक्षले सिकारबाहेक अन्य विभिन्न शीर्षकमा पनि राजस्वज संकलन गर्दै आएको छ । चालु वर्षको चैत मसान्तसम्ममा पर्यटक दर्ता, गिटी वालुवा निकासी र दण्ड जरिवाना शुल्कसमेत गरेर ४६ लाख ८० हजार राजस्व संकलन गरिसकेको हो । चोरी सिकारी बढी भएमा आरक्षमा जरिवाना समेत बढ्ने गर्छ । पछिल्लो समय नेपाली सेनाको गुल्म स्थापना पछि चोरी सिकार घट्दो छ । बेलाबेला भने आखेटोपहारलगायतको चोरी तस्करी गर्नेलाई पक्राउ गरी आरक्षले दण्ड जरिवाना गराउने गरेको छ । आरक्षबाट बग्ने उत्तरगंगामा वालुवा र ढुंगा चोरी तस्करी भएमा आरक्षले दण्ड जरिवाना गर्छ । त्यसबाहेक आवश्यक सामाग्री उत्खनन् गरेर बिक्री समेत गरेर राजस्व संकलन गर्दै आएको छ ।
पर्यटकबाट आरक्षले प्रवेश शुल्कमार्फत राजस्व संकलन गर्छ । सुवेदीका अनुसार साउनदेखि यहाँ १९ हजार ८ सय ८१ नेपाली, सार्क देशका १४ जना र युरोप तथा अमेरिकालगायतका तेस्रो मुलुकमा १ सय ४१ पर्यटकले आरक्ष भ्रमण गरेका छन् । ढोरपाटनका लागि जेठ, असार र साउन महिना पर्यटकको बढी आर्कषणमा पर्छ । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकासहित म्याग्दी र रुकुमको जोडिएका पालिकाबाट आउने स्थानीयले भने प्रवेश शुल्क तिर्नु पर्दैन ।
सिकार राजस्वको अंक सिकारसँगै बन्द भए पनि अन्य राजस्व भने अझै बढ्ने सुवेदीले बताए । दुई वर्ष अघिसम्म ढोरपाटनमा ७ हजार हाराहारी मात्र पर्यटक पुगेकोमा गत वर्षदेखि यो संख्या बढेको हो । पछिल्लो समय पर्यटकहरू बढ्न थालेपछि ढोरपाटनमा चहलपहल पनि बढेको छ । स्थानीय होटल व्यवसायीले पनि व्यवसाय बढाउन सकेको बताए । आन्तरिक पर्यटकहरू बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन सिकार आरक्षमा मोटर चढेर पुग्ने गरेका छन् । उनीहरूले मुख्य आरक्ष कार्यालय रहेको उपत्यकाबाहेक जलजला, निसेलढोर, बुकी पाटनलगायतका स्थान घुम्छन् ।
