सुकुमवासीको मुद्दामा आज पनि भएन सुनुवाइ 

बुधबार न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा पेसी रहेको मुद्दामा काठमाडौं महानगरपालिकाले तयारी नपुगेको भनि समय मागेपछि सरेको हो ।

वैशाख २३, २०८३

दुर्गा दुलाल

No hearing on Sukumvasi's case today

काठमाडौं — सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार पनि सरेको छ ।  न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा बुधबार पेसी रहेको मुद्दामा काठमाडौं महानगरपालिकाले तयारी नपुगेको भनि समय मागेपछि सरेको हो ।

यसअघि मंगलबार पनि लगाउमा राख्ने आदेश भएको भन्दै आजका लागि मुद्दा सारिएको थियो । सर्वोच्चले अर्को पेसी बिहीबारका लागि राख्ने र सबै पक्षले तयारी गरेर बहसमा आउन भनेको रिट निवेदन मध्येकी एक अधिवक्ता जस्मिन ओझाले बताइन् । इजलासमा महानगरले आफूहरूले सूचना नपाएको र तयारी पनि नपुगेको भनि समय माग गरेपछि एक दिन समय दिएको हो । 

सुकुमवासी बस्तीसम्बन्धी ३ वटा रिट सर्वोच्चमा सुनुवाइका लागि पेसीमा चढेका थिए । गोपाल रन पहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले अलग अलग रिट दर्ता गरेका थिए । ती सबै रिटलाई एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइ गर्न पेसी तोकेको थियो । 

सरकारले थापाथलीसहितका क्षेत्रमा डोजर चलाउने सूचना जारी गर्न थाले पनि उनीहरू सर्वोच्च पुगेका थिए । पहेलीले ११ वैशाखमा सर्वोच्चमा रिट दायर गरेका थिए । बस्ती खाली गराएर होल्डिङ सेन्टरमा राखिसक्दासम्म पनि सर्वोच्चमा सुनवाइको पालो आएको छैन । यसअघि सर्वोच्चले पहिलो सुनुवाइ गर्दै सुकुमवासी बस्ती भत्काउँदा सरकारले अपनाएको विधि र प्रक्रियासँगसम्बन्धी ५ विवरण पेश गर्न आदेश गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीसमेतको रिटमा सोमबार यस्तो आदेश गरेको हो । 

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully