सेलेक्ट यूएसए समिटमा पाँच नेपाली प्रविधि कम्पनीको सहभागिता

नेपालको निजी क्षेत्रका प्रतिनिधिहरूले अमेरिकी लगानीकर्ता, सरकारी अधिकारीमाझ नेपालको लगानीमैत्री वातावरण र अन्तर्राष्ट्रिय साझेदारीका सम्भावना प्रस्तुत गरेका छन् ।

वैशाख २४, २०८३

कान्तिपुर संवाददाता

Five Nepali technology companies participate in Select USA Summit

What you should know

काठमाडौँ — अमेरिकामा वैदेशिक प्रत्यक्ष लगानी प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतिष्ठित ‘सेलेक्ट यूएसए इन्भेस्टमेन्ट समिट’ मा यसपटक नेपालले सहभागिता जनाएको छ । मे ३ देखि ६ सम्म भएको सम्मेलनमा बिज सर्भ, स्विफ्ट फिन, कोडावतार, ग्रीन टिक र इभेन्ट मो गरी पाँच नेपाली प्रविधि कम्पनी सहभागी छन् । 

अमेरिकी बजार, लगानी र प्रविधिमा साझेदारी बढाउने उद्देश्यसहित नेपालको निजी क्षेत्रले भाग लिएको सहभागीले जनाएका छन् । सम्मेलनमा अमेरिकी सरकारी अधिकारी, लगानीकर्ता तथा आर्थिक विकाससम्बन्धी संस्थासँग छलफल गरिरहेको अमेरिकी चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले उल्लेख गरेको छ । 

कार्यक्रममा नेपाली समूहले अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयका अधिकारीहरूसँग भेटवार्ता गरेको छ । नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा अमेरिकी उपसहायक विदेशमन्त्री बेथानी पी. मोरिसनले पछिल्ला उच्चस्तरीय भ्रमणपछि दुई देशबीचको आर्थिक सहकार्यको गति बढेको उल्लेख गरिन् । नेपालमा निजी क्षेत्रको विकास र लगानीमैत्री वातावरण निर्माणमा अमेरिकाको चासो रहेको उनको भनाइ थियो । 

अमेरिकास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरनले नेपाली कम्पनीहरूको क्षमता र अन्तर्राष्ट्रिय विस्तारप्रति विश्वास व्यक्त गरे । एमच्याम नेपालका अध्यक्ष कैलाश विजयानन्दले नेपाली कम्पनीहरूको सहभागिताले उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने बताए । 

अमेरिकी वाणिज्य मन्त्रालयले आयोजना गरेको सम्मेलनमा सहभागी नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय लगानीकर्तामाझ नेपालमा बनेका प्रविधि र दक्ष जनशक्तिको सम्भावना प्रस्तुत गरे । एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाललाई लगानी, नवप्रवर्तन र व्यापार साझेदारीका लागि उदीयमान क्षेत्रका रूपमा चिनाउने प्रयास गरिरहेको एमच्यामले जनाएको छ ।

सन् २०१३ बाट आयोजना हुँदै आएको यस सम्मेलनमार्फत अमेरिकाले अर्बौँ डलरको लगानी भित्र्याउन सकेको र यसले हजारौँ रोजगारी सिर्जनामा सहयोग पर्‍याएको वेबसाइटमा उल्लेख छ । नेपाली आईटी उद्यमीहरूले विश्वका ठूला लगानीकर्ता र प्रविधि विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा नेपालको डिजिटल क्षमता र सीपको पहिचान हुने विश्वास व्यक्त गरेका छन् ।  

कान्तिपुर

Link copied successfully