खुम्बु आइसफलमा हिउँको ढिस्कोखस्दा दुई आरोही घाइते, हेलिकप्टरमार्फत उद्धार

पर्यटन विभागका अनुसार बिहान करिब ५:४५ बजे आधार शिविरबाट पहिलो र दोस्रो शिविरतर्फ रोटेसनमा गइरहेका आरोही तथा शेर्पा गाइडहरू हिँड्ने मार्गमै हिउँको ठूलो ढिस्को खसेको थियो।

वैशाख २२, २०८३

सुरज कुँवर

Two climbers injured in avalanche at Khumbu Icefall, rescued by helicopter

काठमाडौं — सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा मंगलबार बिहान हिउँको ढिस्को खस्दा दुई जना आरोही घाइते भएका छन्।

पर्यटन विभागका अनुसार बिहान करिब ५:४५ बजे आधार शिविरबाट पहिलो र दोस्रो शिविरतर्फ रोटेसनमा गइरहेका आरोही तथा शेर्पा गाइडहरू हिँड्ने मार्गमै हिउँको ठूलो ढिस्को खसेको थियो। उक्त घटनामा संखुवासभा मकालुका माउन्टेन गाइड ४४ वर्षीय पेम्बा तेण्डुक शेर्पा र भारत पुणेका आरोही ४० वर्षीय निमिषकुमार सिंह घाइते भएका हुन्।

दुर्घटनालगत्तै पायोनियर एडभेन्चर प्रालि र समिट फोर्स एक्सपिडिसनका शेर्पा टोलीले तत्काल उद्धार गरी आधार शिविरमा खबर गरेका थिए। त्यसपछि सेभेन समिट ट्रेक प्रालिको समन्वयमा बिहान ६:३० बजे लुक्लाबाट हेलिकप्टर घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिएको थियो।

घाइते दुवैलाई थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको छ।

सगरमाथाको खुम्बु आइसफल क्षेत्र आरोहण मार्गको सबैभन्दा जोखिमपूर्ण खण्ड मानिन्छ, जहाँ हिमनदीको निरन्तर बहाव र सेराक खस्ने जोखिम सधैं रहिरहन्छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully