सगरमाथामा तेस्रो क्याम्प सम्मको बाटो खुल्यो

सगरमाथामा वसन्तकालीन आरोहणका लागि हालसम्म ४७ वटा दलका ४६४ जना आरोहीहरूले अनुमति लिइसकेका छन् ।

वैशाख २२, २०८३

सुरज कुँवर

The road to the third camp on Mount Everest has been opened.

What you should know

काठमाडौँ — सगरमाथा क्षेत्रमा जारी वसन्तकालीन आरोहण अभियान अन्तर्गत क्याम्प–३ सम्म डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । 

एक्सपिडिसन अपरेटर्स एसोसिएसन अफ नेपालका महासचिव ऋषिराम भण्डारीका अनुसार मंगलबार उक्त काम सकिएको हो । बुधबारदेखि सबै अभियान कम्पनीहरूले आफ्नो रोटेसन सुरु गर्दै आवश्यक क्याम्पहरू स्थापना गर्ने छन् ।

यसअघि खुम्बु आइसफल हुँदै क्याम्प–१ र क्याम्प–२ सम्मको मार्ग तयार भइसकेपछि डोरी फिक्सिङ(टाँग्ने) टोलीले माथिल्लो भागतर्फ काम अघि बढाएको थियो । 

क्याम्प–३ सम्म डोरी जडान सम्पन्न भएसँगै सगरमाथा आरोहणको प्रक्रिया थप तीव्र हुने अपेक्षा एसोसिएसनले गरेको छ ।

पर्यटन विभागका अनुसार आधार शिविरमा रहेका आरोहीहरू अहिले अनुकूलनका लागि क्रमशः माथिल्लो क्याम्पतर्फ उक्लिन थालेका छन् । 

मौसम अनुकूल रहेमा क्याम्प–४ हुँदै शिखरसम्म डोरी फिक्सिङ कार्य  सम्पन्न गर्ने लक्ष्य १० दिनभित्र सक्ने भनिएको छ ।

यस सिजनका लागि सगरमाथा र ल्होत्से हिमालमा डोरी टाँग्ने तथा मार्ग निर्माण गर्ने जिम्मा पाएका अनुभवी १० जना शेर्पा टोलीले काठमाडौंबाट चैत १० गते लुक्ला हुँदै आधार शिविरबाट माथिल्लो क्याम्पसम्म पुगेर काम गरिरहेका छन् । 

उनीहरूले क्याम्प–२ माथिबाट शिखरसम्मको मार्ग डोरी तानेर निर्माणको जिम्मेवारी सम्हालेका छन् ।

हालसम्म सगरमाथा आरोहणका लागि ४७ वटा दलका ४६४ जना आरोहीहरूले अनुमति लिइसकेका छन् । त्यसैगरी, ल्होत्सेमा १११ जना र नुप्सेमा ५२ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार, यस वर्ष पनि सगरमाथा क्षेत्रमा उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी आरोहीहरूको उपस्थिति रहेको छ । आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै डोरी फिक्सिङ, क्याम्प स्थापना तथा आरोहण गतिविधि अगाडि बढाइएको विभागले जनाएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully