भारतले वार्ता र कूटनीतिमार्फत सुल्झिन बाँकी सीमासम्बन्धी मुद्दाहरूलगायत द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवादका लागि भारत सधैं तयार रहेको जवाफ पठाएको छ ।
काठमाडौँ — लिपुलेक हुँदै सुरु गर्न लागिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले पठाएको 'कूटनीतिक नोट'मा भारतले प्रतिक्रिया जनाएको छ ।
परराष्ट्र मन्त्रालयले भारत र चीनबीचको समन्वय र सहमतिमा नेपाली भूमि लिपुलेक हुँदै एकतर्फी रूपमा सुरु गर्न लागिएको मानसरोवर यात्राका सम्बन्धमा आइतबार भारत र चीनलाई कूटनीतिक नोट पठाउँदै ध्यानाकर्षण गराएको थियो ।
त्यसैको प्रतिक्रियास्वरूप भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउँदै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि निरन्तर प्रयोग हुँदै आएको मार्ग भएको बताएका हुन् ।
'यो कुनै नयाँ कुरा होइन, भारतले एकतर्फी रूपमा गरिने दाबीहरू न्यायोचित नभएको र एतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएका कुरा निरन्तर राख्दै आएको छ,' उनले भनेका छन्, 'यस्ता एकतर्फी दाबीहरू भारतलाई मान्य छैनन् ।'
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनीतिक नोटमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत: स्पष्ट र अडिग रहेको जनाएका थिए । त्यसैको जवाफ फर्काउँदै भारतले वार्ता र कूटनीतिमार्फत सुल्झिन बाँकी सीमासम्बन्धी मुद्दाहरूलगायत द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवादका लागि भारत सधैं तयार रहेको जनाएको हो।
