सोमबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले त्यो नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए।
काठमाडौँ — सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले सञ्चालन गर्न लागेको कैलाश मानसरोवर यात्राबारे दुवै देशलाई कूटनीतिक नोट पठाएको बताएका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले त्यो नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए।
‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ,’ पोखरेलले भने, ‘सीमा विवादबारे हामीले परराष्ट्र मन्त्रालयमार्फत बोलिसकेका छौं । त्यो हाम्रो भूमि हो भन्नेमा हामी स्पष्ट छौैं।’
विभिन्न सञ्चारमाध्यमबाट सोधिएका प्रश्न र चासोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले आइतबार धारणा सार्वजनिक गरेको थियो।
मन्त्रालयका प्रवक्ताले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ‘कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको’ उल्लेख छ।
