जेन-जी आन्दोलनका घाइते निश्चल भन्छन्, 'हामीले कति ठाउँमा कोठा खोज्न गयौँ तर कोठा खाली छैन भन्छन् । कोही त सुकुमवासी भनेर थाहा पाएपछि सिधै मुख फर्काउँछन् । अब यो बिरामी शरीर लिएर आमालाई कहाँ लैजाऊँ ?'
What you should know
काठमाडौं — महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको ठीक पछाडि रहेको सुकुमवासी बस्तीमा अचेल सन्नाटा मात्र छैन, त्रास र अन्योल पनि छ । काठमाडौं महानगरपालिकाले बस्ती खाली गर्न माइकिङ गरेपछि यहाँका करिब दुई दशक पुराना झुपडीहरूमा यतिबेला रुवाबासी र भागदौडको स्थिति छ । कोही आफ्ना वर्षौंदेखिका पुराना भाँडाकुँडा पोको पार्दैछन्, कोही ओत लाग्ने ठाउँको खोजीमा भौंतारिइरहेका छन् ।
यही भीडमा रहेका २४ वर्षीय निश्चल थापाको कथा भने अरूको भन्दा फरक छ । निश्चल त्यही सुकुमवासी बस्तीका उपज हुन्, जहाँ उनले आफ्नो बालापन र जवानी बिताए । त्यही माटोमा हुर्किएका उनले देशमा भ्रष्टाचारको अन्त्य भए आफ्नो अवस्था पनि फेरिएला भन्ने सपना देखेका थिए । त्यही सपनाको हुटहुटीले उनलाई गत २३ र २४ भदौको जेन-जी आन्दोलनको अग्रपङ्क्तिमा पुर्यायो ।
परिवर्तनको पक्षमा चक्रपथमा उर्लिएको जनसागरमा निश्चल पनि एउटा लहर बनेर मिसिएका थिए । २४ भदौको त्यो दिन उनको जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो । आन्दोलनकारी र सुरक्षाकर्मीबीचको झडपका क्रममा निश्चललाई कम्मरमुनि गोली लाग्यो । रगतले लतपतिएका उनलाई अस्पताल पुर्याइयो । राज्यले उनलाई 'आन्दोलनको घाइते' स्वीकार गर्दै परिचय-पत्र पनि दियो ।
'जसका लागि र जसको नेतृत्वमा आएको परिवर्तनका लागि भनेर हामी सडकमा ज्यान बाजी राखेर उत्रियौँ, आज त्यही शक्तिले जन्मिएको थातथलोबाट लखेट्दैछ,' निश्चलले दुखेसो पोखे । गोली लागेको उनको एउटा खुट्टा अझै पूर्ण रूपमा तन्दुरुस्त भएको छैन । हिँड्दा खुट्टा झमझम गर्ने र असैह्य पीडा हुने समस्याले उनलाई छाडेको छैन । शारीरिक रूपमा अशक्त भएकै कारण उनी अहिले कुनै काम गर्न सक्ने अवस्थामा छैनन् ।
निश्चलको पारिवारिक पृष्ठभूमि झनै मर्माहत छ । उनका बुबा बितेको ८ वर्ष भइसक्यो । घर चलाउने र निश्चलको रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी उनकी आमाको काँधमा छ । आमाले दैनिक ज्यालादारी गरेर ल्याएको पैसाले बिहान-बेलुकाको छाक टार्न पनि मुस्किल पर्छ । सरकारी अस्पतालमा उपचारका लागि धाउँदा कहिले पालो नपाउने त कहिले पर्याप्त सुविधा नहुने भएपछि उनीहरूले ऋण काढेर निजी अस्पतालमा निश्चलको उपचार गराएका थिए ।
महानगरले गत १६ वैशाखमा बस्तीमा माइकिङ गरेपछि निश्चल र उनकी आमाले पनि आफ्ना सानातिना सरसामानहरू पोको पारेर एउटा कुनामा थुपारेका छन् । तर, त्यो पोको बोकेर कहाँ जाने भन्ने उनीहरूसँग जवाफ छैन । निश्चल भन्छन्, 'हामीले कति ठाउँमा कोठा खोज्न गयौँ तर कोठा खाली छैन भन्छन् । कोही त सुकुमवासी भनेर थाहा पाएपछि सिधै मुख फर्काउँछन् । अब यो बिरामी शरीर लिएर आमालाई कहाँ लैजाऊँ ?'
