कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जन नहुँदा रेफर भएका बिरामीको योग शिविरमा जुम्ला आएका वीर अस्पतालमा कार्यरत चिकित्सक डा. निलम खड्काले सात घण्टा लगाएर शल्यक्रिया गरी ज्यान जोगाएका छन्।
What you should know
जुम्ला — योग शिविरमा जुम्ला पुगेका वीर अस्पताल काठमाडौंका न्युरो सर्जन प्राडा.निलम खड्काले अस्पतालले रेफर गरिसकेका बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन् । पातारासी गाउँपालिका–३ छुमगाउँका गोरबहादुर बोहोराको सफल शल्यक्रिया गरेका हुन् । वैशाख १८ मा घरको छतबाट लडेर सख्त घाइते भएका बोहोराको टाउकोमा गम्भीर चोट थियो ।
बेहोस अवस्थामा प्रतिष्ठान ल्याइएर भेन्टिलेटरमा राखिएका उनको तत्काल न्युरो सर्जरी आवश्यक थियो । तर प्रतिष्ठानमा न्युरो सर्जन नभएकोले अस्पतालले रेफर गर्ने तयारी गर्यो । मौसमले साथ नदिँदा जहाज उडेन । आर्थिक अभावबीच काठमाडौं लैजान लागेका बिरामीको परिवार निराशा र पीडाले छटपटाइरहेको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जन र आवश्यक उपकरण समेत छैनन् । टाउको सम्बन्धी गम्भीर बिरामी आए उपचार भन्दा पहिले रेफरको निर्णय गर्नुपर्ने बाध्यता छ । त्यहीँ बेला जुम्लाको गुठिचौर गाउँपालिकामा ध्यान शिविरका लागि न्युरो सर्जन प्राडा. निलम खड्का आइपुगेको खबर प्राप्त भयो । अनि जुम्लामा शल्यक्रिया गर्ने व्यवस्था मिलाउनका लागि बिरामीका आफन्तजन लागि परे ।
बिरामीको आर्थिक अवस्था, स्वास्थ्य अवस्थाबारे सहजीकरण गरेपछि डा. खड्का ध्यान शिविरबाट अस्पतालमा आउन सहमत भए । टाउकोमा जमेको रगत निकालियो । जीवन र मृत्युको दोसाँधमा उभिएका बोहोराले नयाँ जीवन पाए । बिरामीको अवस्था देखेर उनले उपकरणको अभावका बीचमा शल्यक्रिया गर्ने हिम्मत गरे । अहिले बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ ।
प्रतिष्ठानका शल्याक्रिया विभाग प्रमुख डा. निर्मल थापाले न्युरो सर्जन नहुँदा धेरै बिरामी रेफर गर्नुपरेको बाध्यता सुनाए । ‘संयोगवश डा. खड्का जुम्लामा आउनु भएकोले यो सम्भव भएको हो,’ उनले भने, ‘सधैं यस्तो संयोग मिल्ने कुरा भएन । अधिकांश बिरामीले सास्ती खेपपिरहनु परिरहेको छ ।’ गोरबहादुरका छोरा दीपराज बुवाको शल्यक्रिया जुम्लामै भएकोले खुसी छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको यो शल्याक्रिया अहिले सम्मकै ठूलो हो । ट्रमा सेन्टर काठमाडाैंमा समेत न्युरो सर्जनका रुपमा कार्यरत डा. खड्काले झण्डै सात घण्टा लगाएर शल्यक्रिया गरिएको बताए । आर्थिक रुपमा निकै विपन्न गोरबहादुर काठमाडौं पुगेर उपचार गर्न सक्ने अवस्थामा थिएनन् । हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने भएकोले बिरामीको खर्च धेरै हुने थियो । डा. खड्का जुम्ला आएको खबर पाएपछि बिरामीका आफन्तले शल्याक्रिया गरिदिन आग्रह गरेका थिए । ‘प्रतिष्ठानले त रेफर गरिसकेको थियो, डा. खड्का शिविरका लागि जुम्ला आउनु भएकोले सम्भव भएको हो,’ प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. पुजन रोकायाले भने ।
अस्पतालमा न्युरो सर्जरीका लागि चाहिने उपकरण पनि थिएनन् । विगतमा नाक, कान र घाँटीको शिविरमा आएको टोलीले छोडेका सामग्रीको सहायताले शल्यक्रिया सम्भव भएको डा. खड्काले बताए । गुठिचौर गाउँपालिकामा १० दिने ध्यान शिविरका लागि आएका डा. खड्काले अस्पतालसँगको समन्वयमा शल्यक्रिया सफल भएको बताए । ‘बिरामी काठमाडाैंसम्म जान नसक्ने अवस्था नभएको आफन्तको आग्रहपछि मात्रै आफु शल्यक्रियाका लागि तयार हुनुपरेको हो,’ डा. खड्काले भने, ‘ड्रिल थिएन । कुनै बेला नाक, कान र घाँटीको टोलीले छोडेर गएको रहेछ । त्यसले शल्याक्रिया सम्भव भयो,’ उनले भने ।
डा. खड्कासँगै डा. निर्मल थापा र इमरजेन्जी वार्डका वरिष्ठ चिकित्सक रमेश काफ्लेलगायतको टोली शल्यक्रियामा संलग्न थियो । नि:शुल्क गरिएको यो शल्यक्रियाले बिरामीलाई निकै राहत मिलेको छ । बिरामीको ज्यान नै खतरामा परेका बेला डा. खड्काको प्रयासले झण्डै २० लाख रुपैयाँ खर्च पनि जोगिएको गोरखबहादुरका ज्वाइँ गोर्खबहादुर बोहोराले बताए ।
उपचारका लागि रेफर गर्ने योजना बनाइसकेका बेला डा. खड्काले जुम्लामै शल्यक्रिया गरेर बिरामीको ज्यान बचाइदिएकोमा अस्पतालले खुसी व्यक्त गरेको छ । ‘अस्पतालमा न न्युरो सर्जन थिए । न उपकरण नै थिए । बिरामीलाई काठमाडौं पठाउनुबाहेकको विकल्प थिएन,’ डा. रोकायाले भने, ‘अहिले बिरामीको जुम्लामै अप्रेशन सम्भव भएर ज्यान जोगिएको छ । यो अस्पताल र बिरामीलाई निकै राहत मिल्यो ।’
