सीमा सुरक्षालाई सबलीकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार भइसकेको महानिरीक्षक नारायणदत्त पौडेलले बताएका छन् ।
काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षालाई सबलीकरण आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलीकरण एवं संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार भएको बताएका हुन् । १४ वैशाखको मन्त्रीपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षकमा बढुवा गरेको थियो ।
४ वर्षे पदावधिबाट आईजीपी राजु अर्याल १९ वैशाखबाट अवकाशमा जाने भएपछि सरकारले रिक्त नेतृत्वमा पौडेललाई बढुवा गरेको थियो । पौडेललाई सोमबार गृहसचिव राजकुमार श्रेष्ठले दर्ज्यानी प्रदान गरेका हुन् । सोमबार नै पौडेलले सशस्त्र प्रहरी मुख्यालय हल्चोक पुगी पदभार सम्हालेका छन् । त्यसअघि मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षा र सीमा सवलीकरणमा जोड दिएर अघि बढ्ने बताए । नयाँ जनभावनाबमोजिम कर्तव्य सुनिश्चित गर्ने उच्च दायित्व पनि सशस्त्र प्रहरीले निर्वाह गर्ने उनको भनाइ छ ।
सशस्त्र प्रहरी अन्तर्राष्ट्रिय सीमा सुरक्षार्थमा अग्रभागमा खटिने सुरक्षा फौज हो । भारततर्फ करीब १ हजार ८ सय १८ र चीनतर्फ १ हजार ४ सय १४ किमि लम्बाइमा सीमा फैलिएकामा सशस्त्रका १५ हजार बढी जनशक्ति सीमा इलाकामा तैनाथ छन् ।
११ असोज २०६९ को मन्त्रीपरिषद् बैठकले सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा तथा १५ पुस २०७७ को मन्त्रीपरिषद्बाटै रेलवे सुरक्षाको जिम्मा पनि दिएको छ । तर, अढाई दशक पुरानो ऐनका भरमा यो संगठन चलिरहेको छ । आफ्नो कार्यकालमा ऐन संशोधन गरी समयसापेक्ष बनाएर प्रभावकारी परिचालन गर्नेमा पनि जोड दिइने आईजीपी पौडैलले बताए ।
‘सीमा सुरक्षालाई सबलीकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार भइसकेको छ, अब यसको कार्यान्वयनका लागि नेपाल सरकार तथा गृह मन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त लिएको छु,’ उनले भने, ‘सकल दर्जाको कल्याण र वृत्तिविकासमा जोड दिँदै मानव संशाधनको विकास, आधुनिक प्रविधिको प्रयोग गरी नतिजामुखी कार्यशैली अपनाएर सुशासन र विकासमैत्री वातावरण निर्माण गरिनेछ, संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिबद्धता व्यक्त गर्छु ।’ संविधान, कानुन, राष्ट्रिय हित, संगठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमानदारी, निष्ठा, निष्पक्षता र दृढ संकल्पसाथ जिम्मेवारी निर्वाह गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजनाअनुसार कार्यहरुको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने उनको भनाइ छ ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल २०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । हालको ३० वर्षे सेवा अवधिको प्रावधान कायम रहे उनी चैत २०८४ सम्म पदमा बहाल रहनेछन् ।
त्यस अवसरमा गृहसचिव श्रेष्ठले संगठनभित्र पेशागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन अग्रसर रहन निर्देशन दिए । सरुवा प्रणाली र वृत्तिविकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा संगठनमा देखिएका असन्तुष्टि र गुनासो कम हुने पनि बताए ।
