हावाहुरीले विद्यालय, स्वास्थ्य संस्थासहित दुई दर्जनभन्दा बढी घरमा क्षति

आइतबार साँझ आएको हावाहुरीले एक विद्यालय, दुई स्वास्थ्य संस्थासहित दुई दर्जनभन्दा बढी भवनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

वैशाख २१, २०८३

विप्लव महर्जन

The storm damaged more than two dozen homes, including schools and health facilities.

What you should know

सल्यान — आइतबार साँझ ६ बजेतिर वर्षातसँगै आएको हावाहुरीले सल्यानमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्‌याएको छ । हावाहुरीले टिनको छाना उडाउँदा दुई दर्जनभन्दा बढी घरमा बस्नै नसक्ने अवस्था बनाएको छ । 

जिल्ला प्रहरी कार्याल सल्यानका अनुसार हावाहुरीले एक विद्यालय, दुई स्वास्थ्य संस्था र बाँकी स्थानीयको घरमा लगाएको टिनको छाना उडाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार हावाहुरीले बन्गाड कुपिण्डे नगरपालिका- ५ च्युरास्थित त्रिजमाविको भवनको छाना, बालीविज्ञान समूहका विद्यार्थीले प्रयोग गर्दै आएको तरकारी लगाउने टनेल, छत्रेश्वरी गाउँपालिका-४ झिम्पे जयचौरस्थित स्वास्थ्यक चौकी, जिल्ला अस्पताल सल्यानको क्वाटर भवनको छाना उडाएको छ भने कालिमाटी गाउँपालिका-५ का गणेश डाँगी, शारदा नगरपालिका-१३ का तारी रोकाको दुईवटा घर, छविलाल रावत, वडा नम्बर १ सुकेखोला बस्ने गीता केसी, वडा नम्बर १४ की बिष्णुकुमारी बुढा, बाग्चौर नगरपालिका-२ खरिबोटका नन्दलाल वली, ४३ का नीमबहादुर डाँगी, बन्गाड कुपिण्डे नगरपालिका-५ च्युराका राजकुमार पुन र नन्दलाल रानालगायतको घरमा क्षति पुर्‌याएको छ । The storm damaged more than two dozen homes, including schools and health facilities.

सोमबार विहानदेखि पानी परिरहेको र हावाहुरीले उडाएको विद्यालय, स्वास्थ्य संस्था तथा सर्वसाधारणको घरको छाना तत्काल मर्मत हुन नसक्दा घरभित्र भएका सबै सामग्री भिजेर काम नलाग्ने भएका छन् । त्यत्ति मात्र नभई त्रिजमावि च्युरामा भवनको छानो हुरीले उडाएपछि पठनपाठन र छत्रेश्वरी गाउँपालिका-४ जयचौरस्थित स्वास्थ्य चौकीमा सेवा प्रभावित भएको छ । छाना उडाए घरमा बस्नै नसक्ने भएका स्थानीय आफन्त तथा छिमेकीकोमा शरण लिइरहेका छन् । हावाहुरीले भवनहरूमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी केसीले जानकारी गराए । 

छाना उडाएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छत्रेश्वरी गाउँपालिका-४ का वडाध्यक्ष छविलाल खत्रीले बताए । उनले वडाभरी १० भन्दा बढीको घरको छाना उडाएको बताए । 

दार्मा गाउँपालिकाका विपद व्यवस्थापन समितिका संयोजक घमण्डप्रकाश खड्काले वर्षातसँगै आएको हावाहुरीले वडा नम्वर २ र ५ का केही बासिन्दाको घरमा क्षति पुर्‌‍‌याएको बताए । हुरीले छाना उडाएपछि कोही आफन्तका त कोही जोखिमयुक्त घरमा बसिरहेको उनको भनाइ छ । वर्षातसँगै आएको हावाहुरीले किसानको बगैँचामा फलेको सुन्तला, आपलगायत फलफुलमा धेरै असर गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully