थप १७ लाख लाइसेन्स छाप्न सुरु

दोस्रो चरणमा ४ वैशाखमा सम्झौता भएअनुसार थप १७ लाख लाइसेन्स छाप्न सुरु गरी सकिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ ।

वैशाख २०, २०८३

विमल खतिवडा

Printing of 1.7 million additional licenses begins

What you should know

काठमाडौँ — ट्रायल पास भएका र नवीकरणका लागि राजस्व बुझाएर बसेका पुरानो मितिका २९ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये १२ लाख छापिसकिएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिकमा भएको सम्झौताअनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको हो । दोस्रो चरणमा ४ वैशाखमा सम्झौता भएअनुसार थप १७ लाख लाइसेन्स छाप्न सुरु गरी सकिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । १७ लाखमा ५ हजार १ सय १ लाइसेन्स छापिइसकेका छन् । ५४ हजार ८ सय ६१ लाइसेन्स भने छापिने प्रक्रियामा छन् ।

दिनहुँ ४० हजार लाइसेन्स छापिने भएकाले असार मसान्तसम्म पुराना सबै छापिसकिने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । सार्वजनिक बिदाको दिन पनि लाइसेन्स छपाइको काम हुने भएकाले सक्नलाई समस्या नहुने केन्द्रको भनाइ छ । केन्द्रका अनुसार अहिलेसम्म ३७ हजार ८ सय ८६ आपत्कालीन र ट्रायल पास गरी दैनिक राजस्व बुझाएका ३६ हजार १ सय ४० लाइसेन्स छापिइसकेका छन् ।

‘विभागबाट जति डेटा आउँछन्, त्यहीअनुसार योजना बनाएर छपाइ गर्दै आएका छौं,’ केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले भने, ‘अहिले दैनिक आपत्कालीन र एकै दिनमा राजस्व बुझाउने सेवाग्राहीको लाइसेन्स छाप्ने काम नियमित रूपमा भइरहेको छ ।’ दोस्रो चरणको लाइसेन्स असार मसान्तअघि नै छापिसकिने उनको दाबी छ । नयाँ लाइसेन्स छपाइका लागि औसतमा दैनिक ४ हजारको संख्यामा डेटा आउने गरेको छ । देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट आउने संख्या हो यो ।

दिनभर सबै यातायात व्यवस्था कार्यालयहरूमा ट्रायल पास गरेर राजस्व बुझाएपछि सार्वजनिक बिदाको दिनबाहेक प्रत्येक दिन साँझ ६ बजेभित्र यातायात व्यवस्था विभागले केन्द्रलाई डेटा पठाउने गरेको छ । ‘नयाँ लाइसेन्सको डेटा पाएको २४ घण्टाभित्र छाप्ने काम सक्छौं,’ ढुंगानाले भने, ‘त्यसपछि भोलिपल्ट कार्यालय समयमा विभागमा पठाउने गरेका छौं ।’

अहिलेको लाइसेन्स थप फिचरसहित छापिरहेको छ । यसअघि सेवाग्राहीले पाउँदै आएको लाइसेन्समा जम्मा १८ थरी फिचर थिए । तर अहिले सेवाग्राहीले पाउने लाइसेन्समा ३९ फिचर छन् । तिनमा इन्टेलिजेन्ट क्यूआर, रिडेबल जोन, साधारण आँखाले देखिने, उपकरणको सहायताले देखिने, ल्याबबाट मात्र देखिनेलगायत फिचर थपिएको सुरक्षण मुद्रण केन्द्रले बताएको छ ।

छापिएर आउने लाइसेन्सको अघिल्लो भाग र पछाडि गरी दुई क्यूआर राखिएको छ, जसमा अघिल्लो भागको क्यूआर केन्द्र र पछाडिको सेवाग्राही तथा ट्राफिक प्रहरीले स्क्यान गरेर हेर्न सक्नेछन् । यसअघिको लाइसेन्समा भने चिप थियो । छापिएर आएको लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाउने काम भइरहेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जनाए ।

‘दोस्रो लटको लाइसेन्स छपाइका लागि डेटा पठाउन सुरु गरी सकेका छौं,’ खतिवडाले भने, ‘छपाइ सुरु हुन थालीसकेको छ । छापेर आएको लाइसेन्सलाई हुलाकबाटै सम्बन्धित कार्यालयहरूमा पठाउँछौं ।’ अहिले सबैभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरको छ । यस कार्यालयअन्तर्गत पुरानो लाइसेन्स छपाइ गर्न मात्र करिब ९ लाख रहेको निर्देशक खतिवडाको भनाइ छ ।

‘पहिलो लटमा १२ लाख लाइसेन्स छपाइ गर्न सम्झौता भएको थियो, एकान्तकुनामा संख्या धेरै भएकाले यही कार्यालयको मात्र डेटा पठाउँदा अन्य कार्यालयको छाप्न समस्या हुने देखियो,’ उनले भने, ‘दोस्रो लटमा अहिले यस कार्यालयको डेटा प्राथमिकतामा राखेर पठाउँछौं ।’ नागरिक एपमा ड्राइभिङ लाइसेन्स देखाउने, कुन कार्यालयबाट नयाँ लाइसेन्सका लागि ट्रायल पास र नवीकरणका लागि दिइएको हो, त्यो छापिए/नछापिएको जानकारी त्यही एपमा आउने गरेको खतिवडाको भनाइ छ ।

‘अनलाइनबाट लाइसेन्स नवीकरणका लागि राजस्व तिर्ने व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ,’ खतिवडाले भने, ‘यसका लागि सेवाग्राहीले अहिले लाइन लाग्नुपर्ने बाध्यता छ । अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था भएपछि यी समस्या हट्दै जानेछ ।’ सुरक्षण मुद्रण केन्द्रका अनुसार १ साउनबाट सेवाग्राहीले नयाँ र नवीकरणका लागि राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने छैन । त्यसो त सेवाग्राही सन् २०२२ देखि नवीकरण, नयाँ लाइसेन्सका लागि राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् ।

वालेन्द्र शाह प्रधानमन्त्री भएपछि १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र लाइसेन्स छापेर हुलाकमार्फत घरघर पुर्‍याउने उल्लेख गरेको छ । त्यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने उल्लेख छ । अहिले त्यहीअनुसार नै काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully