संखुवासभाका हस्तबहादुर कार्की ४० वर्षअघि काठमाडौं आएका हुन् । काठमाडौंमा रंगरोगनको काम गर्दा गर्दै गर्दा साथीले भनिदियो, ‘बल्खुमा सुकुम्बासी बस्ती बसाल्न लागेको छ, घर बनाउनु ।’ साथीले जे भने उनले त्यही गरे ।
What you should know
काठमाडौँ — उमेरले ७० वर्ष पुगे हस्तबहादुर कार्की । उनलाई १२ वर्षदेखि प्यारालाइसिस छ । उनको एक भागको शरीर चल्दैन । लठ्ठी टेक्दै श्रीमतीको हात समाउँदै शुक्रबार दिउँसो त्रिपुरेश्वरस्थित रंगशालामा विवरण संकलन गर्न पुगेका थिए । उनले तीन पुस्ता जग्गा जमिन नभएको विवरण टिपाए । उनी विगत २० वर्षदेखि बल्खु सुकुमवासी बस्तीमा बस्दै जीविकोपार्जन गर्दै थिए ।
संखुवासभाका उनी ४० वर्षअघि काठमाडौं आएका हुन् । काठमाडौंमा रंगरोगनको काम गर्दा गर्दै गर्दा साथीले भनिदियो, ‘बल्खुमा सुकुम्बासी बस्ती बसाल्न लागेको छ, घर बनाउनु ।’ साथीले जे भने उनले त्यही गरे । बाँसले घर बनाएपछि ब्लक थपे । अहिले त्यही घर पनि भत्किएको छ । सामान बाटोमा छन्, छोराछोरीले कुरेर बसेका छन् । लगत संकलन गरेर कुनामा बसेकी उनकी श्रीमती सीता त्यही घर सम्झिरहेकी छन् । आँखाभरि आँसु बनाउँदै उनले भनिन् ‘बाबु नानी त्यही हुर्किए, बढे, अहिले ठूला भए, अब त घर छैन, त्यहाँ खाएको बसेको सबै सम्झिरहेको छु ।’
घर भत्किएपछि परिवार कहाँ जाने, के गर्ने चिन्ता भएको उनले बताइन् । उनले भनिन् ‘छोराछोरी सामान हेरेर बसेका छन्, राति अब साथीको घरमा जान्छन् कि ?’ औषधि खाइरहनुपर्ने हस्तबहादुरले पैसाकै अभावले खान छोडे । अब त घर पनि छोड्नुपरेको बताउँदै उनले भने ‘डाक्टरले औषधि सधैँ खानुपर्छ भनेको थियो तर पैसा नभएर नखाएको ६ महिना भइसक्यो, अब त घर पनि भत्कियो, कहाँ लैजान्छन्, के गर्छन् त्यो पनि थाहा छैन ।’
गत शनिबारदेखि अव्यवस्थित र सुकुमवासी बस्ती हटाउन थालेको सरकारले दोस्रो चरणमा शुक्रबारदेखि फेरि हटाउन थालेको छ । त्रिपुरेश्वर, शंखमुल, बल्खु लगायतका क्षेत्रका बस्तीका व्यक्तिलाई शुक्रबारै लगत संकलनका लागि रंगशालामा राखिएको थियो । जहाँ उनीहरूको व्यक्तिगत, पारिवारिक विवरणदेखि स्वास्थ्य जाँचसम्म गरिएको थियो । लगत संकलन पश्चात् उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
अव्यवस्थित बस्ती भत्काउँदा वृद्धवृद्धा बालबालिकादेखि विद्यार्थीसमेत प्रभावित भएका छन् । स्नातक पढ्दै गरेकी आरती चौधरीको डेरा बसेको घर भत्किसकेको थियो । तीनतले घर खाली हुँदै थियो । अनामनगरस्थित धोबी खोलाको किनारमा रहेको अव्यवस्थित बस्तीमा बस्ती खाली गर्नु भन्दै माइकिङ गर्न थालेपछि आरतीसँगै डेरामा बस्दै आएका एलिजा, अर्चना चौधरी पनि आतिन थाले । उनीहरूमा चिन्ता थपियो-अब कहाँ जाने, सामान कहाँ राख्ने ? स्थायी घर बारा भएका उनीहरू दुई वर्षअघि सोही स्थानमा डेरा बस्न आइपुगेका थिए । ऐलाली घर हो भन्ने उनीहरूलाई थाहा थियो तर यसरी हटाउँछन् भनेर अनुमान गरेका थिएनन् ।
आरतीले भनिन्, ‘यसरी रातारात सामान सार्नुपर्छ भनेर लागेको थिएन तर साह्रै गाह्रो भयो ।’ उनीहरूको महिना पुग्नुअघि नै घरबेटीले भाडा उठाउँथे । दुई दिनअघि मात्रै बुधबार घरबेटी आए र सधैँझैँ भाडा मागे । दुई कोठाको दश हजार भाडा बुझाउने उनीहरूले सोहीअनुसार भाडा बुझाए र ढुक्कले बसे । तर भाडा बुझाएकै भोलिपल्ट उठिबास लाग्यो । घर भत्काउन थालियो । घरबाट तुरुन्त कोठा खोज भन्दै अभिभावकले उनीहरूलाई भन्न थालिसकेका थिए ।
भन्नासाथ कोठा पाउन उनीहरूका लागि सम्भव थिएन । राति उनीहरूले सामान प्याक गरे । उनीहरूले आफन्तको दाइकोमा ग्वार्कोमा सामान पुर्याए । दाइको ग्यारेज थियो, त्यही सामान राखे, त्यही सुते । आरतीले भनिन् ‘दाइको कोठा सानो थियो, सुत्ने र सामान राख्ने ठाउँ थिएन, त्यही भएर ग्यारेजमै सुत्यौं ।’ बस्तीमा एक महिना अघिदेखि नै हल्ला र डर थियो तर हटाउँदैन होला भन्ने भएर कोठा खोज्न नपाएको उनले बताइन् । उनले भनिन् ‘कलेज छ, पढ्नुपर्छ, कोठा खोज्न कहाँ जाने भनेर बस्यौँ, रातारात भाग्नुपर्यो ।’ एक रात ग्वार्कोको ग्यारेजमा बसेर उनीहरूले सामान छेउकै घरमा सारेका छन् । आफू बसेको छेउको घर देखाउँदै उनले भनिन्, ‘सामान त्यहाँ राख्नु भनेर राखेको छ, कोठा त्यही बस्ने कि भन्ने पनि त अब के गर्ने केही थाहा छैन ।’
अरू दिनझैँ सामान्य अवस्था भएको भए विकास थापा शुक्रबार बिहान ४ बजे सुतिरहेका हुन्थे । कुनै हतार हुन्थेन, न अत्यास पनि उनलाई लाग्दैनथ्यो । तर अरू दिनभन्दा शुक्रबार उनको फरक तनाव थियो । अब कहाँ जाने होला ? कहाँ बस्ने होला भन्दै उनी छटपटाउन थाले । अघिल्लो दिन बस्ती खाली गर्नु भन्ने माइकिङ कानमै गुञ्जिरहेको थियो । बिहानै ४ बजे सामान प्याक गर्न थाले । जमलमा साथीले एउटा कोठा खोजिदिएका थिए । त्यही सामान छोडेर उनी विवरण संकलन गर्न रंगशाला पुगेका थिए । वास्तविक सुकुम्बासीको नाममा नाम लेखाए उनले । १० वर्ष सो बस्तीमा बसेका उनी ज्यामी काम गर्दै गुजारा चलाउँदै आइरहेका छन् । गाउँमा हजुरबुवाको अलिअलि जग्गा थियो भन्ने उनले सुनेका थिए । पछि खोज्दै गए पनि तर गाउाकै मुखियाले आफ्नो नाममा बनाइसकेको उनले बताए ।
जग्गाबारे आफूले सुनेको बताउँदै उनले भने ‘हजुरबुवा पढेलेखेका थिएनन् रे, उनको जग्गा पनि मेरो पर्छ भने रे अनि जिल्लाबाट गएको मान्छेले गाउँको जान्नेबुझ्ने मुखियाको नाममा बनाइदिएछन् ।’ जग्गा खोज्न जाँदा प्रमाण पेश गर्न भने आफूसँग प्रमाण नभएकै कारण सुकुमवासी हुन पुगेको उनले बताए । अहिले आफू वास्तविक सुकुमवासी रहेको उनले बताए । उनले भने, ‘म साच्चै सुकुमवासी हुँ, देश यो अधिराज्यभरी बाउ बाजे आमा कसैको नाममा केही छैन ।’ सरकारले वास्तविक सुकुमवासी भनेरै उनीहरूलाई व्यवस्थापन गरिदियोस् भन्ने उनको अपेक्षा छ । उनलाई जंगलको छेउमा लगेर नराखिदियोस् भन्ने छ । उनले भने ‘काम पाउने ठाउँमा लगेर राखिदियोस् अब सरकारले ।’
६९ वर्षीय पवन गुरुङ ५३ वर्षदेखि शंखमुल सुकुमवासी बस्तीमा बस्दै आइरहेका थिए । बिहीबार सुकुमवासी बस्तीमा डोजर चलाएपछि उनको घरवास हरायो । रंगशालामा लगत संकलन गर्दै गर्दा भेटिएका उनी अब घर भन्ने शब्द नै नरहेको बताए । उनले भने ‘जहाँ जाँदा पुग्दा पनि घर जानु छ, घर छ भन्थे, अब त त्यो पनि भन्ने नपाउने भए ।’ वृद्ध उमेरमा आफू घरबारविहीन हुनुपरेको दुःखेसो उनले गरे । २०३० सालदेखि उनी सो स्थानमा आइपुगेका हुन् । ज्यालादारी काम गर्दै आइरहेका उनका दुई छोरा छन् ।
एक छोराको मृत्यु भइसकेको छ भने अर्को छोरालाई छारे रोग लागेको छ । ३२ वर्षीय छोराको हेरचाह पनि उनले गर्दै आइरहेका थिए । उनको पुख्यौली थापथलो कहाँ हो उनलाई थाहा छैन । घर पूर्वतिर हो भन्ने सुनेका छन् तर कहाँ हो उनलाई जानकारी छैन । उनी भन्छन्, ‘मलाई परिवारबारे त्यति थाहा छैन, बाउ बाजे कोही पनि देखिना ।’
रंगशालामा छटपटाइरहेका उनी भन्छन्, ‘जाने कहाँ होला ?’
