खरिपाटी तालिम केन्द्रमा विस्थापित : सकसमा बिरामीदेखि बालबालिका

आवासको अगाडि केही बालबालिका उफ्रिरहेका थिए । आवास भित्रबाट एक बालक फुत्त निस्किए स्कुल ड्रेसमा । ‘कतिमा पढ्छौँ ?’ मैले सोधेँ । उनले भने, ‘एलकेजीमा’ । फेरि मैले प्रश्न गरेँ, ‘स्कुलको ड्रेस लगाएर यहाँ आएछौ त ?’ छेउमा बसेकी उनकी आमाले उत्तर दिइन्, ‘स्कुल जाने बेलमा डोजर आयो यही लुगा लगाएको थियो होला ।’

वैशाख १९, २०८३

प्रकृति दाहाल

Displaced at Kharipati Training Center: From patients to children in distress

What you should know

भक्तपुर — खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालय तालिम व्यवस्थापन विभाग । समय दिनको १२ बजे । आवास नं ३ अगाडि एक युवा आत्तिँदै आइपुगे र भने, ‘उहाँलाई स्ट्रोक छ हिृवलचेयरमा लानुपर्नेछ कसरी लाने होला ?’ 

छेउमा रहेका सुरक्षाकर्मी चुपचाप बसेका थिए । एम्बुलेन्सभित्र सुतिरहेका बिरामीलाई ओरालेर हिृवलचेयरमा राखियो । 

कोठासम्म पुग्नका लागि बाटो सहज थिएन । हिृवलचेयरमा गुड्ने बाटो पनि थिएन । कोठासम्म बिरामीलाई पुर्‍याउन एक जना, दुई जना हुँदै पाँच जनाले हिृवलचेयरसहित बिरामीलाई उचालेर लगे । 

Displaced at Kharipati Training Center: From patients to children in distress

यो दृश्य देखिरहेका विभागका कर्मचारी भन्दै थिए, ‘यस्तो बिरामीलाई त अस्पताल वा सजिलो स्थानमा राख्नुपर्ने हो यहाँ पठाएर के गरेको होला ?’ उनलाई पछ्याउँदै हामी पनि गयौँ, तर कर्मचारीले भने, ‘कुराकानी गर्न, फोटो खिच्न पाइँदैन है । हामीलाई अप्ठ्यारो बनाउने काम नगरिदिनु होला ।’ हामीले बाहिरैबाट उनको फोटो खिच्यौँ । त्यहाँ रहेका आश्रित व्यक्तिहरूलाई पनि भनियो, ‘तपाईंहरू पनि अन्तर्वार्ता नदिनु है ।’ यति भनिरहँदा पनि उनीहरू भने आफ्ना कथा व्यथा दुःख सुनाउन उत्सुक देखिन्थे । 

आवासको अगाडि केही बालबालिका उफ्रिरहेका थिए । आवास भित्रबाट एक बालक फुत्त निस्किए स्कुल ड्रेसमा । ‘कतिमा पढ्छौँ ?’ मैले सोधेँ । उनले भने, ‘एलकेजीमा’ । फेरि मैले प्रश्न गरेँ,‘स्कुलको ड्रेस लगाएर यहाँ आएछौ त ?’ छेउमा बसेकी उनकी आमा नैनकुमारी साफीले उत्तर दिइन्, ‘स्कुल जाने बेलमा डोजर आयो, यही लुगा लगाएको थियो होला ।’ 

Displaced at Kharipati Training Center: From patients to children in distress

छोराले के लुगा लगाएको छ त्यो उनले देख्दिनन् । उनी पूर्ण दृष्टिविहीन छन् । आफ्नो पनि लगाएको लुगा बाहेक केही नभएको बताइन् उनले । आफूले भिरेको सानो झोला छाम्दै उनले भनिन्, ‘यहाँ नागरिकता छ, अरू त अहिले हामीसँग केही छैन ।’ पानी परेकोले चिसो बढ्दै थियो । बिहान बेलुका चिसो लाग्न थालेको उनले सुनाइन् । खान बस्न राम्रो व्यवस्था भएपनि न्यानो कपडा नभएको उनले गुनासो गरिन् । 

खुश्बु खातुनलाई विभागमा वरिपरि बच्चाहरूले घेरिरहेका थिए । ८ वर्षदेखि २ वर्षसम्मका उनका ४ छोराछोरी आँगनमा भेटिए । कसको एउटा जामा मात्रै थियो, कसैको खुट्टामा चप्पल थिएन । २ वर्षकी छोरीले भन्दै थिइन्, ‘मेरो त चप्पल गाडीमै छुट्यो ।’ बच्चालाई चिसो लाग्ला कि भन्ने पिर उनलाई पनि छ, तर बच्चाहरूका लागि न्यानो कपडा उनीसँग छैन । उनी भन्दै थिइन्, ‘पानी परिरहेको छ, जाडो हुन्छ, न आफ्नो कुनै लुगा छ, न त बच्चाको ।’ 

त्रिपुरेश्वर वंशीघाटबाट विस्थापित राजकुमार विक । उनी पनि विभागमा आइपुगेका छन् । राजकुमारको फोक्सोमा पानी जमेको छ । उनले दैनिक तीन समय औषधि खानुपर्छ । घर भत्किएपछि उनले औषधि खान पाएका छैनन् । औषधि के थियो, कहाँ थियो, त्यो उनलाई थाहा छैन । उनले भने, ‘सधैं घरमा हुन्थ्यो, सकिएपछि खोल लिएर किन्थेँ, अहिले कहाँबाट खान पाउनु ? घर त गयो गयो, तर औषधि खाएर नि बाँचिन्छ कि जस्तो लाग्थ्यो, तर अब त आस पनि छैन !’

Displaced at Kharipati Training Center: From patients to children in distress

छोराछोरी के गर्लान् नि अब भन्दै साथीसँग गफ गर्दैथिन् रिता खड्का । उनका दुई छोराछोरी छन् । अरूको घरमा काम गर्दै बसेका छोराछोरी अब कहाँ जालान् उनी भक्कानिन्छिन् । आमा भन्दै घर भन्दै आइपुग्ने छोराछोरीले कहिले भेटिएलान् कहाँ घर होला उनी चिन्तित थिइन् । अहिले उनीसँग कुनै सामान छैन । उनले थुप्रै सामान जोडेकी थिइन् । घर बनाउन टिन किन्न पनि उनको खर्च थियो । उनले भनिन्, ‘दुःख गरेर जोडेको न घर रह्यो न सामान नै, एकसरो लुगासमेत छैन अहिले ।’ रंगशालामा उनको सामान छुट्यो । आफूसँग केही बाँकी नरहेको बताउँदै उनले भनिन्, ‘न घर, न कुनै सामान, साँच्चिकै सुकुम्वासी नै भइयो भन्ने लागिरहेको छ ।’

बस्ती खाली गर्नु भन्दै माइकिङ गर्दै गाडी हिँडेपछि आत्तिइन् उनी । नाम खुलाउन चाहिनन् उनले । एउटा खुट्टा कमजोर भएकाले उनकी छोरी राम्रोसँग हिँड्न सक्दिनन् । छोरीलाई कहाँ राख्ने ? के गर्ने ? चिन्ता थपियो । सामान सार्नु कि छोरी ? भन्ने द्विविधामा परिन् । आफन्तलाई फोन गरिन्, छोरी आफन्तले राखिदिए । उनी भने सामान व्यवस्थापनमा लागिन् । श्रीमान्‌ले उनको साथ छोडेको धेरै भयो । दुई छोराछोरीको एक्लै जिम्मेवारी निभाइरहेकी उनको बासस्थान अहिले उजाडिएको छ । छोरा भने अहिले विदेश पुगेका छन् । उनले भनिन्, ‘छोरा विदेश पठाएको ऋण धेरै छ, अब कसरी तिर्ने ? के गर्ने ?’ 

कोरोना महामारी अगाडि अघि उनको आफ्नो व्यवसाय थियो । कस्मेटिक पसलदेखि सिलाईको कामसम्म उनले गर्थिन् । लकडाउनले ढलेको उनको व्यवसाय उठ्न सकेको छैन । विस्थापित भई तालिम केन्द्र पुगेकी उनले एक जोर कपडा भने बोकेको बताइन् । उनले भनिन्, ‘कहाँ लाने हुन् ? लुगा त फेर्न पर्ला नि भनेर बोकेको थिएँ, अरू त सामान कता कता छन् थाहा छैन ।’

३५ वर्षदेखि वंशीघाटमा बसेकी मैया कार्कीको झोलामा नागरिकता र केही कागजपत्र बाहेक केही छैन । उनले सामान निकाल्न भ्याइनन् । उनी त्यस बस्तीमा एक्लै बसिरहेकी थिइन् । दुई छोरीको विवाह भएपछि उनको जीवन एक्लै बितिरहेको थियो । एक्लै छोरीहरू हुर्काउँदै गर्दा त्यहाँ बस्न पाइन्छ भनेर उनी बस्तीमा पुगेकी थिइन् । टिनको छानो र गारोसहितको घर थियो उनको । उनले भनिन्, ‘दुःखको बेला त्यो ठाउँले धेरै सहारा दियो, अहिले बुढेसकाल लागेपछि भने घरविहीन भइयो ।’ उनीहरू जस्तै आश्रय लिन पुग्नेहरूको संख्या विभागमा अहिले १ सय ३५ जना पुगेको छ । 

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully