टहरो भत्काइदिएपछि विस्थापित बनेका लिम्बू परिवार भन्छन् : अब त ओत लाग्ने ठाउँ पनि छैन

‘हेर्दाहेर्दै आफूले बनाएको टहरो भत्कियो । हामी केही नहुनेको लागि त्यही टहरो महल थियो । के गर्नु अब त ओत बस्ने ठाउँ पनि कतै छैन’

वैशाख १९, २०८३

आरती पौडेल

Limbu family displaced after shanty demolition says: Now they have nowhere to sleep

What you should know

काठमाडौँ — ‘छोराले १२ को परीक्षा दिँदै छ । परीक्षा बिग्रने भयो भनेर फुपूको घरमा राखेको छौँ । छोरी सानैबाट अपांग छन् । बस्दै आएको झुपडी भत्कियो । रंग लगाउने काम गरेर परिवार पाल्थे । काम पनि हरायो । अब बाच्नलाई के गर्ने हो अत्तोपत्तो छैन,’ सुकुमवासी बस्तीमा डोजर चलेर काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा बसिरहेका लालबहादुर लिम्बू आफ्नो पीडा सुनाउँछन् ।

६३ वर्षका उनी सिनामंगलमा रहेको सुकुमवासी बस्तीमा परिवारसँग बस्दै आएका थिए । उनको परिवारमा चार जना छन् । उनले रंग लगाउने काम गर्थे । त्यसबाट घर खर्च जोड्ने गर्थे । उनी मात्र नभई उनकी श्रीमती संगीता लिम्बू पनि काम पाएको ठाउँमा भाँडा माझेर घर खर्च जोड्ने गर्थिन् ।

गरिबीको मारमा पिल्सिएको संगीता र लालबहादुरको जीवन सामान्य भने थिएन । सिनामंगल सुकुमवासी बस्तीमा टहरो बनाएर बसेका उनीले काम नपाएको दिन बेलुका के खाने होला भनेर सोच्नु पर्थ्यो । जीवन जसोतसो चलिरहेको थियो । लालबहादुर र संगीता मिलेर संघर्ष गरिरहेका थिए । आफूहरू खासै नपढे पनि १९वर्षीय छोरा सुशललाई प्लस टुसम्म पढाउँदै थिए । उनीहरूकी ११ वर्षकी छोरी छन् । उनी बोल्न सक्दिनन् । साथै राम्रोसँग हिँड्न पनि सक्दिनन् । छोरीलाई सक्दो हुने गरिरहेका थिए । छोराले पढेर राम्रो जागिर खाएपछि आफ्नो टहरोमा पनि खुसी छाउने सपना संगीता र लालबहादुरले बुनिरहेका थिए । तर, जिन्दगी सोचेअनुरूप सधैँ कहाँ चल्थ्यो र ? 

केही दिन अगाडिको कुरा हो । 

‘सुकुमवासी बसिरहेको जग्गा तीन दिनभित्र खाली गर्ने भनी सूचना आयो रे’ उनीहरू बसिरहेको ठाउँमा हल्ला चल्यो । 

लालबहादुरलाई त्यस कुराले खासै छोएन । ‘हरेक सरकार आउँदा त्यही भन्दै आएका थिए । यो सरकारले पनि अरूले जसरी भन्यो । हामीजस्ता असहायलाई कसरी बेघर बनाउला र सोचेँ,’ उनले भने ।

आफूले सुनेको हल्ला घरमा छोरा र श्रीमतीलाई सुनाए । संगीता पनि लालबहादुरले जसरी नै उक्त कुरालाई हलुका लिइन् । तर, प्लस टु परीक्षाको तयारी गरिरहेका छोरा भने हतासिए । ‘यो सरकार त पहिलाको जस्तो होइन । हामीलाई निकाल्यो भने मैले कसरी परीक्षा दिने ? हामी कहाँ जाने ?’ उनका छोराले भनेका थिए । 

दुई दिन पछिको कुरा हो, नभन्दै लालबहादुरका छोराले भनेको हुन पुग्यो । 

लालबहादुर, श्रीमती र छोरा मिलेर हतार हतार सामान पोको पार्न थाले । ‘के गर्नु त्यस्तो पीडा पनि हुने रहेछ जिन्दगीमा । नहुनेको कहिल्यै कोही हुँदैन रहेछन् । हामीलाई सबै कुरा एकैचोटि पर्‍यो,’ उनले भने । आफ्ना सामान बोरामा, जेब्रा झोलामा पोको पार्दै गर्दा लालबहादुर आफू भक्कानिएको सुनाए । केही समयमै डोजर आयो । 

‘हेर्दाहेर्दै आफूले बनाएको टहरो भत्कियो । हामी केही नहुनेको लागि त्यही टहरो महल थियो । के गर्नु अब त ओत बस्ने ठाउँ पनि कतै छैन,’ उनले भावुक हुँदै सुनाए । आफ्नो घर भत्किएपछि सामान लिएर रंगशाला पुगेर नाम टिपाएका थिए । त्यहाँबाट नयाँ बसपार्कको एक होटलमा बस्ने व्यवस्था मिलेको थियो । उक्त स्थानमा उनी, छोरी र श्रीमती बस्दै आएका छन् ।

हामी बुधबार रिपोर्टिङमा जाने बेलासम्म उक्त होटलमा सबै गरेर ५५ जना सुकुमवासी बसिरहेका थिए । उनका छोरा भने प्लस टुको परीक्षा दिनको लागि ठूली आमाको घरमा बस्दै आएका छन् । लालबहादुर भन्छन्, ‘छोराको परीक्षा चल्न एक दिन अगाडि त घरमा डोजर चलेको थियो,’ उनले भने, ‘तनाव नै तनावमा परीक्षा कस्तो गरे होला भन्ने कुराले पनि पिर परेको छ ।’ त्यता उनकी ११ वर्षकी छोरी नयाँ ठाउँ भएर मानिरहेकी छैनन् ।

केही दिनयता बेलुकामा खासै निद्रा नपरेको उनले गुनासो पोखे । ‘सरकारले छिटो सुकुमवासी को हुन् । को हैनन् । छुट्याउन पर्‍यो । अनि सुकुमवासीको पीडा, मर्का बुझेर बासस्थान दिए त राम्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले न काम छ भन्नु । केही नगरी त्यत्तिकै छोड्यो भने त हामी रोडमा बस्ने बाहेक केही उपाय छैन भन्ने कुरा मनमा खेल्छ, अनि निद्रा पर्दैन ।’ 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully