शनिबार सरकारले काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहराका सुकुमवासी बस्तीमा चलाएको डोजरले सयौं टहरा मात्र भत्काएन, कक्षा १२ को परीक्षा दिने तरखरमा रहेका विद्यार्थीको उज्यालो भविष्यको सपनामाथि पनि निर्मम प्रहार गर्यो, वर्षौंदेखिको आश्रयस्थल आफ्नै आँखाअगाडि माटोमा मिलेको हृदयविदारक पीडाबीच उनीहरू परीक्षा दिँदै छन्
What you should know
काठमाडौँ — माध्यमिक शिक्षाको अन्तिम खुड्किलो अर्थात् कक्षा १२ को परीक्षालाई विद्यार्थीको जीवनमा महत्त्वपूर्ण मोड मानिन्छ । यही परीक्षाको नतिजाले विद्यार्थीको भावी उच्च शिक्षा र ‘करिअर’को दिशा तय गर्छ । तर, काठमाडौंका विभिन्न सुकुमवासी बस्तीमा बस्दै आएका विद्यार्थीका लागि यो वर्षको कक्षा १२ को परीक्षा केवल शैक्षिक मूल्यांकनमा मात्र सीमित रहेन, यो उनीहरूको जीवनकै सबैभन्दा कठिन र निर्मम परीक्षा बन्न पुगेको छ ।
थापाथली सुकुमवासी बस्तीकी गिर्वाणिका थापाको कथा झनै पीडादायी छ । दुई सन्तानकी आमा गिर्वाणिकाले पढ्ने रहरलाई कहिल्यै मर्न दिएकी थिइनन् । अनेक पारिवारिक र व्यावहारिक जिम्मेवारीका बाबजुद ९ वर्षको लामो अन्तरालपछि उनी पुनः पढाइमा फर्किएकी थिइन् । कक्षा १२ को परीक्षा पास गरेर आफ्नो अपूरो सपना पूरा गर्ने उनको धोकोमाथि पनि सरकारको डोजर चलेको छ ।गत शनिबार सरकारले अचानक काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहराका सुकुमवासी बस्तीमा चलाएको डोजरले सयौं टहरा मात्र भत्काएन, कक्षा १२ को परीक्षा दिने तरखरमा रहेका ती विद्यार्थीको उज्यालो भविष्यको सपनामाथि पनि निर्मम प्रहार गर्यो । उनीहरूलाई एकातिर आफ्नो जन्मथलो, बाल्यकाल बिताएको आँगन र वर्षौंदेखिको आश्रयस्थल आफ्नै आँखाअगाडि माटोमा मिलेको र भग्नावशेषमा परिणत भएको हृदयविदारक पीडा छ भने अर्कोतिर आफ्नो भविष्य तय गर्ने सबैभन्दा महत्त्वपूर्ण परीक्षाको चटारो छ ।
सोमबारदेखि सुरु माध्यमिक तह (कक्षा १२) को अन्तिम परीक्षाको तयारीमा रातदिन नभनी जुटिरहेका सुकुमवासी बस्तीका विद्यार्थीहरू राज्यको उक्त कदमपछि गहिरो मानसिक आघातमा परेका छन् । अहिले राज्यद्वारा विस्थापित यी विद्यार्थी कोही खुला आकाशमुनि पालको सहारामा त कोही आफन्तको साँघुरो कोठामा शरण लिएर परीक्षा दिन बाध्य छन् ।
राज्यको यो अमानवीय र असंवेदनशील कदमको प्रत्यक्ष सिकार बनेकी एउटी प्रतिनिधि पात्र हुन्, कल्पना (नाम परिवर्तन) । मनोहरास्थित सुकुमवासी बस्तीमा जन्मिएकी र त्यहीं हुर्किएकी कल्पनाका लागि १४ वैशाखदेखि सुरु भएको परीक्षा एउटा ठूलो अवसर थियो । उनी आफ्नो परीक्षाको तयारीमा कुनै कसर बाँकी नराख्ने अठोटका साथ शनिबार बिहान पनि ट्युसन पढ्न गएकी थिइन् ।
तर, जब ट्युसन पढेर घर फर्किइन्, त्यहाँ घर थिएन । घरको नाममा केवल भताभुंग इँटा, जस्तापाता र काठका टुक्राहरूको थुप्रो मात्र बाँकी थियो । त्यो दृश्यले उनलाई विक्षिप्त बनायो । आफ्नो कापी–किताब र ड्रेससमेत निकाल्न नपाएकी उनी भग्नावशेष अगाडि उभिएर धेरैबेर रोइन् । उनको परिवार २५ वर्षदेखि मनोहरा बस्तीमा स्थायी रूपमा बस्दै आएको थियो । यति लामो समयसम्म बसेको थातथलो एक्कासि डोजर लगाएर भत्काइनेछ भन्ने उनीहरूले कल्पनासम्म गरेका थिएनन् ।
कल्पनाकी आमा शुभद्रा गहभरि आँसु पार्दै भन्छिन्, ‘सरकारले यस्तोसम्म निठुरी व्यवहार गर्ला भन्ने हामीलाई विश्वासै थिएन । त्यसैले हामीले छोरीलाई पनि घर भत्किने कुरा भनेका थिएनौं । उनले ढुक्कले परीक्षाको तयारी गरून् भनेर ट्युसन पठाएका थियौं । तर, ट्युसन पढेर फर्किंदा घर भत्किएको र सडकमा पुगेको देखेर उनी रोइन् ।’
२५ वर्षदेखि जोडेको जायजेथा एकैछिनमा माटोमा मिलेपछि शुभद्राको परिवार अहिले चरम संकटमा छ । ‘शत्रुलाई पनि यस्तो विपत्ति नपरोस्, हाम्रा लाउने लुगाफाटा र छोरीका पढ्ने किताब सबै घरसँगै डोजरले पुर्यो,’ शुभद्रा भक्कानिँदै भन्छिन् । घरबार उजाडिएपछि कल्पनालाई पढ्ने कुनै पनि शान्त र सुरक्षित वातावरण भएन । अहिले उनी लोकन्थलीस्थित आफन्तको कोठामा शरण लिएर बसेकी छन् । त्यहींबाट उनी कुपन्डोलस्थित परीक्षा केन्द्रमा पुगेर परीक्षा दिइरहेकी छन् । ‘भोलि पढेलेखेर केही राम्रो गर्ली र हाम्रो दुःखका दिन जालान् भन्ने ठूलो आसमा ऋणधन गरेर १२ कक्षासम्म पढायौं, तर राज्यले परीक्षाकै मुखमा आएर यसरी सडकमा पुर्याइदियो,’ शुभद्राले राज्यको कदमप्रति गहिरो आक्रोश र गुनासो पोखिन् ।
०००
थापाथली सुकुमवासी बस्तीकी गिर्वाणिका थापाको कथा झनै पीडादायी छ । दुई सन्तानकी आमा गिर्वाणिकाले पढ्ने रहरलाई कहिल्यै मर्न दिएकी थिइनन् । अनेक पारिवारिक र व्यावहारिक जिम्मेवारीका बाबजुद ९ वर्षको लामो अन्तरालपछि उनी पुनः पढाइमा फर्किएकी थिइन् । कक्षा १२ को परीक्षा पास गरेर आफ्नो अपूरो सपना पूरा गर्ने उनको धोकोमाथि पनि सरकारको डोजर चलेको छ ।
थापाथलीस्थित बागमती किनारको बस्तीमा बस्दै आएकी गिर्वाणिकाको मनस्थिति अघिल्लो बिहीबार बस्तीमा महानगरले माइकिङ गरेदेखि नै कमजोर बनेको थियो । जब बस्ती खाली गर्न उर्दी जारी भयो, उनको ध्यान किताबबाट हटेर आफ्ना साना बालबच्चाको सुरक्षा र बासस्थानको चिन्तामा मोडियो । शनिबार साँच्चिकै डोजर चलेर घर भत्किएपछि त उनी यतिसम्म हतास भइन् कि उनले यो वर्षको परीक्षा नै नदिने मनसाय बनाइसकेकी थिइन् ।
‘एकातिर साना बालबच्चाको बिचल्ली भएको छ, उनीहरूलाई कहाँ राख्ने, के खुवाउने भन्ने पिरलो छ । अर्कोतिर परीक्षाको चिन्ताले सताएको छ,’ गिर्वाणिकाले उकुसमुकुस पोख्दै भनिन्, ‘यस्तो अवस्थामा केको परीक्षा दिनु भनेर एक मनले त परीक्षा नै दिन्न भनेरै बसेको थिएँ । मेरो त पढ्ने जाँगर नै मरिसकेको थियो । तर, श्रीमान्ले यत्रो वर्षपछि सुरु गरेको पढाइलाई यस्तो बेलामा झन् छाड्नु हुँदैन, जसरी भए पनि दिनुपर्छ भनेर हिम्मत र बल थप्नुभयो । उहाँकै प्रेरणाले मात्र म परीक्षा केन्द्रसम्म पुग्न सकेकी हुँ ।’
सरकारले जबर्जस्ती बास उजाड्दै गर्दा गिर्वाणिकामाथि मनोवैज्ञानिक असर परेको छ । ‘मेन्टल्ली धेरै नै गाह्रो भइरहेको छ । दिमागमा अनेक कुरा खेल्छन् । आफ्नो सुरक्षित घरमा, एउटा शान्त कुनामा बसेर पढेजस्तो यो अस्तव्यस्त अवस्थामा कहाँ हुन्छ र ?’ उनले प्रश्न गरिन् । घर भत्किएपछि उनी कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’मा एउटा पाल (टेन्ट) मा छिन् । त्यही चिसो र असुरक्षित पालमुनि बसेर उनी परीक्षाको तयारी गरिरहेकी छन् ।
डोजरले घर भत्काउँदा उनका किताब र कापीहरू पनि पुरिएका थिए । पढ्ने सामग्री नै नभएपछि उनी झन् समस्यामा परेकी थिइन् । यस्तो अवस्थाको जानकारी पाएपछि काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले उनलाई पुस्तक उपलब्ध गराएकी छन् । कतिपयले उनलाई अनलाइन माध्यमबाट पढ्न पनि सहयोग गरेका छन् । यद्यपि, एउटी आमा र विद्यार्थीका रूपमा उनले भोगिरहेको यो दोहोरो मानसिक दबाबलाई यी साना सहयोगले पूर्ण रूपमा निको पार्न भने सकेको छैन ।
०००
कक्षा १२ को परीक्षा दिइरहेका १९ वर्षीय युवा सुशल लिम्बूको व्यथा पनि कल्पना र गिर्वाणिकाको भन्दा कम छैन । सुशलको घर पनि शनिबार तहसनहस भयो । घरमा डोजर चल्नुभन्दा केही घण्टाअघिसम्म उनी कोठामा बसेर परीक्षाको तयारी गरिरहेका थिए । उनले घरमा आमाबुबाले चिन्तित मुद्रामा गफ गरेको त सुनिहालेका थिए ।
‘तीन दिनभित्र सुकुमवासी बस्ती खाली गर्नू भनेर महानगरबाट सूचना आएको छ रे’ भन्ने चर्चा बस्तीभरि थियो । त्यो सुनेपछि सुशलले किताबमा ध्यान केन्द्रित गर्न खोज्दा पनि मन स्थिर हुन सकेन । तर, परिवार र बस्तीका अन्य सदस्य एक हिसाबले ढुक्क जस्तै थिए । ‘यसअघिका हरेक सरकारले यसैगरी सूचना निकाल्दै आएका थिए । तर अहिलेसम्म खासै केही भएको थिएन । यसपालि पनि त्यस्तै होला भन्ने लागेको थियो,’ उनको परिवारको बुझाइ थियो ।
तर, यस पटक त्यस्तो भएन । ‘मनमा धेरै कुरा खेलिरहेको थियो । अनेक डर र आशंकाबीच पनि म जसरी भए पनि पढ्ने प्रयास गर्दै थिएँ । तर, जब महानगरका प्रहरीहरू माइकिङ गर्दै बस्तीमा आए र डोजर चल्ने पक्कापक्की भयो, त्यसपछि भने अब साँच्चिकै सर्नुपर्ने भयो भन्ने यकिन भयो,’ सुशलले त्यो त्रासदीपूर्ण क्षण सम्झँदै भने, ‘त्यसपछि पढाइलेखाइ सबै छाडेर ममी, बाबा र म मिलेर हतार–हतार घरका अत्यावश्यक सामान प्याक गर्न र सुरक्षित ठाउँमा सार्नतिर लाग्यौं ।’
एकातिर घर भत्किँदै गरेको र सामान सार्नुपर्ने चटारो थियो भने अर्कोतिर परीक्षा कसरी दिने भन्ने चिन्ता । ‘सोमबारबाट जीवनकै महत्त्वपूर्ण परीक्षा थियो । तर, त्यसको अघिल्लो दिन आँखा अगाडि घर भत्केको र धुलोमा मिसिएको देख्नुपर्यो,’ उनले बिलौना पोखे, ‘एकातिर वर्षभरि पढेको कुरालाई अन्तिम समयमा रिभिजन गर्न र शान्त भएर परीक्षाको तयारी गर्न नपाएको एउटा छुट्टै ठूलो तनाव थियो भने, अर्कोतिर आफू जन्मेर हुर्केको र बस्दै आएको घर भत्केको अकल्पनीय तनाव । यस्तो दोहोरो मारमा परेपछि त मैले केही सोच्नै सकेको थिइनँ ।’
घर भत्किएपछि उनको परिवार नयाँ बसपार्कस्थित एक होटलमा छन् । तर, सुशल भने परिवारसँग त्यो होटलमा जान सकेनन् । होटल र परीक्षा केन्द्र रहेको स्थानबीचको दूरी निकै लामो हुने र बिहानै परीक्षा दिन पुग्न गाह्रो हुने भएपछि उनी बाध्य भएर सिनामंगलस्थित ठूलीआमा बस्दै आएको कोठामा बसे । तीन विषयको परीक्षा दिइसकेका सुशलले मानसिक तनावका कारण पहिलो दिनको परीक्षा भने आफूले सोचेअनुरूप राम्रो हुन नसकेको सुनाए ।
‘परीक्षाको यस्तो तनावपूर्ण समयमा परिवारसँगै बसेर पढ्न पाएको भए कति राम्रो हुन्थ्यो होला,’ उनले गला अवरुद्ध पार्दै भने, ‘तर परिस्थितिले यसरी छुट्टिएर बस्नुपर्यो । साह्रै नराम्रो लागिहाल्छ नि । बुबाआमाले के गर्दै हुनुहुन्छ होला, कस्तो ठाउँमा बस्नुभएको छ होला भन्ने दिमागमा आइरहन्छ ।’
सुकुमवासी बस्तीमा सरकारको डोजर चल्दा मारमा परेका कल्पना, गिर्वाणिका र सुशल त केवल प्रतिनिधि पात्र मात्र हुन् । राज्यले उनीहरूको व्यवस्थापन र शैक्षिक भविष्य सुनिश्चित गर्न प्रभावकारी कदम केही चालेको छैन । चौतर्फी आलोचनापछि मात्र शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बल्ल एउटा सर्कुलर जारी गरेको छ । केन्द्रले विद्यार्थी स्थानान्तरण, परीक्षा व्यवस्थापन तथा विद्यालय समायोजनका लागि भन्दै सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेल र शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेललाई समेत बोधार्थ दिएर पठाइएको उक्त पत्रमा कक्षा १२ का विद्यार्थीलाई तोकिएको परीक्षा केन्द्रसम्म आउजाउ गर्न यातायातको व्यवस्था गरिदिन र आवश्यक अन्य सहजीकरण गरिदिन स्थानीय तहलाई अनुरोध मात्र गरिएको छ । घरबारविहीन भएर सडकमा पुगेका र मानसिक तनावमा रहेका विद्यार्थीलाई यातायातको व्यवस्थाले मात्र कसरी राहत दिन्छ भन्नेमा मन्त्रालय मौन छ ।
यता, शिक्षा सचिव पौडेलले भने अप्ठ्यारोमा परेका यी परीक्षार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले समेत विशेष सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइएको दाबी गरेका छन् । ‘बस्तीबाट जबर्जस्ती विस्थापित हुनुपरेका कारण समस्यामा परेका परीक्षार्थीलाई हामीले सीधै राष्ट्रिय परीक्षा बोर्डमा सम्पर्क गर्न भनेका छौं । उनीहरूको अवस्था हेरेर बोर्डले आवश्यक व्यवस्था र सहजीकरण गर्छ,’ सचिव पौडेलले भने ।
