संघका अध्यक्ष फुर्गेल्जे शेर्पाका अनुसार शव आंशिक रूपमा बरफमुनि गाडिएको अवस्थामा मुख्य आरोहण मार्गमै भेटिएको थियो ।
काठमाडौँ — सगरमाथा आरोहण मार्गमा फेला परेको एक अज्ञात पर्वतारोहीको शव नेपाल पर्वतारोहण संघले शनिबार काठमाडौं ल्याएको छ । हालसम्म शवको पहिचान खुल्न सकेको छैन ।
बेस क्याम्पमा गरिएको प्रारम्भिक पहिचान प्रयास असफल भएपछि सम्बन्धित निकायहरूले विगतका आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोहीहरूको अभिलेख अध्ययन गरिरहेका छन् । शव नियमित मार्ग व्यवस्थापनका क्रममा आइसफल डाक्टरहरूले खुम्बु आइसफल क्षेत्रअन्तर्गत बेस क्याम्प र क्याम्प–१ बीचमा फेला पारेका थिए । संघका अध्यक्ष फुर्गेल्जे शेर्पाका अनुसार शव आंशिक रूपमा बरफमुनि गाडिएको अवस्थामा मुख्य आरोहण मार्गमै भेटिएको थियो, जसले सुरक्षा तथा वातावरणीय जोखिम उत्पन्न गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागको निर्देशनपछि संघले सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) लगायतका निकायसँग समन्वय गरी उद्धार अभियान सञ्चालन गरेको थियो । सो क्रममा बुधबार शवलाई बरफबाट निकालेर सगरमाथा आधार शिविरमा ल्याइएको थियो ।
बिहीबार हेलिकप्टरमार्फत लुक्ला ल्याउने प्रयास मौसम खराबीका कारण असफल भए पनि शुक्रबार गरिएको दोस्रो प्रयासमा शवलाई सफलतापूर्वक लुक्ला पुर्याइएको थियो ।
लुक्लामा स्थानीय प्रहरीले पोस्टमार्टम गरेपछि शनिबार बिहान शवलाई काठमाडौं ल्याई शिक्षण अस्पतालमा थप परीक्षणका लागि बुझाइएको छ । डीएनए परीक्षणमार्फत शवको पहिचान सुनिश्चित गरिने संघले जनाएको छ ।
