सुकुमवासी बस्ती हटाउने क्रममा ७ तले मन्दिरमा पनि डोजर चलाइएको छ ।
काठमाडौँ — बल्खुस्थित ७ तले पाथीभरा देवी मन्दिरमा पनि डोजर चलाइएको छ । सुकुमवासी बस्ती हटाउने क्रममा बस्तीभित्र रहेको मन्दिर पनि पनि भत्काइएको हो ।
स्थानीय बिजुला बिकका अनुसार महानगर प्रहरीले नभत्काउनु भने पनि प्रहरीको अगुवाइमा भत्काइएको हो ।
यसअघि बल्खुमै साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काइएको थियो । बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरे पनि डोजर चलाइएको गुम्बाका अध्यक्ष कपुरे तामाङले बताए ।
काठमाडौंका खोला किनारका 'अव्यवस्थित बस्ती हटाउने' क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट क्षेत्रमा डोजर चलाएको हो ।
बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना दिएर बस्ती खाली गराउन भनेको थियो । उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए ।
यसअघि जस्तै बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको हो । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत खटिएका छन् ।
