बिहीबार रुकुम पूर्वको रुकुमकोटबाट तीर्थयात्री बोकेर गएको जिप रोल्पाको जलजलामा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।
रुकुम पूर्व — रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान अझै खुल्न सकेको छैन । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, ४ पुरुष र १२ महिला रहेको यकिन भए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनास्थलमै रहेका रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले अप्ठेरो ठाउँ भएकाले शव निकाल्न समय लागेको बताए ।
'जिप सडकबाट झन्डै ८ सय मिटर तल खसेको छ । खोंचमा भएकाले सजिलै शव निकाल्ने अवस्था छैन । अहिले सुरक्षाकर्मीहरूले बाटो बनाउँदै हुनुहुन्छ । त्यसपछि डोरीको सहायताले शव निकालिनेछ,' सहायक प्रजिअ गौतमले कान्तिपुरसँग भने । उनका अनुसार दुर्घटनामा परेको जिपको अघिपछि रहेका जिपमा त्यही गाउँका अरु स्थानीय भए पनि शव बाटोमा निकाल्न नसकेकाले पहिचान हुन नसकेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमखु डीएसपी खुमानन्द पाण्डेले बिहीबार रुकुमकोटबाट जलजलातर्फ २–३ वटा गाडी गएकाले कुन गाडीमा को चढेका थिए भन्ने कुरा स्पस्ट नहुँदा सनाखतमा समस्या भएको बताए ।
‘हामीले रोल्पा प्रहरीसँग समन्वय गरिरहेका छौं । तर अहिलेसम्म मृतकको पहिचान भने हुन सकेको छैन,’ डीएसपी पाण्डे भन्छन्, ‘यता जलजला गएकाहरूको परिवारमार्फत पनि हामी सम्पर्क गर्ने कोसिस गरिरहेका छौं ।’
