छिमेकी मुलुकसँगको समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टिकोण आवश्यक : सभापति थापा

कांग्रेस सभापति गगन थापाले छिमेकी मुलुकहरु भारत र चीनसँगको व्यापारिक तथा सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

वैशाख १८, २०८३

न्युज एजेन्सी नेपाल

A common national approach is necessary to resolve problems with neighboring countries: President Thapa

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छिमेकी मुलुकहरूसँग देखिएका विद्यमान समस्या समाधानका लागि नेपालले स्पष्ट र साझा राष्ट्रिय दृष्टिकोणका साथ कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भारत र चीनसँगको व्यापारिक तथा सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले वैदेशिक सम्बन्ध र परराष्ट्र नीतिका सवालमा सिंगो मुलुक एक ठाउँमा उभिएर छिमेकी देशहरूसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याए । सभापति थापाले भारत सरकारले नेपाली चियामा हालै लगाएको करका कारण नेपालको चिया उद्योग धराशायी हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । यस विषयमा भारत सरकारसँग प्रभावकारी कूटनीतिक संवाद गरी नेपाली उत्पादनलाई सहुलियत दिलाउन उनले सरकारलाई आग्रह गरे । 

चीनसँगको व्यापारिक सम्बन्धका बारेमा बोल्दै थापाले उत्तरी नाकाहरूमा भइरहेको अवरोधप्रति चासो व्यक्त गरे । दैनिक ५० औंको संख्यामा मालवाहक सवारी साधन आवतजावत हुनुपर्ने ठाउँमा हाल दैनिक ४–७ वटा मात्र गाडी छोडिनुले नेपाली व्यापारी र अर्थतन्त्रमा नकारात्मक असर परेको उनको भनाइ छ । उनले नाकाको अवरोध हटाउन र सहज व्यापारिक वातावरण निर्माण गर्न सरकारले तत्काल पहल गर्नुपर्ने बताए । भारत र चीन मिलेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोल्ने सन्दर्भमा भइरहेका छलफल र सहमतिप्रति लक्षित गर्दै सभापति थापाले यस्ता विषयमा नेपालको उपस्थिति र अडान स्पष्ट हुनुपर्ने बताए । 

उनले भने, ‘नेपालको चिया विस्तारै एउटा ठूलो उद्योगका रूपमा स्थापित हुँदै थियो, तर भारतले लगाएको करका कारण यो क्षेत्र चौपट हुने स्थितिमा छ । लिपुलेकको विषयमा भारत र चीनबीच संवाद भइरहँदा सिंगो नेपाल एक ठाउँमा उभिएर कुरा गर्नुपर्ने हुन्छ । हामीले पाउनुपर्ने सहुलियत र सुविधा प्राप्त गर्नका लागि दुवै छिमेकीसँग दृढताका साथ संवाद गर्नु नै अहिलेको मुख्य प्राथमिकता हुनुपर्छ ।’

सभापति थापाले सरकारसँग बहुमत रहेकाले कानुन निर्माण र शासन सञ्चालनमा आफ्नो दलको सहयोग रहने स्पष्ट पार्दै राष्ट्रिय हितका मुद्दामा भने सरकार गम्भीर हुनुपर्ने बताए । उनले परराष्ट्र नीति र छिमेकीसँगको सम्बन्धलाई सत्ताको खेलभन्दा माथि उठेर राष्ट्रिय स्वार्थको आधारमा अगाडि बढाउन सरकारलाई सुझाव दिए ।

न्युज

Link copied successfully