विश्व प्रेस स्वतन्त्रता सूचकांक : नेपाल ८७ औं स्थानमा

एसिया-प्रशान्त क्षेत्रको अवस्था झनै 'गम्भीर'

वैशाख १७, २०८३

कान्तिपुर संवाददाता

World Press Freedom Index: Nepal ranks 87th

काठमाडौँ — रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले सार्वजनिक गरेको सन् २०२६ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल ८७ औं स्थानमा परेको छ । अन्य दक्षिण एसियाली देशहरूको अवस्था निकै दयनीय देखिएको छ । भारत १५७ औं स्थानमा छ भने पाकिस्तान १५३ औं, बंगलादेश १५२ औं, भुटान १५० औं र श्रीलंका १३४ औं स्थानमा छन् । 

अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएयता निरन्तर प्रेसमाथि अंकुश लगाइरहेको अफगानिस्तान १७५ औं स्थानमा पुगेको छ । यस तथ्यांकले दक्षिण एसियामा नेपालको प्रेस स्वतन्त्रता तुलनात्मक रूपमा सुरक्षित रहे पनि यस क्षेत्रमा फैलिएको सेन्सरसिप र दमनको प्रभावबाट पूर्णतः मुक्त नरहेको संकेत गर्छ । 

१८० देशहरुको सूचीमा नेपालको अवस्था दक्षिण एसियाली छिमेकी राष्ट्रहरूको तुलनामा सन्तोषजनक देखिए पनि समग्र एसिया-प्रशान्त क्षेत्रमा भने प्रेस स्वतन्त्रताको अवस्था चिन्ताजनक र दमनकारी बन्दै गएको आरएसएफको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनअनुसार यस क्षेत्रका ३२ मध्ये २१ देश र क्षेत्रहरूमा प्रेस स्वतन्त्रताको अवस्थालाई 'कठिन' वा 'धेरै गम्भीर' रूपमा वर्गीकरण गरिएको छ । एसिया-प्रशान्त क्षेत्र विश्वकै सबैभन्दा दमनकारी क्षेत्रमध्ये एक बनेको र यहाँको अवस्था निरन्तर बिग्रिँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

१७८ औं स्थानमा रहेको चीनले राष्ट्रिय सुरक्षा कानुनको प्रयोग गर्दै पत्रकारलाई जेल हाल्ने गरेको छ । हाल १२१ जना सञ्चारकर्मीलाई थुनामा राखेर चीन विश्वकै सबैभन्दा धेरै पत्रकारलाई जेलमा राख्ने राष्ट्र बनेको छ । 

आरएसएफका अनुसार चीनको यो सेन्सरसिप मोडल अब सिमानाभन्दा बाहिर पनि फैलिरहेको छ । १७४ औं स्थानमा रहेको भियतनाम र १६६ औं स्थानमा रहेको म्यानमारजस्ता देशहरूले चीनकै सिको गर्दै 'साइबर सुरक्षा' कानुनलाई अनलाइन सेन्सरसिपको प्रमुख हतियार बनाएका छन् ।

World Press Freedom Index: Nepal ranks 87th

कान्तिपुर

Link copied successfully