गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि शुक्रबार वा शनिबारको समय माग गरे पनि भेट हुने निश्चित भएको छैन।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्दै छन्।
हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत उनी ट्रम्पका निकट व्यक्तिका रूपमा चिनिन्छन्। उनलाई भारतका राजदूतका साथै दक्षिण तथा मध्य एशियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ।
गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि शुक्रबार वा शनिबारको समय माग गरे पनि भेट हुने निश्चित भएको छैन। शाह नेतृत्वको सरकार गठन भएयता नेपाल आएका कूटनीतिज्ञमध्ये गोर सबैभन्दा उच्च तहका हुन्।
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार विभिन्न तहबाट सुझाव आए पनि बुधबार साँझसम्म प्रधानमन्त्री शाहले गोरसँग भेट्ने निर्णय गरेका छैनन्।
यद्यपि, गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत अन्य अधिकारीहरूसँग भेट गर्नेछन्।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँगको भेट तय भइसकेको छ। गोरको तर्फबाट प्रधानमन्त्रीसँग भेटका लागि पटक–पटक अनुरोध आएको भए पनि प्रधानमन्त्री आन्तरिक मामिलामा व्यस्त रहेकाले भेट निश्चित नभएको उनको भनाइ छ। शाहले मुख्य रूपमा सुशासनसम्बन्धी विषयमा ध्यान केन्द्रित गरिरहेको बताइएको छ।
प्रधानमन्त्री शाहले विदेशी मुलुकका मन्त्री वा त्यसभन्दा माथिल्लो तहका अधिकारीसँग मात्र भेट्ने मापदण्ड स्थापित गर्न खोजिरहेका छन्। यसअघि उनले अप्रिल ८ मा विभिन्न देशका राजदूतहरूसँग संयुक्त रूपमा भेट गरेका थिए।
गोरले नयाँ सरकारलाई सम्भव सहयोग गर्ने सन्देश दिने र कानुनी सुधार भएमा अमेरिकाले नेपालमा लगानी ल्याउन तयार रहेको बताउने अपेक्षा छ।
वाशिङ्टनमा उनको बलियो व्यवसायिक तथा लगानी सम्बन्ध भएकाले उनको यो भ्रमण व्यापार र लगानी केन्द्रित हुने संकेत पनि अमेरिकी पक्षले दिएको छ।
यससम्बन्धी विस्तृत रिर्पोट काठमाडौं पोष्टमा प्रकाशित छ। पढ्न यहाँ क्लिक गर्नुहोस्।
