मलेसियाद्वारा जेल नबसी स्वेच्छिक रूपमा घर फर्कन पाउने कार्यक्रमलाई निरन्तरता

पछिल्लो एक वर्षको अवधिमा नेपालसहित ११२ देशका २ लाख ५४ हजार १८६ कागजातविहीनले जरिवाना तिरेर स्वदेश फर्केका छन् ।

वैशाख १७, २०८३

होम कार्की

Malaysia continues program to allow people to return home voluntarily without serving jail time

काठमाडौँ — मलेसियाले कागजातविहीन आप्रवासी श्रमिकलाई बिनाजेल सजाय स्वदेश फर्कन पाउने कार्यक्रमलाई थप एक वर्ष निरन्तरता दिएको छ । स्वेच्छिक रूपमा स्वदेश फर्कनका लागि कागजातविहीन श्रमिकले जरिवाना तिर्नुपर्नेछ ।

मलेसिया अध्यागमन विभागद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार ‘आप्रवासी स्वदेश फिर्ता कार्यक्रम २.०’ लाई ३१ मे २०२७ सम्म थप गरिएको हो । १९ मे २०२५ देखि लागू गरिएको यो कार्यक्रमको म्याद बिहीबार (अप्रिल ३०) देखि समाप्त भएको थियो ।

अध्यागमन विभागका अनुसार यो कार्यक्रम प्रभावकारी भएको भन्दै थप गरिएको हो । मलेसियाले कागजातविहीन आप्रवासी श्रमिकको उपस्थितिमा कमी ल्याउन यो अभियानलाई निरन्तरता दिएको हो ।

पछिल्लो एक वर्षको अवधिमा नेपालसहित ११२ देशका २ लाख ५४ हजार १८६ कागजातविहीनले जरिवाना तिरेर स्वदेश फर्केका छन् ।

गैरकानुनी रूपमा प्रवेश गर्ने र आवासीय अनुमति बिना बसोबास (ओभरस्टे) गर्नेका लागि ५ सय रिंगेट, भिसाको सर्त उल्लंघन गर्नेका लागि ३ सय र अस्थायी कागजातका रूपमा प्रत्येक पटक जारी हुने ‘विशेष पास’ का लागि २० रिंगेट जरिवाना तिर्नुपर्नेछ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully