रुकुमकोटबाट जलजलातर्फ आउँदै गरेको १६ यात्रु सवार जिप दुर्घटना

रोल्पा प्रहरीका अनुसार तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमा दिन पूजापाठ गर्न रुकुमबाट आएका थिए । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

वैशाख १७, २०८३

काशीराम डाँगी

Jeep carrying 16 passengers coming from Rukumkot to Jaljala crashes

रोल्पा — रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजला आएका तीर्थयात्री चढेको जिप थबाङ र उवाको सिमानामा बिहीबार दिउँसो दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट १६ तीर्थयात्री लिएर उक्त जिप रोल्पाको जलजलातर्फ आउने क्रममा थबाङ गाउँपालिका-१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा दुर्घटनामा परेको हो । पानी परिरहेकाले सडक चिप्लो हुँदा जिप दुर्घटनामा परेको थनाग-४ का वडा अध्यक्ष हिक्मतसिंह घर्ती मगरले बताए ।

जिप सडकबाट तल उवातर्फ खसेको छ । प्रहरीले उद्धार जारी राखेको जनाएको छ । थबाङबाट प्रहरी टोली र स्वास्थ्यकर्मीहरू घटनास्थलतर्फ गएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले दुर्घटना भएको जानकारीलगत्तै प्रहरीसहित स्थानीय उद्धारमा खटिएको बताए । रोल्पा प्रहरीका अनुसार तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमाका दिन पूजापाठ गर्न रुकुमबाट आएका थिए । घटनाको पूर्ण विवरण आउन बाँकी छ । दुर्घटनास्थललगायत रोल्पाभर अत्यधिक पानी परेकाले उद्धार र जानकारी प्राप्त हुन कठिनाई भएको प्रहरीले जनाएको छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully