जापानी विदेश मन्त्रालयका अनुसार नेपाल-जापान सम्बन्ध सुदृढीकरणका लागि उल्लेखनीय भूमिका खेलेकोमा उनलाई यो विभूषण दिन लागिएको हो ।
काठमाडौँ — जापान सरकारले पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्डले सम्मानित गर्ने भएको छ । जापानी विदेश मन्त्रालयका अनुसार नेपाल-जापान सम्बन्ध सुदृढीकरणका लागि उल्लेखनीय भूमिका खेलेकोमा उनलाई यो विभूषण दिन लागिएको हो ।
जापानका लागि नेपालका पूर्वराजदूतसमेत रहेका भट्टराईले दुई देशबीचको सम्बन्ध र मित्रतालाई मजबुत बनाउन भूमिका खेलेको जापानी विदेश मन्त्रालयले जनाएको छ । झन्डै ४० वर्षे कूटनीतिक यात्राका क्रममा भट्टराईले जर्मनीका लागि राजदूतको समेत भूमिका निभाएका थिए ।
त्यस्तै विभिन्न नेपाली मिसनमा समेत उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी सन् २००९ देखि २०११ सम्म परराष्ट्र सचिव थिए । पछि उनी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकारसमेत बनेका थिए । सन् १९७७ मा भट्टराई सरकारी सेवा प्रवेश गरेका थिए । त्यसअघि उनी अध्यापन र पत्रकारितामा समेत सक्रिय थिए । उनी राइजिङ नेपालमा सहायक सम्पादकसमेत बनेका थिए । उनले कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल-भारत सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् ।
जापान सरकारले वसन्त र शरद ऋतु पारी वर्षको दुई पटक जापानसँगको सम्बन्ध सुधारमा उल्लेख्य भूमिका खेलेका विदेशी नागरिकलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्ड दिने गरेको छ । जापान सरकारले अप्रिल २९ मा ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ र नोभेम्बर ३ मा ‘अटम इम्पेरियल डेकोरेसन’ विभूषणको घोषणा गर्छ । यो अवार्ड सन् १८७५ मा तत्कालीन जापानी सम्राट मेइजीले स्थापना गरेका थिए । यही विभूषणमध्ये मेरिटका आधारमा ‘अर्डर अफ दि राइजिङ सन’ दिइने गर्छ ।
यसअघि तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल र राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जबरालाई पनि जापान सरकारले यही विभूषण प्रदान गरेको थियो ।
जापानले कूटनीति, अनुसन्धान र शिक्षा, औषधोपचार तथा समाज कल्याण, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुऱ्याउने व्यक्तिलाई उक्त विभूषणबाट सम्मानित गर्दै आएको छ ।
यस पटक जापान सरकारले 'दि अर्डर अफ दि सेक्रिड ट्रेजर, गोल्ड एन्ड सिल्भर रेज' अवार्डबाट काठमाडौंस्थित जापानी दूतावासकी पूर्वकर्मचारी रमासुन्दरी जोशीलाई समेत सम्मानित गर्दैछ । जापानी विदेश मन्त्रालयका अनुसार विदेशस्थित जापानी गतिविधिमा योगदान पुर्याएबापत उनलाई सम्मानित गर्न लागिएको हो ।
