कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासमा पेसी रहेको उक्त मुद्दा मल्लले हेर्न नमिल्ने भएपछि स्थगित हुँदै सुनुवाइ सरेको हो ।
काठमाडौं — व्यवसायी शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको मुद्दा बिहीबार पनि हेर्न 'नमिल्ने हुँदै' स्थगित भएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासमा पेसी रहेको उक्त मुद्दा मल्लले हेर्न नमिल्ने भएपछि स्थगित हुँदै सुनुवाइ सरेको हो ।
गोल्छाकी श्रीमती सीमा गोल्छाले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । बुधबार पनि सर्वोच्च अदालतमा सुनुवाइको पेसी तोकिएको थियो तर 'हेर्न नभ्याउने' हुँदै सरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आज हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको र शुक्रबार नयाँ इजलासमा पेसी तोकिने बताए ।
यसअघि सर्वोच्चले २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश गरेको थियो । सर्वोच्चको आदेशअनुसार अदालतमा उपस्थित गराए पनि सुनुवाइ सर्दै आएकोले गोल्छा थुनामै रहेका छन् ।
गोल्छालाई प्रहरीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा १० बैशाखमा पक्राउ गरेको थियो ।
