असोज २०८१ मा आएको बाढीले बीपी राजमर्ग बगाएपछि पूर्वलाई राजधानी काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्ग पुष्पलाल (मध्यपहाडी) बनीरहेको छ ।
What you should know
(काठमाडौं) र (दोलखा) — १४ चैत यता सामान्य पानी पर्नसाथ बीपी राजमार्ग पटक–पटक अबरुद्ध हुँदै आएको छ । यस खण्डमा पर्ने ८ किलोमिटर सडक खोलो तर्काएर बनाइएको छ । जसले गर्दा रोशी खोलामा बाढी आउनसाथ अस्थायी रुपमा बनाइएको डाइभर्सन बगाइदिँदा यातायात ठप्प हुन्छ । यस खण्डमा पर्ने चौकीडाँडादेखि बर्खे खोलासम्म नै बाढीले क्षति गरेको छ । बढी समस्या कटुन्जेबेंसी, चारसय बेंसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, पिप्ले पर्छ ।
अस्थायी रुपमा खोलामा बनाएको डाइभर्सन बाढीले बगाएपछि सडक बन्द हुने र खोल्ने काम भइरहेको केही समययता हुँदै आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘जहाँ–जहाँ बाढीले सडक बगाएको थियो, त्यही ठाउँको माथील्लो खण्डमा सडक बनाउने काम भइरहेको छ,’ उनले भने, ‘यो संरचना नबन्दासम्म खोलामा डाईभर्सन बनाएर सवारी साधन चलाउँदा बाढीकाकारण समस्या भएको हो ।’ बर्खामा सडकबाटै सवारी साधन चलाउनेगरी काम भइरहेको उनको भनाई छ ।
बाढीले अस्थायी डाइभर्सन बगाएपछि पुनः बनाएर सञ्चालनमा ल्याउने काम त्यही खण्डमा सडक निर्माणको ठेक्का लिने कम्पनीले गरीरहेको र यसमा थप राज्यको आर्थिक भार नपर्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनायो । त्यसो भए बीपी राजमार्ग बाढीले बगाउँदा विकल्प के त ? प्रमुख सुमन योगेश यसको सहज जवाफ दिन्छन्-पुष्पलाल (मध्यपहाडी) राजमार्ग ।
असोज २०८१ मा आएको बाढीले बीपी राजमर्ग बगाएपछि पूर्वलाई राजधानी काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्ग पुष्पलाल (मध्यपहाडी) बनीरहेको छ । रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र पूर्वी तराइ जाने सवारी साधनले उक्त राजमार्ग अवरुद्ध हुनसाथ पुष्पलाल मार्ग प्रयोग गर्दै आएका छन् । बाढीले बीपी राजमार्ग बगाएपछि राजधानी आवतजावतमा सहजता ल्याउन यो मार्ग सञ्चालनमा आएको हो । अत्यावश्यक, बिरामी बोकेका एम्बुलेन्स र यात्रुवाहक बसहरुले विकल्पका रुपमा यो मार्ग प्रयोग गर्दै आएका छन् । मालबहाक सवारीसाधन पनि प्राय: यहीमार्ग भएर गुड्ने गरेका छन् ।
१२ असोज २०८१ को बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत केन्द्रको विद्युत गृह नजिकै पुष्पलाल मार्गको ४ सय मिटर सडक तामाकोसी नदीले कटानगरेपछि नयाँ ट्रयाक खनिएको छ । सडक पुरानै अवस्थामा फर्काउन बाढी र पहिरोले क्षति गरेको १.२ किलोमिटरमा सडक डिभिजन कार्यालय सिन्धुलीले १९ करोडमा ठेक्का लगाएको छ । कामको गति भने सुस्त छ । जसले गर्दा अहिले खिम्ती जलविद्युत केन्द्रको कार्यालय रहेको क्षेत्रकै खण्ड सडक बनिरहेको छ । बर्खा अघिसम्म खिम्ती विद्युत केन्द्रको सडक तामाकोसी नदीलाई डाइभर्ट गरेर पनि निर्माणको काम सक्ने सडक डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी सुर्दशन उप्रेतीले बताए ।
बीपीको विकल्पमा रहेको पुष्पलाल मार्गलाई अवरुद्ध हुन नदिने गरी काम भइरहेको छ।खिम्ती खण्डमा बर्खा अघि नै तटबन्धसहितको सडक निर्माण हुन्छ। अन्य स्थानमा निर्माण कम्पनीलाई अवरुद्ध हुन नदिने र भइहाले तत्काल खुलाउने गरी मेसिनको व्यवस्था गर्न भनेका छौं ।-सुर्दशन उप्रेती, सडक डिभिजन कार्यालय, सिन्धुली‘बीपीको विकल्पमा रहेको पुष्पलाल मार्गलाई अवरुद्ध हुन नदिने गरी काम भइरहेको छ,’ उनले भने, ‘खिम्ती खण्डमा बर्खा अघि नै तटबन्धसहितको सडक निर्माण हुन्छ। अन्य स्थानमा निर्माण कम्पनीलाई अवरुद्ध हुन नदिने र भइहाले तत्काल खुलाउने गरी मेसिनको व्यवस्था गर्न भनेका छौं ।’ खुर्कोटबाट १७ किलोमिटरमा रामेछापको मन्थली पुगिन्छ । मन्थलीबाट ३५ किलोमिटरमा तामाकोसी पुगिन्छ । तामाकोसीबाट १७ किलोमिटरमा दोलखाको चरिकोट पुगिन्छ । चरिकोटबाट ५५ किलोमिटर दूरी छिचोलेपछि सिन्धुपाल्चोकको खाडीचौरस्थित अरनिको राजमार्ग भेटिन्छ । त्यहाँबाट ७८ किलोमिटर पार गरेपछि काठमाडौं आइपुगिन्छ ।
खुर्कोटबाट तामाकोसी र तामाकोसीबाट काठमाडौंसम्म दुई लेन कालोपत्र सडक छ । यो मार्ग हुँदै र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पारगरेपछि मन्थली निस्कने वैकल्पिक सडक खुला गरिएको छ । लामो यात्रा गर्नु परे विकल्पका रुपमा यो सडक प्रयोग हुँदै आएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
मन्थलीबाट सिधै पुष्पलाल मार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट काठमाडौं जोडिन्छ । ‘बाढीले क्षति गरेका स्थानमा सडक मर्मतका लागि १३ करोडमा ठेक्का लागेको छ, काम सन्तोषजनक छ,’ उनले भने । तामाकोसी–मन्थली सडक खण्डको कालीदहमा सामान्य समस्या भएकाले त्यसको पनि बिस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार भइसकेको उनले बताए । बीपी राजमार्ग खुल्नुअघि त्यस भेगका स्थानीयले यही सडकबाट यात्रा गर्थे ।
खुर्कोटको पुलमा बाढीले क्षति गरेपछि विकल्पमा खुर्कोटबाट रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुलभएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पार गरेपछि मन्थली निस्कने वैकल्पिक सडक पनि छ । पुष्पलाल मार्ग प्रयोग गर्दा चालकले डबल लेन भएका कारण गतिमा ध्यान दिनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।
असारदेखि गाडी गुड्ने
बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको थियो । क्षतिग्रस्त राजमार्गको ३.२ किमिबाहेक २७.३ किमि खण्डको ठेक्का भई काम भइरहेको छ। काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरीएको हो । अहिले दुई लेनमा सडक निर्माण भइरहेको छ । राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन्। चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो। दुवै ठेक्काको सम्झौता असार २०८२ मा भएको हो।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग कात्तिक २०८२ मा सम्झौता भएको हो। यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ। जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ। जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्डमा सडक निर्माण हुन लागेको हो।
अहिलेसम्म काम हुन सकेको छैन । यस खण्डमा पनि सडक डिभिजन भक्तपुरले बर्खामा समस्या हुन नदिनेगरी काम गरिरहेको छ । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ। उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो। यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ छ। सबै खण्डको काम सम्झौता भएका मितिले दुई वर्षभित्र सक्नुपर्ने छ ।
१ असार गतेबाट अहिले बनीरहेको सडकबाटै सवारी साधन चलाउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘बर्खामा खोलाबाट सवारी साधन चलाउन पर्ने छैन,’ उनले भने, ‘२५ किमि दूरी मध्ये अहिले खोलामा करिब ८ किमि डाईभर्सन बनाएर सवारी साधन चलाइएको छ ।’ यो राजमार्ग भएर दैनिक ४ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन्।
पछिल्लो समय पानी पर्नसाथ बीपी राजमार्ग अबरुद्ध भएर सवारी आवागमन प्रभावित हुन थालेपछि प्रतिनिधी सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले बुधबार बाढीले समस्या गरेको सडकको स्थलगत अनुगमन गरेर फर्किएको छ । ‘बर्खामा सडकबाट सवारी साधन चलाउने गरी काम भइरहेको रैछ,कालोपत्र सडक बर्खा अघि नबन्ने भएकाले बनीरहेको खण्डमा यात्रा त्यति सहज हुँदैन,तर बर्खामा सवारी आवागमन नरोकिने देखियो,’ उनले भने, ‘काम राम्रोसंग भइरहेको र निर्माणस्थलमा मेशिनहरु प्रयाप्त रुपमै प्रयोग गरेको पाइयो ।’
बर्खा नजिएकाले बीपी राजमार्गको डाइभर्सन बाढीले बगायो भन्ने बहानामा यातायात अबरुद्ध हुन नहुने र यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण ठेक्का लिने निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयहरुले बनाउनुपर्ने उनले बताए । निर्माण सामग्रीको मूल्य बृद्धिकाकारण काम गर्न समस्या भएको भन्दै सरकारले मूल्य समायोजन गरिदिनुपर्ने कुरा निर्माण व्यवसायीबाट आएको पनि उनले सुनाए ।
