सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

विदेशी विनिमय अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र उनकी पत्नी बस्नेतविरुद्ध बुधबार राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

वैशाख १६, २०८३

मातृका दाहाल

Money laundering case of Rs 685 million against former executive director of Security Printing Center Poudel and his wife Basnet

काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र पत्नी एलिना बस्नेतविरुद्ध साढे ६८ करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । 

विदेशी विनिमय अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र उनकी पत्नी बस्नेतविरुद्ध बुधबार राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विदेशी विनिमय अपचलन गरी ६८ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको र सोही रकमबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले पौडेल दम्पतीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनलाई नेपालमा सार्वजनिक खरिदबाट आर्जित सम्पत्ति विदेशमा लगेर पार्किङ गरी उतै विदेशी मुद्रामा खाता खोली विभिन्न देशमा रकम लगी शुद्धीकरण गराएको अभियोग छ । यसरी शुद्धीकरण गरेको कालो धन अमेरिका, दुबइ, सिंगापुरलगायत देशमा पुर्‍याएको विभिन्न निकायहरुबाट भएका अनुसन्धानबाट खुलेको थियो ।

विभागका अनुसार साविक कटुवाचौपारी–४ पर्वत स्थायी ठेगाना भई हाल बुढानीलकण्ठ नगरपालिका-९, काठमाडौंका पौडेल र उनकी श्रीमती बस्नेतले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको र त्यसलाई शुद्धीकरण गरेको कसुरमा प्रतिवादी बनाइएको हो । प्रतिवादी पौडेल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा छन् । उनकी पत्नी बस्नेत अमेरिकामा छिन् ।

पौडेल दम्पतीबिरुद्ध ६८ करोड ६५ लाख ११ हजार बिगो कायम गरी कैद र जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफत मागदावी लिइएको छ । विभागले बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम १४ असोज २०८१ मा पनि मुद्दा दायर भएको थियो ।

विभागले दुवै जनालाई छुट्टाछुट्टै बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

विकलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १५३ र बस्नेतविरुद्ध ७ करोड ५१ लाख ४४ हजार ५१ रुपैयाँ बिगो कायम गरिएको छ । विभागले सम्पती शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय हुन मागदाबी गरेको छ । साथै, दफा ३४ को उपदफा (१) र (२) बमोजिम कसुर गरी आर्जित सम्पती जफतको समेत मागदावी छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully