विकल पौडेलले भ्रष्टाचार गरेर अमेरिका पुर्‍याएको रकम फिर्ता ल्याउन पहल

नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली गैरकानुनी कारोबार गरेको कसुरमा राजस्व अनुसन्धान विभागले पनि पौडेल र पत्नी एलिनाविरुद्ध दायर गरेको करिब २ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

चैत्र ४, २०८२

मातृका दाहाल

Bikal Poudel takes initiative to bring back the money he smuggled into the US through corruption

काठमाडौँ — भ्रष्टाचारमा दोषी ठहर भई जेलमा रहेका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलका नाममा अमेरिकी बैंकमा रहेको करिब ३ लाख डलर नेपाल सरकारलाई फिर्ता गर्न अमेरिका तयार देखिएको छ । नेपाल सरकारले आवश्यक प्रक्रिया पुर्‍याए पौडेलका नाममा रहेको रकम फिर्ता गर्ने जानकारी अमेरिकाले कानुन मन्त्रालयलाई दिएको हो । 

बैंक अफ अमेरिकामा पौडेलले पत्नी एलिना बस्नेतका नाममा घर किन्नुका साथै उनकै नाउँमा तीन लाख डलर पनि जम्मा गरेको भेटिएको थियो । सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) को कार्यकारी निर्देशकलगायत भूमिकामा रहँदा सार्वजनिक खरिदमा भ्रष्टाचार गरी आर्जित कालोधन पौडेलले सिंगापुर र दुबई हुँदै अमेरिका पुर्‍याएको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको थियो । यसरी आर्जित कालोधन सिंगापुर र द्बुईका बैंकबाट अमेरिका ‘ट्रान्सफर’ गरिएको थियो ।

अमेरिकाको सकारात्मक सन्देशपछि द्विपक्षीय कानुनी सहायतासम्बन्धी सम्झौता वा अरू कूटनीतिक पहलमार्फत रकम ल्याउन प्रयास भइरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । ‘पौडेल र उनका पारिवारिक सदस्यका नाउँमा सिंगापुर र अमेरिकी बैंकमा खाता खोली डलर जम्मा गरेको पुष्टि भइसकेकाले त्यसलाई फिर्ता गर्न पहल भइरहेको छ,’ उनले कान्तिपुरसँग भने । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा १० माघ २०८० मा पौडेललाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा कानुन मन्त्रालयले चैत २०८० मा परराष्ट्र मन्त्रालयमार्फत अमेरिकासँग उनको आवश्यक विवरण मागेको थियो । त्यसपछि उनको घर र बैंकमा मौज्दात लगायतका विवरण रहेको जानकारी अमेरिकाले गराएको थियो । नेपालमा सार्वजनिक ओहदामा रहेकै बेला पौडेलले अमेरिकी स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएको पुष्टि भइसकेको छ । अख्तियारले अभियोजन गरेका सार्वजनिक खरिदमा भ्रष्टाचार, गैरकानुनी रूपमा पीआर लिएको लगायत आधा दर्जन मुद्दामा पौडेल विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । पौडेल हाल डिल्लीबजार कारागारमा सजाय भुक्तानरत छन् । 

नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली गैरकानुनी कारोबार गरेको कसुरमा राजस्व अनुसन्धान विभागले पनि पौडेल र पत्नी एलिनाविरुद्ध दायर गरेको करिब २ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको मुद्दा विशेष अदालतमा विचाराधीन छ । 

अख्तियारले भ्रष्टाचार मुद्दाको अनुसन्धानकै क्रममा १० माघ २०८० मा विकल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई पक्राउ गरेपछि दुवै जनाविरुद्ध एकसाथ सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, विदेशी विनियम, घूसलगायत प्रकरणमा अनुसन्धान अघि बढेको थियो । अनुसन्धानका क्रममा विकल र सुनील दुवै जनाले नेपालमा सार्वजनिक खरिदबाट आर्जित भ्रष्टाचारको रकम सिंगापुरमा बुझेर उतै पार्किङ गर्ने गरेको पुष्टि भएको थियो ।

विकलकी पत्नी एलिना अमेरिकी पीआरधारी हुन् । विकलले पनि ६ जनवरी २०२१ मा अमेरिकाको पीआर लिएको खुलेको थियो । त्यसको साढे ७ महिनापछि सेप्टेम्बर २०२१ मा न्युयोर्कमा घर किनेको खुलेको थियो । कांग्रेस, एमाले र माओवादी नेतृत्वका तत्कालीन सरकारलाई हातमा लिएर विकल र नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनीलले राष्ट्रिय सूचना प्रविधि केन्द्र, पेमेन्ट गेटवे, टेलिकम, सुरक्षण मुद्रण केन्द्रलगायत संस्थामा रजगज गरेका थिए । 

विकल पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला २०७३ मा सुरक्षण मुद्रणको कार्यकारी निर्देशक बनेका थिए । केपी शर्मा ओली सरकारका पाला पनि रजगज गरेका उनी २०७८ मा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए ।

पौडेलद्वयले कमिसन विदेशमा बुझेर उतै घूस ‘पार्किङ’ गरेको अनुसन्धानमा पाइएको थियो । विकल र सुनीलले सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी) मा खाता खोली करिब ३ लाख अमेरिकी डलर बराबरको अवैध सम्पत्ति जम्मा गरेको तथ्य बाहिरिएको थियो ।

पौडेलद्वयले सन् २०२० देखि २०२२ (वि.सं. २०७६–०७८) सम्म सिंगापुरको बैंकमा खाता खोलेका थिए । त्यसबेला सुनीलका नाममा २ लाख ८ हजार अमेरिकी डलर र १० हजार सिंगापुर डलर तथा विकलका नाममा सोही बैंकमा ७४ हजार ९ सय ९५ अमेरिकी डलर र १० हजार सिंगापुर डलर भेटिएको थियो । सुरक्षण मुद्रणको कार्यकारी निर्देशक रहेकै बखत विकलसहित ९ जनाविरुद्ध ३ वैशाख २०८० मा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यसको अनुसन्धानका क्रममा उनी पक्राउ परेका थिए ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully