अहिले गमगढीबाट मुगु कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माणको काम पूरा भएको हो ।
What you should know
जुम्ला — कर्णाली प्रदेशको मुगु हुँदै उत्तरी नाका नाक्चेलाग्ना जोड्ने सडक १० वर्षमा १८ किलोमिटर मात्र निर्माण भएको छ । २०६२/०६३ देखि सर्भे सुरु भएको यो सडक २०७२/०७३ देखि मात्र निर्माणको काम सुरु भएको थियो । पछिल्लो १० वर्षमा साढे १८ किलोमिटर मात्रै सडक बनेको हो ।
भौगोलिक विकट्ताले गर्दा द्रूत गतिमा निर्माणको काम अघि बढ्न सकेको छैन । गमगढी नाक्चे लाग्ना सडक ९३ किलोमिटर दूरीको छ । यो आर्थिक वर्षको अन्तिमसम्म ६ किलोमिटर सडक बन्ने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । यो सडकलाई सरकारले प्राथमिकतामा नपारेका पनि काममा ढिलाइ भएको हो ।
कर्णाली प्रदेशको जीवनसँग जोडिएको यो सडक संघीय सरकारको उपेक्षामा परेको कर्णालीबासीको दुखेसो छ । गत आर्थिक वर्षमा २०७८/७९ चार करोड ९३ लाख सडक निर्माणमा खर्च भएको थियो । २०७९/८० मा चार करोड ४० लाख खर्च भएको छ । अहिले गमगढीबाट मुगु कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माणको काम पूरा भएको हो ।
अहिले २२० मिटर कडा चट्टान फोड्न ब्लाष्टिङ सुरु भएको छ । कडा चट्टानी माङ्ग्री भिर खन्न कठिन भएकोले नेपाली सेनाको समन्वयमा ब्लाष्टिङ सुरु भएको हो । भौगोलिक अवस्था, जोखिमपूर्ण भीर र सीमित स्रोत–साधनका बीच पनि सडक खन्ने काम भइरहेको छ । चट्टान छिचोल्न ब्लाष्टिङ सुरु गरेसँगै आयोजनाले गति लिने आशा पलाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
अहिले संघीय सरकारले १५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको सडक डिभिजन जुम्लाका प्रमुख इन्जिनियर श्रवणकुमार महताराले बताए । उनले भने, ‘हालसम्म साढे १८ किलोमिटर सडक खुलेको छ । चालु आवमा २२० मिटर कडा चट्टान छिचोल्न ब्लाष्टिङ सुरु भएको छ । अब सडक निर्माणको कामले गति लिने देखिएको छ ।’
अब साढे २४ किलोमिटर सडक ट्रयाक खोलेर ग्राभेलसमेत गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘सीमित स्रोत र कठिन भूगोलका कारण सुस्त गतिमा निर्माणको काम अघि बढेको,’ कार्यालय प्रमुख महताराले भने, ‘अब सकेजति तीव्र गतिमा निर्माण गर्ने योजनामा बनाइरहेका छौं ।’
चट्टान ब्लाष्टिङ गर्ने, ग्राभेलको काम गर्ने गरी गमगढी–नाक्चेलाग्ना सडक निर्माण गर्न जागृति–रारा तेन्जिन–नोर्याङ जेभीले ठेक्का पाएको छ । ब्लाष्टिङ गर्ने कार्य प्राविधिक जनशक्ति, निर्माण व्यवसायी तथा श्रमिकहरूको जोखिमका बीच काम अघि बढेको छ ।
गमगडी–नाक्चेलाग्ना सडक निर्माण भएको खण्डमा उत्तरी छिमेकी देश चीन र कर्णाली प्रदेशको व्यापारिक गतिविधि सहज हुने छ । जसले कर्णालीको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । निवर्तमान भौतिक पूर्वाधारमन्त्री माधव चौलागाईँले न्यून राज्यस्रोतको वितरणका कारण यो सडक सुस्ताएको बताए । उनले भने, ‘पूर्वाधार निर्माण वास्तवमा अवस्था परिवर्तन गर्ने आन्दोलन हो । कर्णालीले भूगोलको आकार झैं बजेटको आकारमा पनि न्यायोचित लगानी पायो भने कर्णालीका पहाडहरु दुर्गम रहने छैनन् ।’
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले कर्णालीको विकासको लागि गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने सडक राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए । उनले भने, ‘कर्णालीको समग्र विकास यही मार्गबाट मात्रै सम्भव छ । यसका लागि केन्द्रीय सरकार र प्रदेश सरकार तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ ।’
