रूपन्देहीको सियारी गाउँपालिका-२ का मृतक बेलर कहारको नाममा कायम उक्त जग्गा फर्जी कागजात खडा गरी नक्कली भाइका नाममा नामसारी गरिएको आरोपमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख कुमार आचार्यसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।
काठमाडौँ — मृतकका नाममा कायम २ बिघा ५ धुर जग्गा किर्ते कागजात बनाएर हिनामिना गरेको आरोपमा मालपोत प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
रूपन्देहीको सियारी गाउँपालिका-२ का मृतक बेलर कहारको नाममा कायम उक्त जग्गा फर्जी कागजात खडा गरी नक्कली भाइका नाममा नामसारी गरिएको आरोपमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख कुमार आचार्यसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।
कहारको मृत्युपछि उनको नाममा दर्ता कायम रहेको जग्गा नजिकका हकवाला छोरी सन्जु कहारको नाममा जानुपर्नेमा बदनियतपूर्वक बुद्धिराम कहारको नाममा सारिएको थियो। किर्ते कागजात बनाएर मालपोतका कर्मचारीको समेत मिलेमतोमा बुद्धिराम कहारलाई भाइ कायम गरी जग्गा नामसारी गराइएको उजुरीपछि अख्तियारले अनुसन्धान गरेको थियो।
उजुरीमाथि अनुसन्धान हुँदा मालपोत कर्मचारी, जनप्रतिनिधि र बुद्धिराम कहारसमेतको मिलेमतोमा फर्जी कागजात तयार गरी जग्गा हडपिएको पुष्टि भएपछि ७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
अख्तियारका अनुसार सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष रामकिशन थारू र तत्कालीन वडा सदस्य वृजनारायण यादवले बुद्धिराम कहारलाई बेलर कहारको भाइ हो भनी नाता प्रमाणित, सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित र सिफारिसलगायतका कागजात तयार गरिदिएका थिए।
सोही फर्जी कागजातका आधारमा मालपोत कार्यालय, रूपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजितकुमार साहनीले सरकारी अभिलेखमा झुट्टा विवरण थपघट गरी निर्णय गराएको अभियोग लगाइएको छ। मालपोतले गलत श्रेस्ता/पूर्जा समेत जारी गरी बुद्धिराम कहारको नाममा जग्गा दर्ता गराएको आरोप पनि लगाइएको छ।
जिल्ला अदालत रूपन्देहीले सियारी गाउँपालिका वडा नं. २ को कार्यालयबाट बुद्धिराम कहार स्व. बेलर कहारका भाइ हुन् भनी तयार गरिएका नाता प्रमाणित, सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित र सिफारिसलगायतका सबै कागजात फर्जी रहेको ठहर गर्दै यसअघि नै बदर हुने फैसला गरिसकेको छ।
आयोगका अनुसार प्रतिवादीहरूले मृतक कहारकी हकवाला छोरी सन्जु कहारको हक मेटाउने बदनियतले योजनाबद्ध रूपमा फर्जी कागजात तयार गरी सरकारी सम्पत्तिको दुरुपयोग गरेका छन्। उनीहरूविरुद्ध किर्ते कागजात बनाएको अभियोगमा कैद र जरिवानाको मागदाबी गरिएको छ।
