काठमाडौं विमानस्थलका एटीसी प्रमुख देवेन्द्र श्रेष्ठका अनुसार पाइलटहरूले काठमाडौं प्रवेश गर्ने रुटमा खराब मौसम रहेको जानकारी दिएका छन ।
काठमाडौं — काठमाडौं उपत्यकाको भिजिबिलिटी करिब ५ किलोमिटर रहे पनि काठमाडौं प्रवेश गर्ने हवाई रुटमा खराब मौसमका कारण एक आन्तरिक तथा चार अन्तर्राष्ट्रिय विमान होल्डमा परेका छन् ।
होल्डमा परेका विमानहरूमा भरतपुरबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको एटीआर विमान, दुबईबाट आएको फ्लाई दुबई, मुम्बईबाट आएको इन्डिगो, बैंककबाट आएको थाई लायन एयर तथा दिल्लीबाट आएको एयर इन्डिया रहेका छन् ।
सारजहाबाट आएको एयर अरेबिया भने लामो समय होल्डमा रहेपछि भर्खरै काठमाडौंमा अवतरण गरेको छ । यो समाचार तयार पार्दासम्म इन्डिगो र एयर इन्डिया फ्लाइटहरू पनि अवतरणको तयारीमा रहेको फ्लाइटरडारमा देखिएको छ।
काठमाडौं विमानस्थलका एटीसी प्रमुख देवेन्द्र श्रेष्ठका अनुसार पाइलटहरूले काठमाडौं प्रवेश गर्ने रुटमा खराब मौसम रहेको जानकारी दिएका थिए।
विमानहरू सिमरा क्षेत्रको आकाशमा करिब ११ हजार ५०० देखि १७ हजार ००० फिट उचाइबीच सेपरेसन कायम गर्दै होल्डमा रहेका छन् ।
यसैबीच नयाँ दिल्लीबाट आएको एयर इन्डियाको विमान काठमाडौंमा अवतरण गर्न नसकेर सिमरातर्फ फर्केको छ । भरतपुरबाट आएर सिमरामा होल्डमा रहेको बुद्ध एयरको एटीआर विमान जनकपुर डाइर्भट भएको छ ।
