छापिए १२ लाख लाइसेन्स, थप १७ लाख छापिँदै

दोस्रो चरणमा ४ वैशाखमा सम्झौता भए अनुसार थप १७ लाख लाइसेन्स छाप्ने तयारीमा सुरक्षण मुद्रण केन्द्र जुटेको छ ।

वैशाख १६, २०८३

विमल खतिवडा

1.2 million licenses printed, another 1.7 million being printed

What you should know

काठमाडौँ — ट्रायल पास भएका र नवीकरणका लागि राजस्व बुझाएको पुरानो मितिका २९ लाख मध्ये १२ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने काम सकिएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिकमा भएको सम्झौता अनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको हो । दोस्रो चरणमा ४ वैशाखमा सम्झौता भए अनुसार थप १७ लाख लाइसेन्स छाप्ने तयारीमा सुरक्षण मुद्रण केन्द्र जुटेको छ ।

यसकालागि अहिले सुरक्षण मुद्रण केन्द्र स्रोत साधन जुटाउन व्यस्त छ । दैनिक ४० हजार लाइसेन्स छापिने भएकाले असार मसान्तसम्म पुरानो सबै छापिसकिने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । सार्वजनिक विदाको दिन पनि लाइसेन्स छपाइको काम हुने भएकाले सक्नलाई समस्या नहुने केन्द्रको भनाई छ । केन्द्रका अनुसार ३७ हजार ६ सय ९८ आपतकालीन र ट्रायल पास गरी दैनिक राजश्व बुझाएका ३१ हजार २ सय २७ लाइसेन्स छापि सकेको छ ।

‘एकै पटक विभागबाट दुई लाख डेटा आयो भने एकसाथ त्यसको छपाई थाल्छौं,’ केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले भने, ‘अहिले दैनिक आपतकालीन र एकैदिनमा राजश्व बुझाउने सेवाग्राहीको लाइसेन्स छाप्ने काम नियमित रुपमा भइरहेको छ ।’ दोस्रो चरणको लाइसेन्स असार मसान्त अघि नै छापिसकिने उनको दाबी छ । नयाँ लाइसेन्स छपाइका लागि औसतमा दैनिक ४ हजारको संख्यामा डेटा आउने गरेको छ ।

यो देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट आउने संख्या हो । यातायात व्यवस्था विभागले दिनभर सबै यातायात व्यवस्था कार्यालयहरुमा ट्रायल पास गरेर राजश्व बुझाएपछि सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन साँझ ६ बजेभित्र केन्द्रलाई डेटा पठाउने गरेको छ । ‘नयाँ लाइसेन्सको डेटा पाएको चौबीस घण्टा भित्र छाप्ने काम सक्छौं,’ कार्यकारी निर्देशक ढुंगानाले भने, ‘त्यसपछि विभागमा पठाउने गरेका छौं ।’

अहिलेको लाइसेन्स थप फिचरसहित छापिरहेको छ । यसअघि सेवाग्राहीले पाउँदै आएको लाइसेन्समा जम्मा १८ थरी फिचर थिए । तर अहिले सेवाग्राहीले पाउने लाइसेन्समा ३९ फिचर छन् । तिनमा इन्टेलिजेन्ट क्यूआर, रिडेबल जोन, साधारण आाखाले देखिने, उपकरणको सहायताले देखिने, ल्याबबाट मात्र देखिनेलगायत फिचर थपिएको सुरक्षण मुद्रण केन्द्रले बताएको छ ।

1.2 million licenses printed, another 1.7 million being printedछापिएर आउने लाइसेन्सको अघिल्लो भाग र पछाडि गरी दुई क्यूआर राखिएको छ, जसमा अघिल्लो भागको क्यूआर केन्द्र र पछाडिको सेवाग्राही तथा ट्राफिक प्रहरीले स्क्यान गरेर हेर्न सक्नेछन् । यसअघिको लाइसेन्समा भने चिप थियो । छापिएर आएको लाइसेन्स हुलाक सेवा विभाग मार्फत सम्बन्धित यातायात कार्यालयहरुमा पठाउने काम भइरहेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए । 

‘दोस्रो लटको लाइसेन्स छपाईकालागि डेटा पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यसको छपाई पनि छिटै हुने र छापेर आएको लाइसेन्सलाई हुलाकबाटै सम्बन्धित कार्यालयहरुमा पठाउँछौं ।’ अहिले सबैभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरको छ । यस कार्यालय अन्तर्गत पुरानो लाइसेन्स छपाई गर्न मात्र करिब ९ लाख रहेको निर्देशक खतिवडाको भनाई छ ।

‘पहिलो लटमा १२ लाख लाइसेन्स छपाई गर्न सम्झौता भएको थियो, एकान्तकुनामा संख्या धेरै भएकाले यही कार्यालयको मात्र डेटा पठाउँदा अन्य कार्यालयको छाप्न समस्या हुने देखियो,’ उनले भने, ‘दोस्रो लटमा यस कार्यालयको डेटा पहिलो प्राथमिकतामा राखेर पठाउँछौ ।’ 

नागरिक एपमा ड्राइभिङ लाइसेन्स देखाउने, कुन कार्यालयबाट नयाँ लाइसेन्सकालागि ट्रायल पास र नवीकरणकालागि दिइएको हो। त्यो छापिए/नछापिएको जानकारी त्यही एपमा आउने गरेको उनको भनाई छ । ‘अनलाइनबाट लाइसेन्स नवीकरणका लागि राजश्व तिर्ने व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ,’ उनले भने, ‘यसकालागि सेवाग्राहीले अहिले लाइन लाग्नुपर्ने बाध्यता छ, अनलाईनबाटै भुक्तानी गर्ने व्यवस्था गर्दै भएपछि यी समस्या हट्दै जाने छ ।’ 

1.2 million licenses printed, another 1.7 million being printedसुरक्षण मुद्रण केन्द्रका अनुसार १ साउनबाट सेवाग्राहीले नयाँ र नवीकरणका लागि राजस्व तिरेको रसिद बोकेर हिंड्न पर्ने छैन । त्यसो त सेवाग्राही सन् २०२२ देखि नवीकरण, नयाँ लाइसेन्सका लागि राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन्।

वालेन्द्र शाह प्रधानमन्त्री भएपछि १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र लाइसेन्स छापेर हुलाकमार्फत् घरघर पुर्‍याउने उल्लेख गरेको छ। त्यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने उल्लेख छ। अहिले त्यहीअनुसार नै काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully