यसअघि दिने गरिएको सवारी चालक अनुमतिपत्रमा १८ फिचर थिए, इन्टेलिजेन्ट क्यूआर, रिडेबल जोनलगायत फिचर थपिए ।
What you should know
काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थप फिचरसहित छापिन थालेको छ । यसअघि सेवाग्राहीले पाउँदै आएको लाइसेन्समा जम्मा १८ थरी फिचर थिए । तर अहिले सेवाग्राहीले पाउने लाइसेन्समा ३९ फिचर छन् । तिनमा इन्टेलिजेन्ट क्यूआर, रिडेबल जोन, साधारण आँखाले देखिने, उपकरणको सहायताले देखिने, ल्याबबाट मात्र देखिनेलगायत फिचर थपिएको सुरक्षण मुद्रण केन्द्रले बताएको छ ।
छापिएर आउने लाइसेन्सको अघिल्लो भाग र पछाडि गरी दुई क्यूआर राखिएको छ, जसमा अघिल्लो भागको क्यूआर केन्द्र र पछाडिको सेवाग्राही तथा ट्राफिक प्रहरीले स्क्यान गरेर हेर्न सक्नेछन् । अहिले छापिएको लाइसेन्स सुरक्षाका दृष्टिले बलियो रहेको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाको दाबी छ । ‘यसअघिको लाइसेन्समा चिप थियो, अहिले हामीले राखेको क्यूआर मात्र होइन, इन्टेलिजेन्ट क्यूआर हो,’ उनले भने, ‘यसमा पाँच तहका लेयर छन् ।’ लाइसेन्समा रहेको डिटेल क्यूआर ट्राफिक प्रहरी र सेवाग्राहीले हेर्न मिल्ने छुट्टाछुट्टै हुनेछ । त्यसका लागि ट्राफिकलाई त्यहीअनुसारको ‘कोड’ दिइनेछ ।
‘लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीलाई छुट्टै ‘की’ दिइएको हुन्छ, त्यसलाई आफ्नो प्रणालीमा ट्राफिक प्रहरीले इन्स्टल गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि यातायात व्यवस्था विभागले राखेअनुसारको सेवाग्राहीको विवरण उपलब्घ हुन्छ ।’ सेवाग्राहीले क्यूआर गर्दा आफ्नो सामान्य विवरण मात्र हेर्न पाउनेछन् ।
‘यातायात व्यवस्था विभागको आधिकारिक व्यक्तिले प्रणालीसँग पाउने पहुँच फरक छ,’ ढुंगानाले भने । डेटा जति स्टोर गर्नुपर्ने हो, त्यो यातायात व्यवस्था विभागको रिक्वायरमेन्ट अनुसार इन्टेलिजेन्ट क्यूआरमा रेकर्ड हुने केन्द्रले जनाएको छ । ‘चिप राख्ने काम आफैंमा फरक प्रविधि हो, क्यूआर अर्को प्रविधि हो,’ उनले भने, ‘अहिले हामीले जुन प्रविधि अपनाइरहेका छौं, विकसित देशले पनि त्यही प्रविधि प्रयोग गरेका छन् ।’
अहिले फिचर थपेर नयाँ लाइसेन्स छपाइ गर्ने काम मुद्रण केन्द्रकै क्षेत्राधिकारभित्र पर्ने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए । ‘हामीले छपाइ गर्ने लाइसेन्सको डेटा मात्र उपलब्ध गराउने हो,’ उनले भने, ‘छाप्नेलगायतका काम सबै केन्द्रकै अधिकारभित्र पर्छ ।’
पहिला चिप भएकाले त्यसलाई रिड गर्न छुट्टै डिभाइस चाहिने भएकाले ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको खतिवडाको भनाइ छ । ‘अहिले क्यूआरको व्यवस्था गरिएको छ, हाम्रो स्मार्ट मोबाइलबाट पनि हेर्न मिल्ने भयो,’ उनले भने ।
१ साउनबाट सेवाग्राहीले राजस्व तिरेको रसिद बोकेर हिँड्न नपर्ने सुरक्षण मुद्रण केन्द्रको दाबी छ । सुरक्षण मुद्रण केन्द्रका अनुसार १ साउनबाट सेवाग्राहीले नयाँ र नवीकरणका लागि राजस्व तिरेको रसिद बोकेर हिँड्न नपर्ने भएको छ । त्यसका लागि पुराना मिति र नयाँ लाइसेन्सका लागि दिनहुँ देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट राजस्व तिरेर आएको डेटाअनुसार छपाइ गर्ने काम भइरहेको केन्द्रका निर्देशक ढुंगानाले बताए । यातायात व्यवस्था कार्यालयबाट राजस्व तिरेका सेवाग्राहीको संख्या औसतमा ३ हजार आउने गरेको छ ।
‘अहिले दिनहुँ ४० हजार लाइसेन्स छापिराखिएको छ, १३ कात्तिकमा विभाग र केन्द्रबीच भएको सम्झौताअनुसार १२ लाख लाइसेन्स १२ वैशाखभित्र छापेर दिइसक्छौं,’ ढुंगानाले भने, ‘बुधबारसम्म ९ लाख छापिसकेका छौं ।’ थप १७ लाख छाप्ने गरी ४ वैशाखमा विभाग र केन्द्रबीच सम्झौता भइसकेको छ । ‘पहिलो लटमा पहिला सम्झौता गरेअनुसारको लाइसेन्स छापिसक्छौं, यसबीचमा विभागमार्फत आउने राजस्व भुक्तानीको डेटाअनुसार पनि छापिरहेका छौं,’ ढुंगानाले भने, ‘१ साउनदेखि कुनै पनि सेवाग्राहीले राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने छैन ।’
सेवाग्राही सन् २०२२ देखि नवीकरण, नयाँ लाइसेन्सका लागि राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । केन्द्रबाट छपाइ भएर आएको लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइराखिएको यातायात व्यवस्था विभागका निर्देशक खतिवडाले बताए । ‘काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयको लाइसेन्सको संख्या धेरै छ,’ उनले भने, ‘ती कार्यालयको पुरानो मितिका लाइसेन्स छापेर पठाउने काम भइरहेको छ, अब सकिने चरणमा छ ।’
वालेन्द्र शाह प्रधानमन्त्री भएपछि १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र लाइसेन्स छापेर हुलाकमार्फत घरघर पुर्याउने उल्लेख गरेको छ । त्यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने उल्लेख छ । अहिले त्यहीअनुसार नै काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
