काठमाडौंका सार्वजनिक बसले तोकिएको भन्दा बढी भाडा लिने, विद्यार्थी छुटमा मनपरी गर्ने र भाडासूची देखाउन पनि आनाकानी गर्ने समस्या दिन प्रतिदिन बढ्दै गएको यात्रुहरूको गुनासो छ ।
What you should know
काठमाडौँ — प्रतिमा सापकोटा काठमाडौंको थानकोट बस्दै आएकी छिन् । उनी स्नातकोत्तर तहमा अध्ययनरत छिन् । हरेक दिन बिहान दुई बस फेरेर बल्खु पुग्छिन् । तर पटकैपिच्छे उनी फरक-फरक भाडा तिर्छिन् । उनले भनिन्,‘थानकोटबाट कलंकीसम्म गएको कुनै बसमा ३० रुपैयाँ लिन्छन्,केहीले ३५ लिन्छन् । कलंकीबाट बल्खुसम्म गएको कुनै बसमा २५ रुपैयाँ त कसैले ३० लिन्छन् ।’
सार्वजनिक यातायातमा मनपरी भाडा अनुगमन हुनुपर्ने उनको भनाइ छ । कतिपय गाडीमा भाडासूची पनि नराखिएको उनले बताइन् ।
फुटुङ बस्दै आएका २२ वर्षीय लक्ष्मण पौडेल सूचना प्रविधिका विद्यार्थी हुन् । हरेक दिन अध्ययनका लागि दुइटा सार्वजनिक यातायात फेरेर कलेज जान्छन् । 'भाडा बढेको केही दिन त कार्डको छुट हुँदैन भनेर केही सहचालकले भने । तर आइडी कार्ड देखाएर विद्यार्थीका लागि छुट त हुनुपर्यो भनेपछि छुट दिन्छन् तर ४५ प्रतिशत नै छुट भने पाइएको छैन,' उनी भन्छन् ।
विद्यार्थीले पाउनुपर्ने छुट सधैं आवश्यक रहने पनि उनको भनाइ छ । कतिपय सहचालकले त खुद्रा पैसा छैन भनेर 'राउन्ड फिगर'मै भाडा लिने गरेको विद्यार्थीको गुनासो छ ।
इन्धनको मूल्य बढेपछि गत वर्ष २७ चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न सहमति दिएपछि यातायात व्यवस्था विभागले लामा तथा मध्यम दूरीका लागि स्वचालित भाडा प्रणाली लागू गरेको हो । त्यसपछि अन्तरप्रदेश भाडादर कायमका लागि सम्बन्धित प्रदेशहरूले भाडासूची सार्वजनिक गरेका थिए । किलोमिटरअनुसार भाडादर तोकिए पनि बढी भाडा असुलिएको सर्वसाधारणको गुनासो छ ।
सरकारले समयमै भाडा समायोजन नगरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जनाएका छन् । साथै, तोकिएकोभन्दा बढी भाडा लिन कसैले नमिल्ने पनि उनको भनाइ छ । ‘तोकिएको भन्दा बढी भाडा कसैले लिन मिल्दैन । यातायात क्षेत्रमा इन्धनको मूल्य बढ्दा भाडा बढ्ने र घट्दा घट्ने स्वचालित प्रणाली प्रभावकारी रूपमा लागू गर्न आवश्यक छ,’ उनले भने ।
सरकारले बढेको इन्धन मूल्यअनुसार भाडा समायोजन गर्न ‘फास्ट ट्रयाक’ बाट काम गर्नुपर्ने सिटौलाको भनाइ छ । ‘डिजेलको मूल्यमा ठूलो वृद्धि भए पनि सरकारले समयमै यातायात भाडा समायोजन नगरेको कारण यो समस्या उत्पन्न भएको हो,’ उनले भने,‘विशेषगरी बागमती प्रदेशमा डिजेलमा प्रतिलिटर ३० रुपैयाँ बढे पनि भाडा समायोजन गर्न ढिलाइ गरिरहेको छ ।’
कुनै पनि सार्वजनिक यातायातले राज्यले तोकेको भन्दा बढी भाडा लिन नपाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । ‘तोकेको भन्दा बढी भाडा कुनै पनि सार्वजनिक यातायातले लिन पाउँदैन । बढी भाडा लिनेलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको पनि छ ।’ बढी भाडा लिनेलाई ट्राफिक प्रहरीले ५ हजारसम्म जरिबाना गर्न सक्ने कानुनी प्रावधान रहेको एसपी सुवेदीले बताए ।
यातायात व्यवसायीसँग समन्वय गरेर सबै यात्रुवाहक गाडीहरूमा यात्रुले देख्ने गरी भाडाको सूची टास्नपर्ने बताएको उनले जनाएका छन् । सबै सार्वजनिक यातायातमा भाडासूची टाँस्नुपर्ने पनि उनको भनाइ छ । सार्वजनिक यातायातमा छुट्टाइएको सुविधालाई समेत यथोचित रूपमा लागू गर्न निर्देशन दिएको उनले बताएका छन् । उनले भने,‘विद्यार्थी कार्डको छुट, ज्येष्ठ नागरिकको सिट, महिलाका लागि छुट्याइएको सिट उनीहरूले नै प्रयोग गर्नुपर्छ भनेर बुझाएका छौँ । साथै निरन्तर निगरानी गरिरहेका छौँ ।’
काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा २०८० भदौ ७ मा कायम भएको भाडा ५ किमिसम्म १९ रुपैयाँ थियो । तर गत वर्ष चैत २७ गतेबाट कायम भएको भाडादर २४ रुपैयाँ कामय भएको छ । त्यस्तै १० किलोमटिरसम्म पहिले २६ रूपैयाँ भाडा थियो भने अहिले बढेर ३३ रुपैयाँ पुगेको छ । त्यस्तै १५ किलोमिटरसम्म ३९, २० किलोमिटरसम्मको ४४ रुपैयाँ र २० भन्दा माथि न्यूनतम भाडा ५० रुपैयाँ तोकिएको छ ।
