खुम्बु आइसफलको डेडलक हट्यो, खुल्यो सगरमाथा चढ्ने बाटो

खुम्बु आइसफल सगरमाथा आधार शिविरभन्दा माथि करिब ५,४०० मिटर उचाइमा अवस्थित छ। खुम्बु हिमनदीको यो भाग ल्होत्से र नुप्त्से हिमालबीच पर्छ र आरोहणको सबैभन्दा जोखिमपूर्ण खण्ड मानिन्छ।

वैशाख १५, २०८३

सुरज कुँवर

Deadlock at Khumbu Icefall lifted, route to Mt. Everest opened

काठमाडौँ — विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि प्रयोग हुने जोखिमपूर्ण खुम्बु आइसफल क्षेत्रमा देखिएको डेडलक अन्त्य भएको छ। दुई सातादेखि अवरुद्ध रहेको मार्ग मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको हो।

हिमाल आरोहण व्यवसायीहरूको छाता संस्था एक्सपिडिसन अपरेटरस एसोसिएसन अफ नेपालका महासचिव ऋषि भण्डारीका अनुसार, अवरोध हटेसँगै मार्ग निर्माणको काम पुनः तीव्र पारिएको छ। 'दुई सातादेखि रोकिएको खुम्बु आइसफलको बाटो आज बिहान खुलेको छ,' उनले कान्तिपुरसँग भने, 'आजै साँझसम्म आइसफल डाक्टरको टोली क्याम्प–२ तर्फ पुग्नेछ।'

खुम्बु आइसफल सगरमाथा आधार शिविरभन्दा माथि करिब ५,४०० मिटर उचाइमा अवस्थित छ। खुम्बु हिमनदीको यो भाग ल्होत्से र नुप्त्से हिमालबीच पर्छ र आरोहणको सबैभन्दा जोखिमपूर्ण खण्ड मानिन्छ।

बाटो खोल्न गत शुक्रबार र शनिबार हेलिकोप्टरमार्फत हवाई अनुगमन (रेकी) गरिएको थियो। यसका लागि हेली एभरेस्ट र प्रभु हेलिकोप्टर्सका हेलिकोप्टर प्रयोग गरिएको थियो।

भण्डारीका अनुसार, आइसफल डाक्टर, उच्च हिमाली मार्गदर्शक (हाई अल्टिच्युड गाइड), शेर्पा तथा विदेशी आरोहीहरूको संयुक्त प्रयासपछि करिब ६ हजार मिटर उचाइमा रहेको क्याम्प–१ सम्म मार्ग खुलाइएको छ।

एसोसिएसनका अनुसार, मंगलबार बिहानसम्म ड्रोनमार्फत पाँच खेप डोरी तथा आवश्यक उपकरण क्याम्प–१ मा पुर्‍याइएको छ। अनुकूल मौसमका कारण आधार शिविरबाट करिब ५० किलोग्रामसम्मका सामग्री पनि सफलतापूर्वक ओसारिएको जनाइएको छ।

पर्यटन विभागका अनुसार सोमबारसम्म सगरमाथा आरोहणका लागि ४२५ जनाले अनुमति लिइसकेका छन्। मार्ग खुलाएसँगै आरोहण गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully