वसन्त याममा ७ सय आरोहीलाई अनुमति, सगरमाथाबाट मात्रै ६५ करोडभन्दा बढी रोयल्टी संकलन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६९ देशका ५२३ पुरुष र १७७ महिला आरोहीले अनुमति लिएका हुन् ।

वैशाख २, २०८३

सुरज कुँवर

700 climbers allowed in spring season, over 650 million rupees in royalties collected from Everest alone

काठमाडौँ — चालु वसन्त याम (२०२६ मार्च १ देखि अप्रिल १५ सम्म) मा नेपालका हिमाल आरोहणका लागि ७०० विदेशी आरोहीलाई अनुमति दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६९ देशका ५२३ पुरुष र १७७ महिला गरी कुल ७०० आरोहीले अनुमति लिएका हुन् ।

देशगत विवरण अनुसार सबैभन्दा धेरै आरोही अमेरिकाबाट ७१ जना रहेका छन् । त्यसपछि बेलायत (४८), रसिया (४५), जर्मनी (५५), भारत (४९) र चीन (८९) लगायतका देशका आरोहीहरू उल्लेख्य संख्यामा रहेका छन् ।

पर्यटन विभागका अनुसार यस अवधिमा हिमाल आरोहणबाट कुल ५० लाख ७९ हजार ३८० अमेरिकी डलर (करिब ७५ करोड ५८ लाख रुपैयाँ) रोयल्टी संकलन भएको छ।

सबैभन्दा धेरै रोयल्टी सगरमाथाबाट मात्रै ४३ लाख ८५ हजार अमेरिकी डलर (करिब ६५ करोड रुपैयाँभन्दा बढी) उठेको छ । सगरमाथामा ३० टिमका २९७ आरोहीले अनुमति लिएका थिए, जसमा २३४ पुरुष र ६३ महिला रहेका छन् ।

त्यस्तै, आमा दब्लममा ७० जना, मकालुमा ५४ जना, ल्हाेत्सेमा ४१ जना तथा अन्नपूर्ण प्रथममा २७ जना आरोहीले अनुमति लिएका छन् । विभागका अनुसार यस वर्षको वसन्त याममा हिमाल आरोहण गतिविधि उल्लेख्य रूपमा बढेको छ । जसले पर्यटन क्षेत्रको पुनरुत्थानमा सकारात्मक संकेत दिएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully