भावी नेतृत्वका लागि सशस्त्रमा अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय नारायणदत्त पौडेल र वंशीराज दाहाल प्रतिस्पर्धामा छन् ।
What you should know
काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्याल ४ वर्षे पदावधि पूरा गरी १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् । वैशाख २०७९ मा महानिरीक्षक बनेका अर्याल अवकाशमा जाने भएपछि सशस्त्र प्रहरीको भावी नेतृत्व चयनमा सरकार जुटेको छ ।
हालसम्म सशस्त्रमा १३ जना महानिरीक्षक बनिसकेका छन् । अब १३ औं महानिरीक्षक को बन्ने भन्ने टुंगो सरकारले लगाउन लागेको हो । सम्भवतः आजको मन्त्रीपरिषद् बैठकबाट नेतृत्वको टुंगो लाग्न सक्छ । आज नियुक्ति नभए अर्को मन्त्रीपरिषद् बैठकको तालिका बिहीबार मात्रै छ ।
शुक्रबार महानिरीक्षक अवकाशमा जाने भएपछि केही दिनअघि नै टुंगो लगाइसक्नुपर्ने दबाबमा सरकार छ । मन्त्रीपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षकको टुंगो लगाउने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ । भावी नेतृत्वका लागि सशस्त्रमा अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय नारायणदत्त पौडेल र वंशीराज दाहाल प्रतिस्पर्धामा छन् ।
दुवै प्रतिस्पर्धी २०५४ वैशाखमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । २०५७ मा सशस्त्र प्रहरी बल गठन भएसँगै उनीहरु सेवा स्थानान्तरण गरी प्रहरीबाट सशस्त्रमा आएका हुन् त्यसपछि विभिन्न मितिका निर्णयबाट एआईजी बनेकामा पौडेल ६ जेठ २०७९ मा डीआईबीबाट एआइजी बढुवा भएका थिए भने त्यही वर्षको २८ असोजमा दाहाल एआइजीमा बढुवा भएका थिए । यसरी हेर्दा पौडेल दाहालभन्दा करिब ५ महिना सिनियर हुन् भने उनीमाथि २३ र २४ भदौको जेन–जी आन्दोलन दमन गरेको आरोप पनि लागेको छ ।
जेन–जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले पौडेलमाथि जेन–जी आन्दोलन दमन गरेको आरोपमा विभागीय कारबाही सिफारिस गरेको थियो । यसरी हेर्दा पौडेलमाथि विभागीय कारबाही सिफारिस छ भने दाबेदार अर्का एआईजी दाहाल पौडेलभन्दा ५ महिनापछि एआईजी बढुवा भएका हुन् । यो पृष्ठभूमिमा नेतृत्वमा पुग्न दुवै लबिइङमा लागेका छन् । दुवैमध्ये जो एआईजी नेतृत्वमा गए पनि हालको ३० वर्षे सेवाअवधि कायम रहेमा चैत २०८४ सम्म पदमा रहनेछन् ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा निकायहरुको हकमा थप जाँचबुझ गर्न २ वैशाखमा उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई र सशस्त्र प्रहरीका पूर्व एआईजी सुबोध अधिकारी सम्मिलित तीन सदस्यीय जाँचबुझ समिति बनाइसकेको छ । यो पृष्ठभूमिमा सरकारले सशस्त्रमा केही दिनपछि रिक्त हुने नेतृत्वमा कसलाई ल्याउँछ भन्ने चासो बढेको हो ।
प्रतिस्पर्धामा रहेका एआईजी पौडेल आफू ५ महिना सिनियर भएकाले नेतृत्वमा पुग्नुपर्ने लबिइङमा छन् । अर्का एआईजी दाहाल भने अहिलेको सरकार जेन–जी आन्दोलनको जगमा बनेकाले जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई बढुवा दिन नहुने भन्दै आफू नेतृत्वमा पुग्ने पक्षमा छन् ।
यही मेसोमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार दिउँसो २ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका छन् । सशस्त्र प्रहरी ऐन २०५८ मा ज्येष्ठता, कार्यक्षमता र नेतृत्व गर्न सक्ने क्षमता भएका एआईजीमध्येबाट र एआईजी नभएको खण्डमा डीआईजीबाट आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था छ ।
