ल्हासामा भृकुटीको प्रतिमा अनावरण

चिनियाँ बौद्ध धर्म स्थापना र प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी भृकुटीलाई हरित ताराका रूपमा पूजा गरिन्छ ।

वैशाख १४, २०८३

लक्ष्मी लम्साल

Statue of Bhrikuti unveiled in Lhasa

बेइजिङ — नेपाल-चीन मित्रताकी सेतु नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा अनावरण गरिएको  छ । सातौं शताब्दीमा तिब्बती राजा स्रङचङ गम्पोसित विवाह गरेर दुई देशबीच सुमधुर सम्बन्ध बनाएकी भृकुटीले चीनमा बौद्ध धर्म फैलाएकी थिइन् । महावाणिज्य दूतावासमा नेपाली समुदाय तथा सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा सोमबार सो प्रतिमा अनावरण गरिएको हो ।

नेपालको जेभी फाउन्डेसनको सौजन्यमा यो प्रतिमा कुँदेर सिचाङको ल्हासा ल्याइएको हो । ल्हासा ल्याउनुअघि प्रतिमालाई नेपालस्थित परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष हस्तान्तरण गरिएको थियो ।

Statue of Bhrikuti unveiled in Lhasa

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल-चीन मित्रताकी सूत्रधार भृकुटी भएकोले यो अतुलनीय योगदानको स्मरण गराउन प्रतिमा स्थापित गरिएको बताए । उनले कान्तिपुरसँग भने, ‘इतिहासकालमा भृकुटी, अरनिको जस्ता सपूतहरूले बनाएको मित्रताको विरासत वर्तमानकालमा सम्झाइराख्नका लागि प्रतिमा स्थापनाको सोच ल्याइएको हो । भविष्यमा अरनिकोको प्रतिमा पनि अनावरण गर्ने इच्छा छ ।’ 

मूर्ति अनावरणका क्रममा फाउन्डेसनका अध्यक्ष जगदीश वैद्यले नेपाल-चीन सम्बन्धको इतिहासलाई अझै जीवन्त राख्ने प्रयोजनका लागि प्रतिमा हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भविष्यमा आपसी सम्बन्ध झल्किने यसप्रकारका खजाना दान गर्न पाउँदा अझै उत्साहित भएर सहकार्य गर्ने धारणा राखे ।

नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपालीसहितको टोलीले महावाणिज्य दूतावासमा प्रतिमा अनावरणका लागि बेसमेन्ट बनाउनेदेखि, प्रतिमा ल्हासासम्म ल्याउने लगायतका कामहरूमा सहयोग गरेको थियो । धार्केले यस्तो सहयोग गर्न पाउँदा गर्व लागेको बताए ।

अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उपस्थिति रहेको थियो भने प्रतिमा स्थापित गर्न सहयोग गरेकोमा फाउण्डेसन र कोषका पदाधिकारीहरूलाई महावाणिज्यदूतावासले प्रशंसा पत्रसहित सम्मान गरेको थियो ।

सातौं शताब्दीमा तिब्बती राजासँग वैवाहिक सम्बन्ध गाँसेर अन्तरदेशीय सम्बन्ध सुधारमा योगदान गरेकी भृकुटीलाई नेपाल-चीन मित्रताको पुल भन्दै दुवै देशका विद्वानहरूले वर्णन गर्ने गरेका छन् । चिनियाँ बौद्ध धर्म स्थापना र प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी भृकुटीलाई हरित ताराका रूपमा पूजा गरिन्छ ।

लक्ष्मी

Link copied successfully