रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा आवश्यक जनशक्ति नहुँदा चार वर्ष लगाएर बनाइएका मकैका नयाँ जात अझै उन्मोचन हुन सकेका छैनन् ।
What you should know
चितवन — सहरका रेष्टुरेन्ट र सिनेमा घरमा उच्च मूल्यमा बिक्ने पपकर्न तयार हुने मुरली मकै धेरैजसो विदेशबाट आयात हुन्छ । नेपाली हावापानी र माटोमा फल्न सक्ने मुरली मकैको जातको औपचारिक अनुमोदन हुन बाँकी छ । मुरली मकैसँगै एउटा हाइब्रिड र दुईवटा खुला सेचित मकैका जात पनि तयार छन् । चार वर्षदेखि अनुसन्धान गर्दै तयार भएका मकैका यी जात किसानको खेतमा पुग्ने प्रतीक्षामा छन् ।
चितवन रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले मकैका नयाँ र उपयुक्त जात विकास गर्छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको मकैबाली अनुसन्धान कार्यक्रमको स्वामित्वमा कुनै बेला एक सय हेक्टर जमिन थियो । अहिले ७७ हेक्टर जति जमिन छ ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका सूचना अधिकारी शुकबहादुर गुरुङका अनुसार यो जमिनमध्ये प्रयोगात्मक खेतीका लागि साढे ७ हेक्टर छ । अनुसन्धान तथा उत्पादन क्षेत्र १९ हेक्टर र उत्पादन क्षेत्र ३९ हेक्टर छ । आवास, दलदल र बुट्यान क्षेत्र ११ हेक्टर छ । अनुसन्धान र उत्पादनका लागि जमिन धेरै भए पनि काम गर्ने दक्ष जनशक्ति उपलब्ध छैनन् ।
सूचना अधिकारी गुरुङले ६९ जनाको दरबन्दीमा ३५ जना भएको बताए । ३५ जनामध्ये पनि दुई जना अध्ययन बिदामा छन् । दरबन्दीझन्दा आधा जनशक्तिले अनुसन्धान केन्द्र धानिएको छ । अनुसन्धान कार्यक्रममा सबैभन्दा उपल्लो तह ‘एस ५’ श्रेणीको मुख्य वैज्ञानिक एकजनाको दरबन्दी भए पनि पदपुर्ती भएको छैन । ‘एस ४’ श्रेणीका वरिष्ठ वैज्ञानिक चारजनाको दरबन्दीमा एकजनाको पदपुर्ती हुन सकेको छैन । ‘एस ३’ श्रेणीका वरिष्ठ वैज्ञानिक ६ जनाको दरबन्दीमा एकजना पनि छैनन् । अन्य वैज्ञानिक र प्राविधिक पनि दरबन्दी अनुसार छैनन् । ‘चार वर्ष लगाएर चारवटा जात निकालेका छौं । तर उन्मोचन हुन बाँकी छ । जनशक्ति नहुँदा द्रूत गतिमा काम भएको छैन,’ सूचना अधिकारी गुरुङले भने ।
रामपुरले अध्ययन अनुसन्धान गरेर तयार गरेको नयाँ जात उन्मोचन भएपछि मूल बिउ लगेर ठूला किसान समूह या बिउबिजन उत्पादन गर्ने कम्पनीले उत्पादन गरेर किसानलाई बेच्छन् । ‘नयाँ जात निकाल्नका लागि अध्ययन अनुसन्धान वर्षभरी भइरहनु पर्छ । सधैं नयाँ र राम्रा जात विकास गर्ने उद्देश्यले अनुसन्धान कार्यक्रम चल्ने गर्छन्’ गुरुङले भने ।
पहिला यो कार्यालयको नाम राष्ट्रिय मकै विकास कार्यक्रम थियो । २०४८ सालमा मकैको अनुसन्धानमा नै बढी केन्द्रित हुने गरेर कार्यालयको नाम राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम राखेको सूचना अधिकारी गुरुङले बताए । यहीँबाट २०३२ सालमा ३८/३९ वटा मकैका गुण मिसाएर विकसित भएको ‘रामपुर कम्पोजिट’ मकै किसान माझ निकै लोकप्रिय रहेको गुरुङले जानकारी दिए ।
अहिले उन्मोचन हुन लागेको मुरली मकै पनि तराईका लागि उपयुक्त, होचो, पहेला दाना भएको, स्वादिलो मुख्य विशेषता भएको उनले बताए । ‘नेपालमा मुरली मकैको खेती त हुन्छ तर बजारमा बिक्रीका लागि राखिने मुरली मकै प्रायः विदेशबाट आयात हुन्छ । यो जातले आयात रोक्न सक्छ,’ उनले भने । रामपुरले ३१ वटा खुला सेचित र १० वटा हाइब्रिड जातका मकै विकास गरेको छ । एक पटक बिउ लगेर छरेपछि त्यही उत्पादनले कम्तीमा तीन वर्ष बिउ कायम गर्न सकिनेलाई खुला सेचित भनिन्छ । हाइब्रिडमा हरेका वर्ष बिउ नयाँ छर्नु पर्छ ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम कार्यालयका अनुसार नेपालमा ९ लाख १६ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । कृषि उत्पादनमा मकैको योगदान ७ दशमलब ६ प्रतिशत छ । देशभर मकैको बिउको माग २४ हजार ६३९ मेट्रिक टन छ । जसमा आन्तरिक आपुर्ती ३ हजार ४ सय ७ मेट्रिक टन रहेको छ । ‘जनशक्ति कम हुँदा हामीले लक्ष्य पूरा गर्न सकेका छैनौं,’ सूचना अधिकारी गुरुङले भने ।
जात विकासका लागि अनुसन्धनात्मक काम जेनतेन भए पनि मकैका लागि आवश्यक पर्ने माटोको बारेमा अनुसन्धान गर्न नसकेको सूचना अधिकारी गुरुङले बताए । जनशक्तिकै अभावले कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरणमा पनि सोचे जस्तो काम नभएको उनले बताए ।
