दुर्गम गाउँकी 'सरिता सिस्टर'लाई 'नेशनल सोसल वेलफेयर अवार्ड'

६ वर्षदेखि मुगुका बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमि सरिता कुमारी शाहीले ४ सय ६९ महिलाको सुरक्षित सुत्केरी र १ हजार २ सय गर्भवतीको स्वास्थ्य जाँच गरेकी छिन् ।

वैशाख १२, २०८३

तुलाराम पाण्डे

'Sarita Sister' from remote village receives 'National Social Welfare Award'

What you should know

कालीकोट — मुगुको सोरु गाउँपालिका-९ कालै बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमि सरिता कुमारी शाहीलाई 'नेशनल सोसल वेलफेयर अवार्ड २०२५' प्रदान गरिएको छ ।

शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा सिजन मिडियाद्वारा आयोजित समाराेहमा प्रमुख अतिथि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अवार्ड हस्तान्तरण गरे । अवार्ड लिन मुगुको कालै गाउँबाट सरिता बिहीबार ताल्च विमानस्थलमा दिनभर कुरे पनि जहाज नआएकाले काठमाडौं जान सकिनन् । उनकाे अवार्ड मुगुका पत्रकार राजबहादुर शाहीले बुझेका छन् ।

अनमि शाहीले मुगुको दुर्गम बस्तीका गर्भवतीलाई सुरक्षित सेवा प्रदान गरेर आमा र नवजात शिशुको जीवन बचाउन योगदान पुर्‍याए बापत 'नेशनल सोसल वेलफेयर अवार्ड' प्रदान गरिएको आयोजक सिजन मिडियाले बताएको छ । बिभिन्न क्षेत्रबाट समाजमा योगदान पुरयाउने विशिष्ट ब्यक्तिलाई बिगत १७ वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

सिजन मिडियाले आयोजना गर्ने ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो। सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा आपतकालीन उद्धार (महामारी, बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपको बेला) मा अग्रपंक्तिमा रहेर उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति र संस्थालाई कार्यक्रममा सम्मान र अवार्ड प्रदान गरिएकाे हाे। यसपटक पनि बिभिन्न क्षेत्रमा योगदान पुरयाउने १७ जनालाई यो अवार्ड उपलब्ध गराइएको अध्यक्ष वन्तले बताए।

'Sarita Sister' from remote village receives 'National Social Welfare Award'

कालीकोटको शुभकालिका-२ भर्ता गाउँमा जन्मिएकी सरिताले मुगुमा विवाह गरेर कर्मथलो बनाएकाे बताइन् । 'समाजका लागि राम्रो काम (सेवा) गरे मूल्यांकन हुने रहेछ । यसले अझै दुर्गमका दिदीबहिनीको सेवामा लाग्ने प्रेरणा दिएको छ,' उनले भनिन् । दुर्गमका गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउन उनी रातदिन खटिएको समाचार गत वैसाख २ को कान्तिपुरमा प्रकाशित भएको थियो ।

सरिता ६ वर्षदेखि यहाँको बर्थिङ सेन्टरमा गर्भवती तथा सुत्केरी आमा र शिशुको स्याहारमा सक्रिय छिन् ।
उनले ६ वर्षको अवधिमा जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन् भने १ हजार २ सय गर्भवतीको स्वास्थ्य जाँच गरेकी थिइन् । उनले स्वास्थ्य संस्थामा सेवा लिन नआउने गर्भवती महिला मात्र नभएर बिकट बस्तीमा पुगेर चेतना अभिबृद्धिमा पनि सक्रिय हुँदै आएकी छिन् ।  

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully