दुर्गम गाउँकी ‘सरिता सिस्टर’

अनमि सरिताकुमारी शाही पिठ्युमा झोला बोकेर, कहिले टर्चको भरमा त कहिले स्थानीयको साथमा रातैभरि पनि हिँड्छिन्, उनको एउटै ध्येय हुन्छ– आमा र शिशुको ज्यान जोगाउने

वैशाख २, २०८३

तुलाराम पाण्डे

'Sarita Sister' from a remote village

What you should know

कालीकोट — मध्यराति होस् वा चिसो हिउँदको बिहान, मुगुको सोरु गाउँपालिकाका दुर्गम बस्तीमा कुनै गर्भवती महिलालाई सुत्केरी व्यथा सुरु भयो भने सबैभन्दा पहिले एउटा नाम लिन्छन्– सरिता सिस्टर । मुगुको सोरु गाउँपालिका–४ की सिनियर अनमि सरिताकुमारी शाही पिठ्युँमा झोला बोकेर, कहिले टर्चको भरमा, कहिले स्थानीयको साथमा रातैभरि हिँड्छिन् । उनको एउटै ध्येय हुन्छ– आमा र शिशुको ज्यान जोगाउने ।

भौगोलिक विकटता र यातायातको पहुँच नभएको दुर्गम बस्तीमा सुत्केरीलाई सेवा दिन त्यति सहज नभए पनि साथीहरूसँग परामर्श र समस्याको समाधान गर्दै उनी दुर्गमका जोखिम गर्भवती महिलाको ज्यान बचाउन दिन–रात नभनी खटिएकी छन् ।

विकट सीप गाउँको बर्थिङ सेन्टरमा कार्यरत उनी ६ वर्षयता गर्भवती तथा सुत्केरी आमा र शिशुको स्याहार–सुसारमा निरन्तर जुटिरहेकी छन् । हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसूति सेवाको अभावले अकालमै ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनाएको छ । साधन–स्रोत र जनशक्ति अभावका बाबजुद पनि उनी त्यस क्षेत्रका गर्भवती महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरिरहेकी छन् । जागिरको सवालभन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्यप्रति त्यहाँका नागरिक उनको प्रशंसा गरेर थाक्दैनन् । 

‘सरिता मेडम हाम्री भगवान् हुन् । यहाँका गर्भवती आमा, दिदीबहिनीलाई धेरै सेवा दिएकी छन् । रात–दिनको उहाँको सेवाले हामी पीडित महिला खुसी छौं, ‘सीप गाउँकी वडासदस्य गोविन्दा विष्टले भनिन्, ‘पहिला यहाँ अकालमा सुत्केरीले ज्यान गुमाउँथे । अहिले सरिता मेडमले आमा र बच्चाको ज्यान बचाइदिएकी छन् ।’ स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभावका बाबजुद पनि उहाँको कुशलताले गर्दा धेरै जटिल अवस्थामा पनि सफल सुत्केरी सेवा उपलब्ध भएको स्थानीय महिलाको भनाइ छ ।

सेवामा कार्यरत ६ वर्षको अवधिमा सरिताले जिमा सीप बर्थिङ सेन्टरमा ४६९ महिलालाई सुरक्षित सुत्केरी गराएकी छन् । त्यसैगरी १२०० गर्भवतीको स्वास्थ्य जाँच गरेको सरिताले बताइन् । विकट गाउँबस्तीमा पुगेर सरिताले महिलालाई प्रसूति सेवाबारे जनचेतना अभिवृद्धि गर्ने कार्यमा पनि योगदान दिएकी छन् । घरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान असुरक्षित हुन्छ, प्रसूति गृहमा जाँदा ज्यान सुरक्षित हुन्छ भनेर उनले महिलालाई जनचेतना अभिवृद्धिसमेत गराएकी छन् ।

विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी जनचेतना तथा घरदैलो भेटघाट कार्यक्रममार्फत उनी महिलाको समस्या समाधान गर्न लागेकी छन् । पहिले त्यहाँ प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती महिलालाई कि त घरमै असुरक्षित सुत्केरी हुनुपर्ने, कि एक दिन टाढा जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो । ‘यहाँ प्रसूति केन्द्र बनेर सरिता मेडम आएदेखि गर्भवतीलाई धेरै राहत भयो, आमा र शिशुको ज्यान बच्यो,’ सीप गाउँकी ओमप्यारी बुमी डबल भन्छिन् ।

सरिताको प्रभावकारी सेवा प्रवाहका कारण गत कात्तिकमा संस्थाको नियमअनुसार उनलाई कालै बर्थिङ सेन्टरमा खटाइएको छ । पिठ्युँमा बच्चा बोकेर पनि उनी सुत्केरी सेवामा समर्पित छिन् । कालैमा आएदेखि उनले १० महिलालाई सुत्केरी गराइसकेकी छन् । कालै, खनाया, सिड्डी गाउँका गर्भवती महिला सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने गरेका छन् । ‘पहिले ७५ प्रतिशतभन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे, अहिले सबै बर्थिङ सेन्टरमा सुत्केरी हुन आउँछन्,’ सरिता भन्छिन्, ‘गर्भ जाँच गर्न पनि महिला आउने गरेका छन् ।×’ 

दुर्गममा अनेक कठिनाइका बाबजुद सुत्केरीलाई सेवा दिइरहेकी सरिता भन्छिन्, ‘टाढा–टाढा गाउँबाट राति सुत्केरी हुन आउँछन्, उठेर सेवा दिनुपरेको छ ।’ अहिले घरमा सुत्केरी हुने महिलाको संख्या न्यून छ । ‘गाउँमा कोही सुत्केरी व्यथाले छटपटाउँदा सबैको मुखमा सरिता सिस्टरकै नाम आउँछ,’ कालै गाउँकी पार्वती बुढायोगीले भनिन्, ‘यहाँका महिला उनलाई भगवान्जस्तै मान्ने गरेका छन् ।’

बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाले यातायात खर्चबापत ३ हजार, प्रोत्साहनबापत ८ सय र प्रदेश कोसेलीबापत २ हजार ५ सय रुपैयाँ पाउने गरेका छन् । ‘यो सुविधाले गर्दा पनि विकट गाउँघरका गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गरेका छन्,’ सरिताले बताइन् । ‘मुगुको कालै, सीपजस्ता दुर्गम ठाउँमा बसेर सुत्केरी महिलालाई सेवा प्रवाह गर्न सहज छैन,’ सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले भने, ‘उनले पुर्‍याएको यो सेवाले राज्यको स्वास्थ्य प्रणालीलाई राम्रो मद्दत पुगेको छ ।’

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully