थापाथलीका ४ सुकुमवासी परिवारलाई कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’ पठाइयो

सेल्टरमा उनीहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ ।

वैशाख १२, २०८३

रासस

Four families of squatters from Thapathali sent to a 'holding center' in Kirtipur

काठमाडौँ — थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीमध्ये चार परिवारलाई कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको छ । सरकारको दर्ता प्रक्रियामा आएकामध्ये उनीहरुलाई कीर्तिपुर पठाइएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले ‘स्क्रिनिङ’ गरिरहेको छ । 

अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन् । 

'वास्तविक सुकुमवासीको परिवार सङ्ख्या, घरमूलीको नामलगायत विवरण संकलन गरिरहेका छौँ । त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौँ,' उनले भनिन्, 'सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ ।'

अस्थायी बसोबासस्थलमा व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने बोगटीले जानकारी दिइन् ।

थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रङ्गशाला ल्याइएको हो । अहिले पनि सुकुमवासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रङ्गशाला आउने क्रम जारी छ । 

'वास्तविक सुकुमवासीहरू यहाँ आउनुभएको छ, अन्यले आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ,' उनले भनिन्, 'केही परिवार यहाँ आएर पनि सरकारले तोेकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ ।'

रङ्शालाभित्रै सुकुमवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ । सुकुमवासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए ।

थापाथलीस्थित सुकुमवासी बस्ती हटाउने काम सम्पन्न भएको छ भने अहिले सिनामङ्गल–गैरीगाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने क्रम जारी छ ।

रासस

Link copied successfully