विकल्पविहीनलाई रंगशालामा लगेर विवरण संकलन गर्ने प्रशासनको तयारी

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, होल्डिङ सेन्टरका रुपमा पहिलो चरणमा रंगशालामा राखेर विवरण संकलन गर्ने तयारी गरिएको हो ।

वैशाख १२, २०८३

गौरव पोखरेल

Administration prepares to take those with no alternative to the stadium and collect details

काठमाडौँ — काठमाडौंको थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रबाट उठाइएका विकल्पविहीन सुकुमवासीलाई प्रशासनले विवरण संकलनका लागि दशरथ रंगशालामा राख्ने तयारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, होल्डिङ सेन्टरका रुपमा पहिलो चरणमा रंगशालामा राखेर विवरण संकलन गर्ने तयारी गरिएको हो ।

‘त्यसका लागि शहरी विकास मन्त्रालय र अन्तर्गतको टोली तयारी अवस्थामा छ, विवरण संकलन गरेर साँच्चै सहयोग चाहिने परिवारलाई अस्थायी आवासका लागि कहाँ पठाउने भन्ने निर्णय हुनेछ,’ उनले कान्तिपुरसँग भने, ‘उहाँहरुलाई राख्नलाई ५/७ वटा ठाउँ तयारी गरिएको छ, त्यसको व्यवस्थापन मन्त्रालयले नै गरेको छ ।’

तर, त्यहाँ पठाउनुअघि पृष्ठभूमि जाँच गरिने उनले बताए । ‘यो सबै काम आजै हुने हो, रंगशालामा राखी राख्ने होइन,’ उनले थपे ।

प्रजिअ पौडेलले मानवीय पक्षलाई ध्यान दिएर सुकुमवासी बस्ती खाली गराउने काम भइरहेको बताए । ‘महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत खटिएको छ, उनीहरुले खाली गरिदिन भन्दै माइकिङ गरिरहेका छन्,’ पौडेलले थपे, ‘उहाँको सामान ओसारपसार गर्नलाई समेत मिनी ट्रक र पिकअप गाडीको प्रबन्ध गरिएको छ, सामान सार्ने कुरालाई प्राथमिकता दिइएको छ ।’

सुकुमवासी बस्तीका नागरिकलाई ओसारपसारका लागि ९ वटा सरकारी बससमेत परिचालन गरिएको उनले जानकारी दिए । ‘उहाँहरुले कहाँ लगिदिने भन्नुहुन्छ, त्यही अनुसार सामानसमेत पुर्‍याइदिने गरी व्यवस्थापन गरिएको छ,’ पौडेलले थपे, ‘बिरामीका लागि एम्बुलेन्स र मेडिकल टिमसमेत तयार गरिएको छ ।’

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बेलुकी सुरक्षा प्रमुखहरुलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने तयारी थाल्न निर्देशन दिएका थिए । त्यसपछि शहरी विकास मन्त्रालयले समेत तयारी थालेको थियो । मानवअधिकारवादी संस्था, नागरिक अगुवा, सुकुम्बासी मोर्चालगायतले चाहिा वैकल्पिक व्यवस्थापनबिना बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेका थिए । 

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully