थापाथली र गैरीगाउँबाट विस्थापित ५५ परिवार महानगरको सम्पर्कमा, कीर्तिपुर सारिँदै

शनिबार महानगरले थापाथली र गैरीगाउँका सुकुमवासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती परिवारहरू व्यवस्थापनका लागि दर्ता प्रक्रियामा आएका हुन् ।

वैशाख १२, २०८३

दया दुदराज

55 displaced families from Thapathali and Gairigaun in touch with the metropolis, being moved to Kirtipur

काठमाडौँ — सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ५५ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । शनिबार महानगरले थापाथली र गैरीगाउँका सुकुमवासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती परिवारहरू व्यवस्थापनका लागि दर्ता प्रक्रियामा आएका हुन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणकी इन्जिनियर प्रकृति केसीका अनुसार कीर्तिपुरको सुन्दरीघाटस्थित अस्थायी आश्रयस्थल (सेल्टर) का लागि हालसम्म ५५ परिवार दर्ता भएका छन् । जसमध्ये ५० परिवार थापाथली र ५ परिवार गैरीगाउँबाट विस्थापित भएका हुन् । सम्पर्कमा आएकामध्ये करिब २५ परिवारका १३१ जनालाई सुन्दरीघाटको सेल्टरमा स्थानान्तरण गरिसकिएको अधिकारीहरूले जनाएका छन् ।

शनिबार दिउँसो महानगरको टोलीले बागमती किनारको थापाथलीस्थित सुकुमवासी बस्ती पूर्ण रूपमा हटाएको थियो । महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले थापाथली क्षेत्रका संरचना भत्काउने काम सम्पन्न भइसकेको जानकारी दिए । ‘संरचना भत्काइसकिएको छ, अहिले त्यहाँबाट सामानहरू सार्ने काम भइरहेको छ,’ उनले भने, ‘थापाथलीसँगै गैरीगाउँ क्षेत्रमा पनि ५० प्रतिशत संरचना हटाइसकेका छौं ।’

थापाथली र गैरीगाउँको कारबाही सकिएलगत्तै महानगरको डोजर मनोहरा र जडीबुटी क्षेत्रतर्फ केन्द्रित हुने महानगर प्रहरीले जनाएको छ । ‘यी दुई स्थानको काम सकेर हाम्रो टोली डोजरसहित मनोहरा क्षेत्र पुग्ने तयारीमा छ,’ प्रहरी प्रमुख जोशीले भने ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully