सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार एक प्रेस नोट जारी गर्दै पछिल्लो समय सेना र यसको नेतृत्वप्रति लक्षित गरी तथ्यहीन अभिव्यक्ति र कपोलकल्पित सामग्रीहरू प्रसारण भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
काठमाडौँ — नेपाली सेनाले संस्था र नेतृत्वलाई जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार एक प्रेस नोट जारी गर्दै पछिल्लो समय सेना र यसको नेतृत्वप्रति लक्षित गरी तथ्यहीन अभिव्यक्ति र कपोलकल्पित सामग्रीहरू प्रसारण भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस्ता भ्रामक सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने भन्दै सेनाले त्यस्ता कार्य नगर्न र नगराउन सचेत गराएको छ ।
'नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने बेहोरा समेत स्मरण गराइन्छ,' सेनाद्वारा जारी अपिलमा भनिएको छ ।
सामाजिक सञ्जालमा बढ्दो अफवाहलाई लक्षित गर्दै सेनाले आम जनमानसलाई पनि यस्ता आधारहीन र द्वेषपूर्ण समाचार तथा टीका-टिप्पणीको विश्वास नगर्न आग्रह गरेको छ ।
कुनै पनि आधिकारिक सूचना र जानकारीका लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सेनाका आधिकारिक सामाजिक सञ्जाल खाता, वेबसाइटमा सम्प्रेषण गरिएका सूचनामा भर पर्न र जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।
