सुक्खा मौसमको असर : डढेलो बढ्दै, काठमाडौं सर्वाधिक प्रदूषित सहर

देशका विभिन्न भागमा देखिएको तुवाँलो र तातो मौसम क्रमिक रूपमा सुधार हुने संकेत देखिए पनि पूर्ण रूपमा हट्न अझै केही दिन लाग्नेछ ।

वैशाख ११, २०८३

प्रगति ढकाल/रासस

Impact of dry weather: Fires increasing, Kathmandu most polluted city

काठमाडौँ — वन डढेलोका घटना बढेसँगै काठमाडौं उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषणमा पनि वृद्धि भएको छ । केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि देखिएको हो ।

विशेषगरी सुक्खा मौसम र उच्च तापक्रमका कारण सानो झिल्काले समेत आगलागी निम्त्याउने जोखिम बढेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । वन डढेलोबाट निस्कने धुवाँ र वायुमण्डलमा जमेको धुलोको कणले उपत्यकाको वायु गुणस्तरलाई समेत खराब बनाउन थालेको छ । 

वन डढेलोको उच्च जोखिम रहने चैत महिनामा चालु वर्ष भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी देखिएको थियो । प्रि–मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भएकाले सुक्खापन कम हुँदा डढेलोका घटनामा गिरावट आएको थियो । तर पछिल्ला दिन वर्षा अभावसँगै पुनः सुक्खा बढ्न थालेकाले डढेलोको जोखिम पुनः बढ्ने सङ्केत देखिएको विज्ञहरूले बताएका छन् ।

वन तथा भूसंरक्षण विभागका अनुसार चैत महिनामा २०७८ मा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो सङ्ख्या २०७९ मा घटेर २६७ मा झरे पनि २०८० मा २४९ र २०८१ मा पुनः बढेर ३३१ पुगेको थियो । चालु आर्थिक वर्ष २०८२ मा भने ७९ वटामात्रै घटना दर्ता भए, जसलाई विज्ञहरूले मौसमीय अवस्थासँग जोडेर हेरेका छन् । प्रि-मनसुन अवधिमा भएको राम्रो वर्षाका कारण अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा उल्लेखनीय गिरावट आएको थियो । 

विभागका अनुसार वैशाखको पहिलो सातादेखि नै देशभर डढेलोका घटना पुनः बढ्दो क्रममा देखिएका छन् । विभागको  तथ्याङ्कले वैशाख ६ देखि ९ गतेसम्मको दैनिक विवरण सार्वजनिक गर्दै चार दिनमै १०२ वटा डढेलोका घटना दर्ता भएको जनाएको छ ।

सबैभन्दा बढी डढेलो घटना दाङमा १७ वटा दर्ता भएका छन् । त्यसपछि कपिलवस्तुमा १४, नवलपुरमा ९ वटा डढेलोको घटना भएका छन् । सल्यान, सुर्खेत तथा कैलालीलगायतका जिल्लामा पनि उल्लेख्य सङ्ख्यामा डढेलोका घटना देखिएका छन् । 

तथ्यांकअनुसार केही जिल्लामा डढेलोको ‘विश्वसनीयता स्तर’ (६० प्रतिशतभन्दा बढी) उच्च रहेको छ । विशेषगरी कैलालीमा १२, डोटीमा ११, अर्घाखाँचीमा सात, गुल्मीमा छ र पाल्पामा पाँचवटा उच्च विश्वसनीयताका घटना देखिएको विभागले जनाएको छ । 

त्यस्तै यस अवधिमा संरक्षित क्षेत्रभित्र पनि डढेलोको जोखिम कायम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी २३ वटा घटना दर्ता भएका छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा १० र बाँके राष्ट्रिय निकुञ्जमा नौवटा डढेलोका घटना देखिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा पनि डढेलो फैलिएको विवरणमा उल्लेख छ । संरक्षित क्षेत्रतर्फ कुल ५७ वटा डढेलोका घटना र ३३ वटा उच्च विश्वसनीयताका घटना रेकर्ड भएका छन् । त्यसैगरी, बुधबारदेखि बिहीबारसम्म मात्र १५ वटा वन डढेलोको घटना भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले पछिल्ला दिनमा डढेलोका घटना फेरि बढ्न थालेको बताए ।'अस्तिबाट डढेलोको घटना बढेको छ,' उनले भने, 'मनसुनले केही समय साथ दिएको थियो, तर अहिले पुनः सुक्खा अवस्था छ । सुक्खा भएका कारण सानो झिल्काले पनि आगो लाग्ने जोखिम उच्च छ ।'

प्रधानका अनुसार यदि निकट भविष्यमा वर्षा नभए डढेलोको जोखिम अझै बढ्न सक्नेछ । 'अब पानी नपरेमा डढेलो थप फैलिन सक्छ,' उनले भने । महानिर्देशक प्रधानले बढ्दो तापक्रम, सुक्खा मौसम र मानवीय असावधानीलाई डढेलोका मुख्य कारणका रूपमा औँल्याउँदै सचेतना र पूर्वतयारी बढाउन आवश्यक रहेको बताए ।

विभागकै वन अधिकृत विजय ढकालले डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको बताए । वन क्षेत्रमा आगो लगाउने, खरानी फाल्ने वा असावधानीपूर्वक आगो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका लागि प्रभावकारी वन व्यवस्थापन अपरिहार्य रहेको बताए । 'जहाँ व्यवस्थित रूपमा वन व्यवस्थापन गरिएको छ, त्यहाँ डढेलोका घटना न्यून देखिएका छन्, तर व्यवस्थापन अभाव भएका क्षेत्रमा डढेलोको समस्या जटिल बन्दै गएको छ,' उनले भने ।

काठमाडौँ पहिलो प्रदूषित सहर 

देशका विभिन्न स्थानमा बढ्दै गएको डढेलोको असर काठमाडौँ उपत्यकाको वायुमण्डलमा स्पष्ट देखिन थालेको छ । पछिल्ला दिनमा वर्षा अभाव र सुक्खा मौसमका कारण डढेलोका घटना बढेसँगै उपत्यकामा वायु प्रदूषण पनि तीव्र रूपमा वृद्धि भएको हो ।

Impact of dry weather: Fires increasing, Kathmandu most polluted city 

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक आज बढेर १७८ पुगेको छ । यससँगै काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा सूचीकृत भएको छ । बिहीबार भने एक्युआई अझै बढेर २४७ पुगेको थियो, जुन ‘अत्यन्त अस्वस्थ’ तहमा पर्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुनु, हावाको गति कम हुनु र तापक्रम बढ्नुजस्ता मौसमी अवस्थाले प्रदूषित कणहरू वायुमण्डलमै थुप्रिएको र उपत्यकामा वायु प्रदूषण बढेको जानकारी दिए ।

वातावरण युवा अभियन्ता राजन थापाले डढेलोबाट निस्कने धुवाँ, धुलो तथा सुक्ष्म कण (पीएम २.५) ले वायुमण्डललाई गम्भीर रूपमा प्रदूषित बनाउने बताए ।

एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । स्वास्थ्य विज्ञहरूले प्रदूषण बढेको समयमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र सुरक्षित रहन सुझाव दिएका छन् ।

अझै केही दिन सुक्खा

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार देशका विभिन्न भागमा देखिएको तुवाँलो र तातो मौसम क्रमिक रूपमा सुधार हुने सङ्केत देखिए पनि पूर्ण रूपमा हट्न भने अझै केही दिन कुर्नुपर्ने भएको छ ।

'आइतबारदेखि मौसममा सुधार देखिन थाले पनि तुवाँलो पूर्ण रूपमा हट्नका लागि बुधबारसम्म प्रतीक्षा गर्नुपर्नेछ,' उनले भनिन्, 'अर्को सातादेखि मात्रै राम्रो वर्षा हुने सम्भावना छ, वन डढेलो र प्रदूषण नियन्त्रणमा सहयोग गर्न सक्छ ।'

विभागका अनुसार आज पनि मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा ‘तातो दिन’को अवस्था कायम रहने सम्भावना रहेको विभागले जनाएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो हावाको लहर’ (लू) चल्ने जोखिमसमेत रहेको छ । मौसमविद्हरूले उच्च तापक्रम र तुवाँलोको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रगति

Link copied successfully