प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा गाजामा उनको मृत्यु भएको थियो ।
काठमाडौँ — इजरायलमा ज्यान गुमाएका विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।
मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख दिने निर्णय भएको बताए ।
२४ वर्षीय जोशी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका थिए । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा गाजामा उनको मृत्यु भएको थियो ।
७ अक्टोबर २०२३ मा हमासले विपिनलाई गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किवुजबाट बन्धक बनाएर लगेको थियो। एक महिनापछि इजरायली सेनाले विपिनको जीवित भिडियो फेला पारेको थियो।
इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले २०८० कात्तिकमा विपिनको शव हस्तान्तरण गरेको थियो ।
परिवारलाई प्राप्त पत्रअनुसार विपिनको टाउकोमा लागेको गोलीले मृत्यु भएको दाबी गरिएको छ। तर, उनले कहिले, कहाँ र कुन अवस्थामा मृत्यु भयो भन्ने स्वतन्त्र पुष्टि अझै भएको छैन। हमासको दाबी अनुसार इजरायली हवाई आक्रमणमा विपिन मरेका हुन् भने इजरायलले विपिनको हत्या हमासले गरेको दाबी गरेको छ ।
